अमेरिकी राष्ट्रपतिलाई नेपाल भ्रमण गराउन पहल गर्छु: प्रस्तावित राजदूत



काठमाडौं । संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीले आफू राजदूत नियुक्त भएमा नेपालमा अमेरिकी राष्ट्रपतिको भ्रमण गराउन पहल गर्ने बताएका छन् ।

बिहीबार संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो अवधारणा र कार्ययोजना प्रस्तुत गर्दै संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित राजदूत रेग्मीले नेपालमा अमेरिकी राष्ट्रपतिको भ्रमणका लागि पहल गर्ने बताएका हुन् ।

उनले द्विपक्षिय सम्बन्धलाई राम्रो बनाउनका लागि उच्च तहको राजनीतिक भ्रमणको आदान–प्रदान आवश्यक रहेको भन्दै त्यसका निम्ति आफूले काम गर्ने बताए ।

उनले हालसम्म नेपालमा अमेरिकी राष्ट्रपतिको भ्रमण नभएको अवस्थामा भ्रमण गराएर नेपालको संसदमा सम्बोधन गराउन सकिएमा नेपालको छवि, विश्वसनीयता र समृद्धिको ढोका खोल्न योगदान पुग्ने बताए ।

उनले विगतमा भएका प्रतिवद्धताहरु नवीकरणका लागि र द्विपक्षीय हितका नयाँ विषयहरु अगाडी बढाउन पनि भ्रमणको महत्व रहेको उल्लेख गरे ।

रेग्मीले आफूले आर्थिक कुटनीतिमा पनि ध्यान पुर्‍याउने बताए ।

उनले अमेरिकी अर्थतन्त्रलाई नेपालको हितमा अधिकतम प्रयोग गर्नका लागि आफूलाई केन्द्रित गर्ने बताए । दुई देशबीच संसदीय तहमा पनि भ्रमण–आदान प्रदान गराउन पहल गर्ने उनको भनाइ छ ।

उनले अमेरिकास्थित नेपाली राजदूताबासलाई ‘स्मार्ट राजदूतावास’ बनाउने प्रतिवद्धता व्यक्त गरे ।


क्लिकमान्डु