सेयर धितोमा साढे ९१ अर्ब कर्जा प्रवाह
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा बैंक तथा वित्तीय संस्थाले दिने सेयर धितोकर्जा ९१ अर्ब ४४ करोड ३३ लाख रुपैयाँ पुगेको छ ।
एक महिनाको अवधिमा सेयर धितोमा जाने कर्जा १.५ प्रतिशतले बढेको हो । असार महिनामा बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा जाने कर्जा ९० अर्ब ९ करोड ३२ लाख रुपैयाँ प्रवाह गरेका थिए ।
साउन मसान्तसम्म १ करोडभन्दा बढीको सेयर धितो कर्जा असारको तुलनामा ३.९ प्रतिशतले बढेर ५८ अर्ब १० करोड २२ लाख रुपैयाँ पुगेको छ । असार मसान्तमा यस्तो कर्जा ५५ अर्ब ९३ करोड रुपैयाँ रहेको थियो ।
राष्ट्र बैंकका अुनसार ५० लाख देखि १ करोडसम्म जाने कर्जा ०.४ प्रतिशतले बढेर १२ अर्ब ४७ करोड २९ लाख रुपैयाँ पुगेको छ। असार मसान्तमा यस्तै कर्जा १२ अर्ब ४२ करोड ७७ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो ।
केन्द्रीय बैंकका अनुसार २५ लाखदेखि ५० लाखसम्म जाने सेयर धितोकर्जा भने ४.२ प्रतिशतले घटेर १३ अर्ब ८१ करोड ५४ लाख रुपैयाँमा सिमित भएको छ । असार मसान्तमा यस्तो कर्जा १४ अर्ब ४२ करोड ३१ लाख रुपैयाँ पुगेको थियो ।
यस्तै २५ लाख रुपैयाँसम्म जाने धितोकर्जा ३.५ प्रतिशतले घटेर ७ अर्ब ५ करोड २८ लाख रुपैयाँ मात्रै रहेको छ । असार मसान्तसमा यस्तो कर्जा ७ अर्ब ३ करोड १२ लाख रुपैयाँ रहेको थियो ।
राष्ट बैंकले सेयर धितोमा लगाएको कर्जाको सिमा हटाइसकेको छ । तै पनि साउनमा सेयर धितोमा जाने कर्जा भने उल्लेख्य रुपमा बढ्न सकेको छैन ।