नयाँ सरकार आज: को बन्छ अर्थमन्त्री ?



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आज बुलेका प्रधामन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।

नयाँ सरकार गठनका लागि तोकेको समयसीमा सकिएपछि प्रधानमन्त्रीको नियुक्ति र सपथको प्रक्रिया अघि बढाउने प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

शुक्रबार बेलुका राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ अनुसार आइतबार बेलुका ५ बजेसम्म सरकार गठनको लागि प्रस्ताव पेस गर्न राजनीतिक दललाई आह्वान गरेका थिए ।

नेपाली कांग्रेस र नेकपा एमालेले राष्ट्रपतिले प्रस्ताव पेस गर्न आह्वान गरेको २ घण्टामै ओलीलाई प्रधानमन्त्री नियुक्तिको दाबी पेस गरेका थिए ।

ओली आजै प्रधानमन्त्रीमा नियुक्त भए पनि सपथ भने सोमबार बिहान ११ बजे हुने तयारी छ ।

ओलीसँगै मन्त्रीहरुले पनि सपथ लिने तयारी दुई दलबीच भइरहेको छ ।

‘राजनीतिक दल बीच कसले कुन मन्त्रालय लिने भन्ने विषय टुंगोमा पुगेको छैन,’ नेपाली कांग्रेसका एक पदाधिकारीले भने, ‘भोलि बिहानसम्म मन्त्रालय टुंगो लगाउँदै दलहरुले मन्त्री छनोट गर्ने तथा प्रधानमन्त्री र सबै मन्त्रीको सपथ एक साथ गर्ने तयारी छ । त्यसैले भोली बिहान सपथ राखिएको हो ।’

कांग्रेस र एमाले बीच बढी भन्दा बढी दललाई सरकारमा सहभागी गराउने समझदारी बनेको छ ।

हालसम्म कांग्रेस र एमाले बाहेक जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी हुने निश्चित भएको स्रोतले जानकारी थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल सरकारमा सहभागी हुने/नहुने एकिन नभएको स्रोतको भनाइ छ ।

कुल दलले कुन मन्त्रालय पाउने अन्तिम टुंगो नलागेकाले अहिलेसम्म मन्त्री बन्नेहरुको अन्तिम नामावली तयार नभएको नेताहरुले बताए ।

स्रोतका अनुसार नेपाली कांग्रेसका तर्फबाट आरजु राणा देउवा परराष्ट्र मन्त्री बन्ने करिब करिब निश्चित जस्तै छ । यस्तै, रमेश लेखक गृहमन्त्री बन्ने विषयमा नेपाली कांग्रेस र एमालेका शीर्ष नेताहरु बीच समझदारी बनेको छ ।

कांग्रेसका सहमहामन्त्री किरोश सिंह राठोरले आफू गृहमन्त्री बन्नु पर्ने माग गर्दै सभापति शेरबहादुर देउवा माथि दवाव बढाउने प्रयास गरिरहेका छन् । कांग्रेस र एमालेको सत्ता गठबन्धन बनाउन रणनीतिक तहमा काम गरेकाले तत्काल लेखको विकल्प खोज्ने सम्भावना भने छैन् ।

यस्तै, कांग्रेसको तर्फबाट सरकारमा जानेहरुको नेतृत्व प्रकाशमान सिहंले गर्ने सम्भावना छ । कांग्रेसको शीर्ष नेतृत्वले सिंहलाई रक्षा मन्त्री बन्न प्रस्ताव गरे पनि उनले भौतिक पूर्वाधार वा शहरी विकास जस्ता मन्त्रालय पाउनु पर्ने अडान राखिरहेका छन् ।

सिंह रक्षा मन्त्री बन्न तयार नभएको अवस्थामा नेपाली कांग्रेसबाट विमलेन्द्र निधि नेतृत्व गर्दै सरकारमा जाने सम्भावना छ ।

यस्तै, कांग्रेसको तर्फबाट अजय चौरसिया, दिपक खड्का, आशा बिक, चन्द्र भण्डारी मन्त्री बन्ने चर्चा छ ।

त्यस्तै एमालेबाट उपाध्यक्ष विष्णुप्रसाद पौडेल उपप्रधानसहित अर्थ मन्त्री बन्ने सम्भावना छ । नेकपा एमालेले अध्यक्ष बाहेकका व्यक्तिले दुई पद पाउन नसक्ने निर्णय गरेकाले पौडेल अर्थ मन्त्री बने उपाध्यक्ष पद छोड्नु पर्ने अवस्था आउन सक्छ ।

एमालेका तर्फबाट पदम गिरीले सञ्चार मन्त्रालयको जिम्मेवारी पाउने सम्भावना छ । यस्तै मधेश प्रदेशबाट जुली महतो पनि मन्त्री बन्ने प्रयासमा छिन् ।

पोखराबाट दोस्रो पटक प्रत्यक्ष निर्वाचन जितेकी विद्या भट्टाराई समेत मन्त्री बन्ने चर्चामा छिन् । एमालेका तर्फबाट पुष्पकमल दाहाल नेतृत्वको सरकारमा रहेका केही मन्त्रीले नयाँ जिम्मेवारी पाउने सम्भावना छ ।

लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल वा शरदसिंह भण्डारी मन्त्री हुने लाइनमा छन् । नागरिक उन्मुक्तिबाट गंगाराम चौधरी, जनता समाजवादी पार्टीबाट प्रदीप यादव र जनमतबाट अब्दुल खान मन्त्री बन्ने सम्भावना छ ।


क्लिकमान्डु