लोडसेडिङ हुँदा खुसी हुनेले मेरो बिरोध गरे: कुलमान



काठमाडौं । विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपालमा लोडसेडिङ हुँदा खुसी हुने जमातले आफ्नो बिरोध गरेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा प्रबन्ध निर्देशक घिसिङले नेपालमा लोडसेडिङ हुँदा खुसी हुने जमात धेरै रहेको तर्क गरेका हुन् ।

प्राधिकरण घाटामा जाँदा र लोडसेडिङ हुँदा खुसी हुने जमातले पछिल्लो समय आफ्नो बिरोध गर्दै गलत सूचना फैलाइरहेको घिसिङको भनाइ छ ।

केही जिम्मेवार पदाधिकारीले प्राधिकरणको हिसाबकिताबप्रति आशंका व्यक्त गरेको बताए ।

महालेखा परीक्षकको तीनवटा संस्थाले अडिट गरेको हिसाब पारदर्शी रहेको भन्दै गलत हुन नसक्ने घिसिङले बताए ।

प्राधिकरण सरकारको ठूलो संस्था भएकाले जिम्मेवारीपूर्वक नै काम गरिरहेको धारणा राखे ।

प्राधिकरणले अहिलेसम्म गरेको नाफा पारदर्शी रहेको भन्दै कुनै मिथ्या तथ्यांकका आधारमा नभएको दाबी गरे । उनले आठ वर्षअघि ३५ अर्ब सञ्चित घाटामा रहेको प्राधिकरण २५ प्रतिशत विद्युत महशुल घटाएर ४७ अर्ब नाफामा पुग्नु सुखद् भएको उल्लेख गरे । २५ अर्बको विद्युत महशुल घटाएर पनि प्रत्येक वर्ष १३ अर्ब नाफामा जानु भनेको प्राधिकरणले आम्दानीमा क्रान्ति गरेको उनले बताए ।

विद्युत महशुल बढाएर नभइ घटाएर नाफामा गएको पनि उनले बताए । उनले सामाजिक दायित्वलाई हेरेर २२ लाख ग्राहकलाई प्राधिकरणले छुट दिएको तर अर्थ मन्त्रालयले त्यसको शोधभर्ना समेत नगरेको बताए ।

घिसिङले यो वर्ष २५ अर्बको विद्युत निर्यात गर्ने अवस्थामा पुगेको भन्दै नेपालले विद्युत आयात भन्दा विद्युत निर्यात बढी गरेको बताए ।

कुलमानले यसो भने

विद्युत प्राधिकरणको फाइनान्सियल स्वस्थ र स्टेटमेण्टहरु फेक हो । गलत हो भनेर जिम्मेवार पदाधिकारीहरुले भन्ने गरेका छन् । जिम्मेवार ठाउँहरुमा भन्ने गरिएको छ ।

नेपाल विद्युत प्राधिकरण सरकारको एउटा ठूलो संस्था हो । महालेखापरीक्षकले खटाएर तीनवटा अडिट संस्थाहरुले फाइनल गरेको हिसाव कसरी फेक हुनसक्छ । नेपाल विद्युत प्राधिकरण नाफामा जानु कसैलाई दुःख लाग्छ ।

विद्युत प्राधिकरण घाटामा जाँदा खुसी लाग्ने र देशमा प्राधिकरणले लोडसेडिङ बढाउँदा खुसी लाग्ने जमात ठूलो छ । त्यो जमातले यस्ता नचाहिने विषयहरुलाई पनि धेरै फैलाएको सुनेको छु । प्राधिकरणको जुन आर्थिक परिसूचकहरु छ । त्यो पारदर्शी छ ।

प्राधिकरणको आगामी दिन राम्रो छ । पछिल्लो ८ वर्षमा २५ प्रतिशत विद्युत महशुल घटाएका छौं । २५ अर्बको विद्युत महशुल घटाएर पनि प्रत्येक वर्ष १३ अर्ब नाफामा जानु भनेको सानो विषय होइन । विद्युत महशुल बढाएर होइन घटाएर नाफामा गएका छौं ।

सामाजिक दायित्वलाई हेरेर २२ लाख ग्राहकलाई प्राधिकरणले छुट पनि दिएको छ । तर त्यो सरकारको अर्थमन्त्रालयले सोधभर्ना गरेको छैन । यो वर्ष २५ अर्बको विद्युत निर्यात गर्ने अवस्थामा पुगेका छौं । नेपालले विद्युत आयात भन्दा विद्युत निर्यात बढी गरेको छ ।


क्लिकमान्डु