सहकारी ठगी प्रकरणः छानबिन विशेष समितिमा आज बयान दिँदै रवि लामिछाने



काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज बयानका लागि बोलाएको छ ।

पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री समेत रहेका लामिछानेलाई पत्यक्ष, परोक्ष रुपमा सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै समितिले बयानका लागि आज लामिछानेलाई बयानका लागि बोलाएको हो ।

समितिका अनुसार सभापति लामिछाने आज दिउँसो २ बजे बयान दिन समितिको बैठकमा पुग्नेछन् । लामिछाने गोरखा मिडिया नेटवर्कका तत्कालिन प्रबन्ध निर्देशक हुन् ।

यस्तै समितिले गोरखा मिडिया नेटवर्कका तत्कालिन सञ्चालक छविलाल बन्जाडे जोशीलाई पनि आजै सोधपुछका लागि बोलाएको छ । समितिले सुरुमा जोशी र त्यसपछि लामिछानेसँग सोधपुछ गर्न लागेको हो ।

जोशीलाई आज बिहान ११ बजे सोधपुछका लागि बोलाइएको समितिले जनाएको छ । सहकारी ठगी प्रकरणमा गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्र बहादुर (जिबी) राई जोडिएका छन् ।

अध्यक्ष सहकारी प्रकरणमा राई जोडिएपछि प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक जोशीलाई पनि समितिले बोलाएका हो । अध्यक्ष राई हाल फरार रहेका छन् । राई लामिछानेका व्यवसायीक साझेदार हुन् । सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा लामिछाने जोडिएका हुन् ।

लामिछानेले कुनै प्रकृया पूरा नगरी बुटवलमा रहेको उक्त सहकारीबाट २ करोड रुपैयाँ कर्जा लिएको खुलासा भइसकेको छ । लामिछानेले उक्त रकम २०७७ चैत १८ गते लिएका हुन् ।

लामिछानेको नाममा २ करोड रुपैयाँ व्यापार कर्जा स्वीकृत भएको देखिएको छ । जसमा सहकारीले ४ लाख सेवा शुल्क कटाएर १ करोड ९६ लाख रुपैयाँ गोखा मिडिया नेटवर्कको ग्लोबल आईएमई बैंकको खातामा भौचर मार्फत जम्मा गरेको गत वैशाख ३ गते सोमबार जिल्ला अदालत रुपन्देहीमा दायर भएको मुद्दामा उल्लेख छ ।

लामिछानेले आफु आज समितिमा बयान दिन जाने भनेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई जानकारी समेत गराइसकेका छन् । बुधबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकमा सभापति लामिछानेले आज (शुक्रबार) समितिको बैठकमा जाने जानकारी गराएका हुन् ।

समितिले लामिछानेसहित २६ जनासँग सोधपुछ गर्ने योजना बनाएको थियो । त्यसमध्ये अधिकांशसँग सोधपुछ गरिसकेको छ । समितिको कार्यविधिको अनुसूची १ र २ मा भएका २९ वटा संस्थामा लामिछाने पनि संलग्न रहेको पाइएको छ ।

रास्वपाका सभापति लामिछानेका व्यवसायीक साझेदार समेत रहेका राईले सानो पाइला, सहारा, सूर्यदर्शन, स्वर्णलक्ष्मी, हाम्रो नयाँ कृषि, सुप्रिम र समानता सहकारीको बचत दुरुपयोग गरेको पाइएको छ । समितिले राई लगायत २० जनालाई जुन देशमा भए पनि स्वदेश ल्याउन यसअघि नै निर्देशन दिइसकेको छ ।

समितिले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले गोरखा मिडिया नेटवर्क प्रालिका सञ्चालक कुमार रम्तेलसहित चार जनासँग सोधपुछ गरेको छ ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था पोखराका सचिव तथा गोरखा मिडिया नेटवर्क प्रालिका सञ्चालक कुमार रम्तेलसँग कास्की कारागारबाट समितिको बैठकमा ल्याई सोधपुछ गरिएको समितिका सभापति सूर्य थापाले बताए ।

समितिले विभिन्न सहकारीको बचत दुरुपयोगमा संलग्न व्यक्तिहरूमध्ये सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था, पोखराका पूर्वसञ्चालक शिवकुमार गुरूङ ९महेन्द्र भोटे०लाई कास्की सुधार गृहबाट ल्याएर सोधपुछ गरेको हो ।

यस्तै समितिले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था, पोखराका पूर्वसञ्चालक तथा सफ्टवेयर डेभलपर भविश्वर अर्याललाई पनि कारागारबाट ल्याएर सोधपुछ गरेको छ ।

समितिले साउन ३० गते स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका पूर्वअध्यक्ष कल्पनाकुमारी श्रेष्ठसँग पनि सोधपुछ गरिएको सभापति थापाले बताए ।

समितिले रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्यसँग सोधपुछ गरिसकेको छ । सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनमा मुछिएका गोरखा मिडिया नेटवर्क प्रालिका क्रियटिभ डाइरेक्टर तथा नोबडी प्रडक्सन प्रालिका संचालक आचार्यसँग समितिले आइतबार सोधपुछ गरेको छ ।

सहकारीबाट २०७८ पुस १२ गते विपिन कुमार आचार्यको नाममा १ करोड ५६ लाख १५ हजार ऋण स्वीकृत भएको थियो । उनले उक्त रकम गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा जम्मा गरेको जिल्ला अदालत रुपन्देहीमा वैशाख ३ गते दायर भएको अभियोगपत्रमा उल्लेख छ ।

अभियोग पत्रमा उल्लेख भए अनुसार २०७७ कात्तिक ६ विपिन कुमार आचार्यको नोबडी प्रोडक्सन कम्पनीको नाममा रहेको एनआईसी एशिया बैंकको खातामा ७५ लाख रुपैयाँ जम्मा गरेको देखिएको थियो ।

समितिले आज बिहीबार तत्कालीन हर्बो इन्टरनेशनल प्रबन्ध निर्देशक एवं हाम्रो ग्रुप अफ कम्पनीका संस्थापक अध्यक्ष पुष्पराज पौडेल पुरूषलाई समितिको बैठकमा बोलाएर सोधपुछ गरेको छ ।


क्लिकमान्डु