प्रधानमन्त्री र गृहमन्त्रीको पार्टीका विद्यार्थी संगठनका कारण विद्यार्थीले जाँच दिन पाएनन्



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले विश्वविद्यालयहरु दलका पार्टी प्यालेसजस्तो भएको बताएकी छन् ।

प्रतिनिधिसभा बैठक सोमबार उनले कृषि तथा वनविज्ञान विश्वविद्यालयको परीक्षा हुन नसकेको र त्यसको कारण एमाले र कांग्रेसका विद्यार्थी संगठन रहेको उनले आरोप लगाइन् । ति विश्विद्यालयको परीक्षा ११ दिन बित्दा पनि नभएको भन्दै उनले यस्तो टिप्पणी गरेकी हुन् ।

परीक्षा नहुँदा कृषि, वन र भेटेनरीमा स्नातक तहका ११ सय विद्यार्थी रोकिन पुगेको उनले उल्लेख गरिन् । दलका भातृसंगठनको अवरोधका कारण परीक्षा रोकिनु आपत्तिजनक रहेको उनले बताइन् ।

‘विश्वविद्याय पठनपाठनको क्षेत्र कम र पार्टीहरूको पार्टी प्यालेस बढी हुन थालेको छ,’ उनले भनिन्, ‘एउटा प्रधानमन्त्रीको, अर्को गृहमन्त्रीको पार्टी । पार्टीको लडाइँमा पढ्छु भन्ने विद्यार्थीले जाँच पनि दिन नपाउने ।’

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह रोकिएको विषयमा उनले प्रधानमन्त्री एवं कुलपतिको कार्यक्षमतामाथि प्रश्न पनि गरिन् ।

‘अन्तिम समयमा आएर कार्यव्यस्तता देखाउने, कार्यव्यस्तता मिलाउन नसक्ने कस्तो हो ? कुलपतिको कार्यक्षमतामाथि पटक–पटक प्रश्न उठ्न थाल्यो,’ उनले भनिन् ।


क्लिकमान्डु