आचार्यलाई खाद्य व्यापार कम्पनीमा महाप्रवन्धकको जिम्मा*



काठमाडौं । सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको महाप्रवन्धकमा रमेश आचार्यलाई नियुक्त गरेको छ ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले धादिङका आचार्यलाई महाप्रवन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो । सोही मन्त्रिपरिषद्को बैठकले नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीको रिक्त महाप्रवन्धकमा ईलामका प्रकाशप्रसाद पोखरेललाई नियुक्ति गरेको छ ।

आचार्य यसअघि नेपाल इन्ष्टिच्युट अफ एग्रीकल्चरल साइन्स एण्ड टेक्नोलोजी प्रालिको सञ्चालक समितिका अध्यक्ष थिए ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको महाप्रवन्धकको लागि आचार्यसहित तीन जना प्रतिस्पर्धामा थिए । महाप्रवन्धकका लागि भक्तपुरका गोपिकृष्ण न्योपाने र तनहुँका डिल्लीराम लम्साल पनि प्रतिस्पर्धामा थिए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विभिन्न प्रक्रिया पूरा गरी तीनजनाको नाममा मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव गरेको थियो ।

आचार्य यसअघि नेपाल उद्योग बाणिज्य महासंघमा जुनियर कर्मचारीको रुपमा कार्यरत थिए । आपूर्ति मन्त्री भण्डारीले मन्त्रालयका सहसचिव लक्ष्मीप्रसाद निरौलालाई शीर्ष ३ उम्मेदवारमध्ये तेस्रो नम्बरमा रहेका आचार्यको नाम अघि बढाउन निर्देशन दिएका थिए ।

नेपाल सरकारको खाद्य नीति कार्यान्वयन गर्ने आधिकारिक निकायको रूपमा कम्पनी सञ्चालनमा रहेको छ । महाप्रबन्धकको कार्य अवधि ४ वर्षको हुनेछ ।

*महाप्रवन्धकमा नियुक्त रमेश आचार्यको तस्बिर र विवरण फरक पर्न गएकाले सच्च्याइएको छ । – सम्पादक


क्लिकमान्डु