गगनलाई रविको जवाफः प्रमाण छ होइन प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम !



राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफू निर्दोष रहेको दाबी गर्दै अब गोरखा मिडियातिर आफूलाई तान्ने प्रयास हुने बताएका छन् ।

मंगलबार काठमाडौंमा पार्टीको राष्ट्रिय भेलाको उद्घाटन गर्दै सभापति लामिछानेले आफू सहकारी ठग नभएको संसदीय छानबिन विशेष समितिले प्रमाणित गरेको तर्क गरे । तर, समितिले तत्कालीन सञ्चालकको नाताले लामिछानेसहितका सञ्चालकहरुले जिम्मेवारी लिनुपर्ने भन्दै कारबाहीको सिफारिस गरेको छ ।

कार्यक्रममा उनले आफूलाई सहकारी ठग भन्न अब नमिल्ने भएपछि गोरखा मिडियातिर ध्यान केन्द्रित हुने बताए ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाप्रति लक्षित गर्दै प्रमाण कस्तो हुन्छ भन्नेकुरा थाहा भयो ? भन्दै उनले प्रश्न गरे । उनले प्रमाण छ भनेको नभइ महामन्त्री थापाले प्रणाम छ भनेको भन्दै आफूले पनि प्रणाम फर्काएको टिप्पणी गरे ।
‘अब सहकारीतिरबाट गोरखा मिडियातिरको कुरा हुन्छ । गोरखा मिडियातिर जान्छ अब । सहकारी त सकियो अब भन्न मिलेन सहकारी ठग भनेर । सहकारी ठग भन्नेकुरा त लगभग सकियो,’ लामिछानेले भने, ‘प्रमाण कस्तो हुन्छ भन्नेकुरा त आफ्नै केन्द्रिय नेताहरु बसेको भएर थाहा भइहाल्यो होला नि । कस्तो हुनुपर्दछ प्रमाण भन्ने त हामीले भन्नु परेन होला नि । म कसैको कटाक्ष गर्न आएको होइन । तर छुस्स त दिनुपर्‍यो नि । मेरा मित्र संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले सामाजिक सञ्जालमा हिजो बडो राम्रोसँग लेख्नुभयो । प्रमाण छ, प्रमाण छ भनेको होइन रहेछ, प्रणाम छ भनेको रहेछ, मेरो पनि प्रणाम छ, उहाँलाई ।’

सभापति लामिछानेले आफूलाई नङ्ग्याउने नाममा सञ्चारमाध्यमहरु ननाङ्गिन आग्रह गरे । रास्वपा नसकिएको भन्दै अरुलाई रास्वपाले सक्काउने चेतावनी समेत उनले दिए ।


क्लिकमान्डु