संसद्‌मा सत्तारूढ दलले मागे उपसभामुखको राजीनामा, रास्वपाको आपत्ति



काठमाडौं । प्रतिनिधि सभामा उपसभामुख इन्दिरा रानाको राजीनामा माग भएको छ ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूले उपसभामुखको राजीनामा माग गरेका हुन् ।

एमाले सांसद सरस्वती सुब्बाले उपसभामुखमाथि प्रश्न उठेकाले छानबिनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरिन् । ‘छानबिनका लागि मार्ग प्रशस्त गर्न उपसभामुखलाई अनुरोध गर्दुछ,’ उनले भनिन् ।

सांसद शोभा ज्ञवालीले उपसभामुख रानाले अमेरिकी दूतावासलाई लेखेको पत्रले मानव तस्करीको काम भएको आरोप लगाउँदै पदमा बस्न नमिल्ने बताइन् ।

‘उहाँले गरेको काम मानव तस्करी होइन र ? अन्य व्यक्तिका कुरा जोडसँग उठाउनुहुन्छ ,’ उनले भनिन्, ‘आफ्ना व्यक्तिको उठाउँदा आक्रोशित हुनुहुन्छ ।’

सांसद सहराज अहमद फारुकीले नैतिकताको आधारमा मार्ग प्रशस्त गर्न उपसभामुखलाई आग्रह गरे ।

उपसभामुख रानाले सन् २०२३ फ्रेब्रुअरी २६ मा अमेरिकाको न्यूयोर्कमा आयोजना भएको ‘एनजीओ सीएसडब्लू ६७’ कार्यक्रममा सहभागी हुन भिसाको अन्तर्वाताको मिति मिलाइदिन अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन् ।

सोही प्रकरणमा सत्तारूढ दलले उपसभामुख महाभियोगको तयारी गरेको चर्चा भइरहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने उपसभामुख इन्दिरा रानाविरुद्ध ‘महाभियोग लगाउने सत्तारूढ दलको तयारी’प्रति आपत्ति जनाएको छ। रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सत्तारूढ दलहरूले सल्लाह गरेर लोकतन्त्र मार्न लागेको आरोप लगाए ।

‘यो राज्य पनि अब लोकतन्त्रमाथि आक्रमण गर्दै छ । माननीय उपसभामुखविरुद्ध महाभियोग लगाउने जस्तो कुरा राजनीतिक पार्टी बसेर सल्लाह गर्ने कुरा लोकतन्त्रका लागि कहिले पनि मान्य हुने छैन,’ उनले भने ।


क्लिकमान्डु