सहकारी बैंक धराशायी बनाउन सञ्चालक नै लागे, २० ठूला ऋणीले तिरेनन् ५ अर्ब बढी

३० सहकारीलाई ९२ पटकमा ७ अर्ब ३८ करोड ऋण



काठमाडौं । सहकारी क्षेत्रको एक मात्रै सहकारी बैंक ‘राष्ट्रिय सहकारी बैंक’ डुबाउन सहकारी बैंकका सञ्चालक र केही ठूला सहकारी उद्दत देखिएका छन् ।

सहकारी बैंकले ३० वटा संस्थालाई ९२ पटक ७ अर्ब ३८ करोड ३९ लाख ९९ हजार २८ रुपैयाँ कर्जा दिएको छ । ३० वटा संस्थालाई दिएको कर्जा मध्ये ७ वटा सहकारीले ऋणको साँवा ब्याज आंशिक रुपमा नियमित रहेको छ भने बाँकी १३ वटा सहकारीले बैंकको साँवा ब्याज नियमित रुपमा तिरेका छैनन् ।

२० वटा संस्थाबाट नियमित हुन नसकेको र आशिंक नियमित भएको कर्जा ५ अर्ब १ करोड ३७ लाख ६९ हजार ४४१ रुपैयाँ रहेको छ ।

बैंकबाट कर्जा लिने र समयमा नतिर्ने, संस्थालाई डुबाउनतर्फ उद्दत हुनेमा सहकारी बैंकका वर्तमान र पूर्वसञ्चालक समेत रहेका छन् ।

सहकारी बैंकमा अध्यक्ष, सञ्चालक बन्ने, बैंकबाट कर्जा लिने र समयमा नतिर्ने प्रवृत्ति मौलाएको नेपाल राष्ट्र बैंक र सहकारी विभागले गत फागुनमा गरेको संयुक्त अनुगमन प्रतिवेदनमा उल्लेख गरिएको छ । सहकारी विभागले गत फागुन १३ गतेदेखि राष्ट्र बैंकको सहयोगमा ३ वटा समूह बनाएर बैंक, नेपाल बचत तथा ऋण केन्द्रीय संघ(नेफ्स्कुन)सहित ९ वटा संस्थाको अनुगमन गरेको थियो।

सहकारी ठगी प्रकरणमा हाल पूर्पक्षका लागि थुनामा रहेका केबी उप्रेती सहकारी बैंकका अध्यक्ष थिए । उनको सहकारी तत्कालीन हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी हो । कुपन्डोलमा रहेको उक्त सहकारीले बैंकबाट तीन पटकमा २८ करोड ३८ लाख ९५ हजार रुपैयाँ कर्जा लिएको छ । त्यो कर्जाको साँवा ब्याज नियमन हुन सकेको छैन ।

यस्तै सहकारी बैंकबाट सितापाइला बहुउद्देश्यीय सहकारीले २६ करोड ७७ लाख ३२ हजार ८२७ रुपैयाँ कर्जा लिएको छ । बैंकको सञ्चालकमा सीतापाइला बहुउद्देश्‍यीय सहकारीका कार्यकारी अध्यक्ष केदार मानन्धर छन् । बैंकबाट तीन पटकमा संस्थाले उक्त कर्जा लिएको हो । यो कर्जा आंसिक मात्रै नियमति रहेको छ ।

सहकारी बैंकका पूर्वसञ्चालक ज्ञान बहादुर तामाङ अध्यक्ष रहेको नेसनल नमोबुद्ध सहकारीले पनि बैंकको ऋण तिरेको छैन । संस्थाले बैंकबाट तीन पटकमा २२ करोड ९४ लाख ५३ हजार ३४१ रुपैयाँ कर्जा लगेको छ । यो कर्जाको स्थिति पनि अनियमित नै रहेको छ । उक्त सहकारीले बैंकबाट लिएको कर्जा नतिरेपछि बैंकले गत जेठ १४ गते कर्जा तिर्नका लागि ३५ दिने सूचना समेत जारी गरेको थियो । एमाले नेतासमेत रहेका तामाङ बागमती प्रदेश सभा सदस्य हुन् ।

बैंकले तत्कालीन समयमा सहकारीको नाममा लिएको ऋण बैंकलाई ३५ दिनमा भुक्तानी नगरेको खण्डमा कर्जा लिने निर्णय गर्ने पूर्वसञ्चालक र वर्तमान सञ्चालकको धितो लिलाम गरेर असुल गर्ने भन्दै सूचना निकालेको थियो ।

सहकारी बैंकको गोंगबु शाखाबाट नेसनल नमोबुद्ध सहकारीले लिएको कर्जाको साँवा, ब्याज र हर्जना रकम बुझाएको छैन । सहकारीले समयमा नै कर्जा नतिरेको खण्डमा पूर्वसञ्चालक र अहिलेको सञ्चालकसहित १० जनाको जायजेथा लिलाम गरेर असुल उपर गर्ने भएको छ ।

बैंकबाट कर्जा लिने निर्णय गर्नेमा सहकारीका पूर्वअध्यक्ष ज्ञानबहादुर तामाङ, पूर्वसञ्चालक बुद्धि बहादुर तामाङ, पूर्वसञ्चालक हरिशरण पन्त लगायत अहिलेको सञ्चालक समिति रहेको थियो ।

पूर्वअध्यक्ष ज्ञानबहादुर तामाङ काठमाडौं जिल्ला सहकारी संघका निवर्तमान अध्यक्ष, सहकारी बैंकका पूर्वसञ्चालक समेत हुन् । उनको सहकारीमा बैंकबाट गएको कर्जा पनि नियमत हुन सकेको छैन ।

बचतकर्ताको बचतलाई संकलन गरेर अध्यक्ष, सञ्चालकको निजी ३६ वटा कम्पनीमा लगानी गरेको दर्शन बचत तथा ऋण सहकारीले बैंकबाट ५ पटकमा २३ करोड २१ लाख २ हजार ५०१ रुपैयाँ कर्जा लिएको छ । जुन कर्जा अहिले नियमत छैन । उक्त सहकारीका अध्यक्षमा दिनेश दर्शनधारी रहेका छन् ।

सहकारी बैंकबाट क्यापिटल सहकारीले २ पटकमा ३७ करोड ५८ लाख ७४ हजार रुपैयाँ कर्जा लिएको थियो । त्यो कर्जा अहिलेसम्म नियमित हुन सकेको छैन ।

काठमाडौंको क्षेत्रपाटीमा रहेको मिलन बहुउद्देश्यीय सहकारीले बैंकबाट १ पटक ३५ करोड, ललितपुर जिल्लाको हरिसिद्धिमा रहेको श्रृजना सहकारीले बैंकबाट ५ पटकमा ३२ करोड ३२ लाख ९ हजार ७१ रुपैयाँ लिएको थियो । जसको साँवा ब्याज सहकारीले बैंकमा नियमति तिरेको छैन ।

हेटौंडाको शान्तिटोलमा रहेको दिव्यतारा बहुउद्देश्यीय सहकारीले बैंकबाट २९ करोड ६ लाख ४२ हजार ८०३ रुपैयाँ लिएको थियो । जुन नियमित रुपमा तिरेको छैन । बैंकबाट संस्थाले लगेको कर्जा आंशिक मात्रै नियमति छ ।

काठमाडौंको सुकेधारामा रहेको आईडियल यमुना बहुउद्देश्यीय सहकारीले बैंकबाट २ पटकमा लिएको २९ करोड २ लाख ४६ हजार ७९१ रुपैयाँ कर्जा पनि अनियमित रहेको छ । संस्थाले बैंकको कर्जा तिरेको छैन ।

तत्कालीन आईडियल यमुना बहुउद्देश्यीय सहकारीका अध्यक्ष कुयाङ छुयाङ दोर्जे लामा लगायत सञ्चालक सहकारी ठगी प्रकरणमा प्रहरीको फरारको सूचीमा रहेका छन् । उक्त सहकारीले ८६० बचतकर्ताको ४० करोड १३ लाख ८१ हजार ३८८ रुपैयाँ ठगेको छ ।

काठमाडौंको न्यूरोडमा रहेको लालिगुराँस सहकारीले २ पटक गरेर बैंकबाट लिएको २८ करोड ४ लाख ८७ हजार ४२१ रुपैयाँ कर्जा आंशिक मात्रै नियमित छ ।

बैंकबाट नागरिक कल्याण बहुउद्देश्यीय सहकारीले ७ पटकमा २६ करोड ४२ लाख ५९ हजार ९१२ रुपैयाँ कर्जा लिएको अनुगमन प्रतिवेदनमा उल्लेख छ । यो कर्जा पनि आंशिक मात्रै नियमित छ ।

सहकारी पीडितहरुको प्रदर्शन

यस्तै नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष हस्त रावत लगायत संस्थाका सञ्चालक पनि प्रहरीको फरारको सूचीमा छन् ।

नागरिक कल्याणले ११० बचतकर्ताको ३१ करोड ५६ लाख ३८ हजार ५२१ रुपैयाँ ठगेको छ ।

पोखराको गौरापाटनमा रहेको प्राइम बहुउद्देश्यीय सहकारीले बैंकबाट २ पटकमा २५ करोड ६३ लाख २२ हजार ५४ रुपैयाँ कर्जा लिएको छ । जसको नियमित रुपमा साँवा ब्याज भुक्तान भएको छैन ।

ललितपुरको चापागाँउमा रहेको प्राकृतिक सहकारीले बैंकबाट ५ पटकमा २२ करोड २० लाख ४० हजार ५४६ रुपैयाँ कर्जा लिएको थियो । त्यो कर्जा आंशिक मात्रै नियमित रहेको छ ।

झापामा रहेको पूर्वनेपाल बहुउद्देश्यीय सहकारीले बैंकबाट २ पटकमा २१ करोड ७१ लाख ९५ हजार १२९ रुपैयाँ कर्जा लिएको छ । यो पनि बैंकमा नियमित हुन सकेको छैन ।

यस्तै काठमाडौंको मिनभवनमा रहेको कान्तिपुर सहकारीले ३ पटकमा २१ करोड ७० लाख ६५ हजार ८४५ रुपैयाँ कर्जा लिएको छ । त्यो कर्जा पनि आंशिक मात्रै नियमित छ ।

काठमाडौंमा रहेको जेष्ट सहकारीले ४ पटकमा १९ करोड २४ लाख ४१ हजार ४८१ रुपैयाँ कर्जा लिएको थियो । त्यो कर्जा नियमित छैन ।

नेपालगञ्जमा रहेको नमस्ते सहकारीले १८ करोड ७९ लाख १५ हजार ९८९ रुपैयाँ कर्जा लिएको छ । त्यो कर्जा पनि नियमित रुपमा तिरिएको छैन ।

काठमाडौंको रविभवनमा रहेको सिभिल सहकारीले २ पटकमा बैंकबाट १८ करोड ३९ लाख ५४ हजार ७३६ रुपैयाँ कर्जा लिएकोमा नियमित हुन सकेको छैन । सहकारीका पूर्वअध्यक्ष इच्छाराज तामाङ र अहिलेका अध्यक्ष केशव श्रेष्ठ सहकारी ठगी प्रकरणमा डिल्लिबजार कारागारमा छन् ।

बनेपामा रहेको इमेज सहकारीले बैंकबाट २ पटक लिएको १७ करोड ५७ लाख ६९ हजार ४५६ रुपैयाँ कर्जाको साँवा ब्याज नियमित तिरेको छैन । ललितपुरको सानेपामा रहेको रेडियण्टल बहुउद्देश्यीय सहकारीले ५ पटक गरेर बैंकबाट लिएको १७ करोड ३१ लाख ६० हजार ५३६ रुपैयाँ कर्जाको साँवा ब्याज आंशिक मात्रै नियमित छ ।

सहकारी बैंकले व्यक्तिलाई कर्जा दिँदैन । बैंकले संस्थालाई मात्र कर्जा प्रवाह गर्ने गरेको छ ।

बैंकबाट कर्जा लिने सहकारीका केही सञ्चालक अहिले सहकारी ठगी प्रकरणमा फरार रहेका छन् । प्रहरीले पक्राउ पूर्जी समेत जारी गरिसकेको छ ।

विभाग र राष्ट्र बैंकले अनुगमनका क्रममा सहकारी बैंकका १ हजार ६१४ ऋणी संस्थामध्ये कूल ऋण रकमको २५.४६ प्रतिशत ऋण ३० वटा(१.८६ प्रतिशत ऋणी संस्था) संस्थामा केन्द्रित रहेको देखाएको छ ।

३० वटा ठूला सहकारीमध्ये कतिपय ऋणी संस्थालाई एकै अवधिमा ८ पटकसम्म ऋण लगानी गरेको देखिएको छ । मेघाड्रिम बहुउद्देश्यीय सहकारी संस्थालाई ८ पटक र दिव्यतारा बहुउद्देश्यीय सहकारी एवं नागरिक कल्याण बहुउद्देश्यीय सहकारीलाई ७ पटक कर्जा दिएको पाइएको छ ।

बैंकका ३० ठूला ऋणी संस्थामध्ये केहिलाई चालु पूँजी कर्जा शीर्षकमा प्रवाह भएको पुरानो ऋण चुक्ता नहुँदै सोही शीर्षकमा विभिन्न पटक ऋण लगानी गरेको देखिएको छ । हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीलाई ३ पटक, प्रतिभा बहुउद्देश्यीय सहकारीलाई २ पटक, जेष्ट साकोसलाई ३ पटक, रेडियण्ट बहुउद्देश्यीय सहकारीलाई २ पटक रहेको छ । यसले बैंकको श्रोत सिमित ऋणीमा केन्द्रित रहेको देखिएको छ ।

बैंकले ऋण लगानी गरेका मध्ये कान्तिपुर बचत तथा ऋण सहकारी, शिवशिखर बहुउद्देश्यीय सहकारीलाई ६ करोड ४३ लाख ४ हजार २४४ रुपैयाँ, तुलसी सहकारीलाई ९ करोड ५ लाख रुपैयाँ कर्जा दिएको थियो । यी दुवै संस्थालाई सरकारले समस्याग्रस्त घोषणा गरिसकेको छ ।

संस्थाले कर्जा लिने र समयमा कर्जाको साँवा ब्याज नतिर्दा बैंकको खराब कर्जा बढ्दै गएको छ ।
गत आवको असार मसान्तसम्म सहकारी बैंक नोक्सानमा छ । गत आर्थिक वर्षको असार मसान्तसम्म बैंक १ अर्ब ७५ करोड ४२ लाख २७ हजार ७१५ रुपैयाँ नोक्सानमा छ । अघिल्लो आवको सोही अवधिमा बैंक २० करोड ४३ लाख ७४ हजार ९०७ रुपैयाँ नाफामा थियो ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी घटेको छ । अघिल्लो आवको असार मसान्तसम्म १ अर्ब ६१ करोड ३६ लाख ८७ हजार ७५१ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले गत आवको असार मसान्तसम्म १ अर्ब ६ करोड ७४ लाख ५७ हजार ७३३ रुपैयाँमा सीमित भएको छ ।

असार मसान्तसम्म बैंकले ब्याज आम्दानी बढाएको भए पनि ब्याज खर्च बढ्दा खुद् ब्याज आम्दानी घटेको छ । खु्द् ब्याज आम्दानी घटेको बैंकको सञ्चालन नाफा नोक्सानमा जाँदा बैंक नोक्सानमा गएको हो ।

असार मसान्तसम्म बैंकको सञ्चालन नाफा २ अर्ब २० करोड ४० लाख ५३२ रुपैयाँ नोक्सानमा छ।

बैंकको खराब कर्जा ७.९५ प्रतिशतबाट बढेर २१.९१ प्रतिशत पुगेको छ । यो अवधिमा बैंकको खराब कर्जा १७५.५९ प्रतिशतले बढेको छ ।

बैंकको सेयर पुँजी असार मसान्तसम्म २ अर्ब ७८ ९२ लाख ६० हजार ४०० रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा २ अर्ब ८० करोड ८० लाख ३९ हजार ७०० रुपैयाँ रहेको थियो । बैंकको जगेडा कोषमा ३ अर्ब ६ करोड १५ लाख ३ हजार रुपैयाँ रहेको छ ।


क्लिकमान्डु