३० भन्दा धेरै हाइड्रोको आईपीओ रोकियो: इप्पान अध्यक्ष



काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले १४ महिनामा ३० भन्दा बढी आयोजनाहरुको आईपीओ सेवनमा रोकिएको बताएका छन् ।

बुधबार स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान)ले आयोजना गरेको कार्यक्रममा अध्यक्ष कार्कीले पछिल्लो समय सेयरमार्फत जलविद्युतमा नेपालभित्र लगानी गर्ने वातावरण बनेको बताए ।

‘विगत १४ महिनाभन्दा बढी समयदेखि ३० भन्दा बढी आयोजनाहरु सेवनमा रोकिएको छ,’ कार्कीले भने, ‘जलविद्युत आयोजनामा ३० प्रतिशत लगानी आईपीओबाट संकलन गर्ने योजना बनाएका हुन्छौं । आईपीओबाट पनि आउन सकेन र इकुटी हालेर पनि आयोजनाहरु अगाडि लैजान नसकिएको छैन ।’

अध्यक्ष कार्कीले १ हजारबाट अहिले ५ हजार लगानी गर्नसक्ने वातावरण बनेको बताए । उनले पुँजी बजारमा करिब ४५ लाख बढी नेपालीहरुले सेयरमा लगानी गरेको बताए। स्थायी सरकार बनेकाले अब केही काम हुने आशा व्यवसायीहरुमा पलाएको कार्कीको भनाइ छ । उनले जलविद्युत क्षेत्रको विकास गर्न व्यवसायीहरु उत्साहित भए पनि पछिल्लो समय धेरै समस्याहरु भइरहेको बताए ।

उनले विद्युत विधेयक जस्ताको त्यस्तै पास भए व्यवसायीहरु पलायन हुनुपर्ने बताए । विधेयकले जलविद्युत विकास गर्ने तर नेपालका निजी क्षेत्रको लगानी निरुत्साहित गर्ने बताए ।

‘जलविद्युतमा नेपालभित्र लगानी गर्ने वातावरण बनाउनु पर्छ भनेका छौं । मुलुकभित्र लगानी गर्ने वातावरण बन्दैछ । करिब ४५ लाख बढी नेपालीहरुले सेयरमा लगानी गरेका छन् । १ हजार लगानी गरेकाले ५ हजार लगानी गर्ने वातावरण बन्दैछ । अब केही काम हुने आशा व्यवसायीहरुमा परेको छ,’ उनले भने, ‘स्थायी सरकार बनेको छ । जलविद्युत क्षेत्रको विकास गर्न व्यवसायीहरु उत्साहित छौं । तर सँगै धेरै समस्याहरु छन् । विद्युत विधेयक जस्ताको तस्तै पास भयो भने व्यवसायीहरुलाई लखेट्छ भन्ने लागेको छ । विधेयक जलविद्युत विकास गर्ने खालको छ तर नेपालका निजी क्षेत्र आउने खालको छैन ।’

उनले गाउँपालिका र प्रदेश सरकारले छुटै कर लिने गरेको भन्दै त्यसलाई हटाउनु पर्ने बताए ।


क्लिकमान्डु