१ अर्ब २८ करोड बक्यौता नतिरेको भन्दै प्राधिकरणले काट्यो जगदम्बा स्टीलको बिजुली



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बिहीबार राति जगदम्बा स्टीलको विद्युतको लाइन काटेको छ ।

डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता नतिरेको भन्दै प्राधिकरणले लाइन काटिदिएको हो । प्राधिकरणका अनुसार यो कम्पनीको १ अर्ब २८ करोड १४ लाख रुपैयाँ बक्यौता छ । यो बक्यौता रहेका ५६ उद्योगमध्येको सबैभन्दा धेरे हो ।

मंगलबार प्राधिकरणले रिलायन्स स्पेनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको लाइन काटेको थियो । प्राधिकरणका अनुसार घोराहीको ४० करोड ६८ लाख रुपैयाँ, रिलायन्स ६० करोड २९ लाख रुपैयाँ र अर्घाखाँचीको ३५ करोड ८८ लाख रुपैयाँ बक्यौता छ । यो रकममा थप २५ प्रतिशत जरिवानसहितको बिल प्राधिकरणले उद्योगीहरुलाई पठाएको थियो ।

बुधबार प्राधिकरणले जगदम्बा सिन्थेटिक र हुलास स्टीलको लाइन काटिदिएको थियो । प्राधिकरणका अनुसार जगदम्बा सिन्थेटिक्सको १६ करोड ४ लाख रुपैयाँ र हुलास स्टीलको ११ करोड २९ लाख रुपैयाँ बक्यौता छ । प्राधिकरणले योसँगै ६वटा उद्योगको लाइन काटेको छ ।

विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतलाई भेटेपछि लाइन काट्न निर्देशन दिएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सन्देश ऊर्जामन्त्री बस्नेतले कुलमानलाई सुनाएपछि प्राधिकरणले लाइन काट्न थालेको हो ।  

प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखको डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता तिर्न पत्र पठाएको थियो । असार ९ गते ६ अर्ब ६० करोड ७८ लाख रुपैयाँको बक्यौता तिर्न १५ दिनको समय दिएर जानकारीसहितको पत्र पठाएको हो । प्राधिकरणले दिएको समय सोमबार सकिएपछि लाइन काट्न थालेको हो । प्राधिकरणले लोड मिलाउन भन्दै विस्तारै उद्योगहरुको लाइन काटिरहेको छ ।

मंगलबार उद्योगीहरुले पत्रकार सम्मेलन आयोजना गरेका थिए । प्राधिकरणले लाइन काट्ने तयारी गरेको जानकारी पाएपछि उनीहरुले पत्रकार सम्मेलन गरेका हुन् ।  उनीहरुले न्यायिक आयोगको सिफारिस कार्यान्वयन नगरेर नेपाल विद्युत प्राधिकरणले तर्साउने र धम्काउने काम गरेको भन्दै आपत्ति जनाए । उनीहरुले सर्वोच्चका पूर्वन्यायधिश गिरीशचन्द्र लालको संयोजकत्वमा बनेको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न माग गरेका छन् ।उद्योगीहरुले प्राधिकरणले पठाएको बिल फर्जी भएको भन्दै तिर्न अस्वीकार गर्दै आएका छन् ।


क्लिकमान्डु