चिनियाँ ईभीको बाढी आइरहेका बेला भारतीय अटो व्यवसायी किन भए सक्रिय ?



काठमाडौं । नेपालमा चिनियाँ विद्युतीय सवारीसाधनको प्रयोग बढिरहेका बेला भारतीय अटो व्यवसायीहरुले उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेललाई भेटेका छन् ।

नाडाका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छा नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले उपप्रधान तथा अर्थमन्त्री पौडेलसंग भेटगरी अटोमोवाइल क्षेत्रका विभिन्न समस्याहरुका सम्बन्धमा छलफल गरेको छ ।

पछिल्लो समय नेपालमा चिनियाँ विद्युतीय सवारीको उपस्थिति बढेसँगै भारतीय अटो व्यवसायी सक्रिय बनेका हुन् ।

सोसाइटी अफ इण्डियन अटोमोवाइल मेनुफेक्चर्सका सहसभापति यशपाल साँच्चरको नेतृत्वमा काठमाडौं आइपुगेको सोसाइटी अफ इण्डियन अटोमोवाइल मेनुफेक्चर्सका २५ सदसीय प्रतिनिधि मण्डलले उपप्रधान तथा अर्थमन्त्री पौडेलसँग भेटगरी नेपालमा अटोमोवाइल उद्योग तथा व्यवसायको सन्दर्भमा संयुक्त लगानी गर्ने, लगायतका विभिन्न विषयहरुका सम्बन्धमा विशेष छलफल गरेको छ ।

नाडा र सोसाइटी अफ इण्डियन अटोमोवाइल मेनुफेक्चर्सको संयुक्त प्रतिनिधिमण्डलले सोही दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र उद्योग, वाणिज्य तथा आपूतिमन्त्री दामोदर भण्डारीसँग पनि मन्त्रालयमा सोही विषयमा सार्थक छलफल गरेको जनाएको छ ।

प्रतिनिधि मण्डलमा धेरै जसो ठूला अटो उद्योगीहरुको उपस्थिति थियो ।  प्रतिनिधि मण्डलले भेटमा भारत र नेपालको अटो उद्योगमा भइरहेको विकासक्रम र दुई देशबीचको निरन्तर सहयोगको महत्वका बारेमा छलफल गरेको थियो । सियाम र नाडाले अटो उद्योगका लागि भविष्यको पहल, प्रविधि श्रृङ्खला र तालिमका लागि संयुक्त रूपमा सहकार्य गर्न सहमति पनि गरेको थियो ।

सियामले नाडासँग मिलेर नेपाल सरकारलाई अटो क्षेत्रका लागि भिजन योजना विकास गर्न अनुरोध गरेको थियो । जसले सबै सरोकारवालाहरू जस्तै डिलर, उद्योग, कम्पोनेन्ट बिक्रेता, इत्यादिलाई सरकारको दूरदृष्टी अनुरूप आफ्नो व्यवसायको योजना बनाउन सक्षम बनाउने विश्वास लिइएको छ ।

नेपालमा सवारीसाधन दर्ता, संकलन र रिपोर्टिङका लागि बलियो योजनाको विकास गर्ने, सीप अभिवृद्धि र चालक तालिमका लागि संयुक्त कार्यक्रमहरू सिर्जना गर्ने सम्भावनाको खोजी गर्ने जस्ता विषयहरुमा छलफल गरेको थियो ।

नाडा र सियाम दुबैले बंगलादेश र श्रीलंकासँगै सन् २०२४ मा गठन भएको क्यगतजलाई सुदृढ गर्दै भारत र नेपालको अटो क्षेत्रबीचको सम्बन्ध निर्माणमा नजिकबाट काम गर्न सहमत भएका छन् ।

नाडाले यस्तो भेटघाटबाट नेपाल भारतबीचको जनस्तरको सम्बन्ध समेत थप सुदृढ हुने र निकट भविश्य मै केही परिणाम समेत आउने अपेक्षा राखेको छ । उक्त प्रनिधिमण्डलमा नाडाकोतर्फबाट उपाध्यक्षद्वय राजनबाबु श्रेष्ठ तथा निराकार श्रेष्ठ, नाडाका सचिव विक्रम सिंहानिया, नाडाका केन्द्रीय कार्य समिति सदस्य निशान ढकाल, नाडाका एशोसिएशन सचिव सुरेन्द्र प्रधान र तालिम कोओर्डिनेटर आरजु श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।

नेपालमा चिनियाँ ईभीको व्यापकता बढिरहेका बेला भारतीय व्यवसायीको यो भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । नाडा अटो शोमा पनि चिनियाँ गाडीको वर्चश्व देखिएको छ।


क्लिकमान्डु