लेखा समिति सभापतिलाई माओवादी चुनौती: ‘सिधा भन्नुस् न कुलमानलाई कारबाही गर्छु भनेर’



माओवादीका सांसद लेखनाथ दाहाल र अमनलाल मोदी समिति सभापति ऋषिकेश पोखरेललाई चुनौती दिँदै ।

काठमाडौं । डेडिकेटेड ट्रंकलाइनका विषयमासार्वजनिक लेखा समितिको बैठक विवाद भएको छ ।

नेकपा एमालेका सांसदहरू नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई कारबाही गर्नु्पर्ने पक्षमा देखिए पनि कांग्रेस सांसदहरु बिपक्षमा उभिएपछि आइतबार सार्वजनिक लेखा समितिको बैठक होहल्ला भएको हो ।

एमाले सांसदहरुले कुलमानलाई कारबाही गर्न पत्राचार गर्नु पर्छ भनिरहँदा कांग्रेस सांसदहरु मध्यमार्गी धारमा उभिए ।

उनीहरु ट्रंक डेडिकेटेड लाइनका विषयमा भएको विवादका विषयमा समितिले थप स्पष्टता गर्नका लागि कुलमानसँग छलफल गर्नु पर्ने बताइरहेका थिए । कारबाहीका लागि अहिले नै आक्रामक हुन नहुने उनीहरुको भनाइ छ ।

माओवादी सांसदहरुले बक्यौता विवादका विषयमा प्राधिकरण प्रवन्ध निर्देशक कुलमान घिसिङमाथि कारबाही गर्न पत्राचार गर्न नहुने बताइरहेको छ ।

लेखा सभापति ऋषिकेश पोखरेलले बैठकको अन्तिममा ६ बुँदामा निर्देशन दिन खोजेका थिए । उनले २०७६ मा मिनेन्द्र रिजाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयनदेखि महालेखा परीक्षकको २१ औँ प्रतिवेदनले औँल्याएको २१ अर्ब असुल गर्न निर्देशन दिने तयारी गरेका थिए । तर कांग्रेस तयार नहुँदा र माओवादीले प्रतिवाद गर्दा पोखरेलले निर्णय गर्न सकेनन् ।

माओवादी सांसद अमनलाल मोदीले नाम नै लिएर नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङमाथि कारबाही गर्ने भन्नुस् भन्दै सभापति पोखरेललाई चुनौती दिएका थिए । सांसदहरुबीच विवाद भइरहँदा सभापति पोखरेलले लेखा समितिको बैठक स्थगित गरे ।

यस्तो भयो विवाद:

अर्जुननरसिंह केसी: समितिमा परेका उजुरी अख्तियार नपठाउँ पहिले छलफल गरौँ अनि निष्कर्षमा पुगौँ ।
देव तिमसिना: अहिले पैसा मात्र उठाउने निर्णय गरौँ ।

सभापति पोखरेल: त्यसो भए प्राधिकरणको बेइमानी नहेर्ने त ?

अमलाल मोदी: तपाईं सिधा भन्नुस् न कुलमानलाई कारबाही गर्छु भनेर । हामीले पटक पटक अख्तियारमा लेखेर पठाएका छौं । तपाईंले नलेखे पनि कुलमानलाई कारबाही गरौँ भनिरहनु भएको छ । हामी सहमत छैनौं ।

त्यसपछि सांसदहरु आफ्नो आफ्नो धारणा राख्न थाले । सांसदहरु विभाजित भएपछि सभापति पोखरेलले बैठक स्थगित गरे।

लेखा समितिमा यो विवाद जारी रहेको छ। समिति सभापति भने निर्णय गर्ने तयारीमा छन् ।


क्लिकमान्डु