डिभोर्स गर्छुभन्दा खुकुरी हानेर श्रीमतीको हत्या, यस्तो छ घटना



कास्की । पोखरामा श्रीमतीको हत्या गरेको आरोपमा उनका श्रीमान पक्राउ परे ।

अन्नपूर्ण गाउँपालिका–१ नौडाँडा घर भइ हाल पोखरा–८ कुँवरटोल बस्दै आएकी ४० वर्षीया राधिका कुँवरको हत्या गरेको आरोपमा उनका श्रीमान ४२ वर्षीय जहरसिँह कुँवरलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वसन्त शर्माका अनुसार सामान्य विवादका क्रममा जहरसिँहले राधिकामाथि खुकुरी प्रहार गरेका थिए । उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिए पनि उनलाई बचाउन नसकिएको प्रहरीले जनाएको छ ।

छिमेकीले घटनाबारे जानकारी गराएपछि वडा प्रहरी कार्यालय बैदामको टोलीले राधिकालाई उपचारका लागि अस्पताल लगेको थियो । जहरसिँह खुकुरीसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

सम्बन्ध विच्छेदको मुद्दालाई लिएर महिलाको हत्या भएको प्रहरीले जनाएको छ ।

राधिका र उनका श्रीमान जहरसिँहबीच जिल्ला अदालत कास्कीका सम्बन्ध विच्छेदको प्रक्रिया पनि अगाडि बढिरहेको थियो ।

राधिकाले यसअघि पनि मौखिक रूपमा जहरसिंहविरुद्ध तीनपटकसम्म जिल्ला प्रहरी कार्यालयमा मौखिक उजुरी दिएकी थिइन्।

हत्याको दिन पनि राधिका जिल्ला प्रहरी कार्यालय कास्कीमा पुगेकी थिइन् । श्रीमान्‌सँग बस्न सक्दिनँ, मेरो सरसामान श्रीमान्‌ले दिए म अन्तै गएर बस्छु भन्दै उनी प्रहरीमा पुगेकी थिइन् ।

प्रहरीले थप अनुसन्धान गर्दा उनीहरुको डिभोर्सको मुद्दा जिल्ला अदालतमा विचाराधीन रहेको पाएको जनाएको छ । अन्य मुद्दा नहाल्ने र सम्बन्ध विच्छेदकै प्रक्रिया अगाडि बढाउने राधिकाकै चाहनाले कारबाही प्रक्रिया अगाडि नबढाइएको प्रहरीले जनाएक छ ।

प्रहरीले जहरसिंहविरुद्ध घरेलु हिंसाको मुद्दा दर्ता गर्न सुझाव दिँदा राधिकाले भने सम्बन्ध विच्छेद गर्छु, मुद्दा हाल्दिनँ भन्दै नमानेको प्रहरीको भनाइ छ ।

तर, जहरसिंहले अदालतको आदेश नआउँदासम्म सँगै बस्ने भन्दै राधिकालाई छाड्न मानेका थिएनन् । राधिका व्यवसाय गर्दै आएकी थिइन् भने विदेशाटछ आएपछि उनका श्रीमान करिब १ वर्षदेखि बेरोजगार थिए ।

जहरसिंह भने लामो समय कतारमा बसेर आएका थिए भने पछिल्लो समय डिप्रेसनको औषधिसमेत सेवन गरिरहेको पाइएको प्रहरीले जनाएको छ ।

जहरसिंह यतिवेला प्रहरी नियन्त्रणमा छन् भने राधिकाको शव पश्चिमाञ्चल क्षत्रीय अस्पताल पोखरामा राखिएको कास्की प्रहरीले जानकारी दिएको छ । उनीहरुका एक नाबालक छोरा छन् ।


क्लिकमान्डु