धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया रद्द



काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया खारेज भएको छ । बोर्ड अध्यक्ष सिफारित समितिले प्रक्रिया नै रद्द गरेको हो ।

सर्टलिस्टमा परेका ५ मध्ये २ जनामात्र अन्तर्वार्ता दिन उपस्थित भएपछि अध्यक्ष सिफारिस प्रक्रियाबारे समितिभित्र विवाद भएको थियो ।

समितिमा कुरा नमिलेपछि प्रक्रिया रद्द भएको समितिले जनाएको छ ।

बोर्डको अध्यक्षका लागि आवेदन दिएका ५ जना मध्ये ३ जना अन्तवार्ता तथा प्रस्तुतिका लागि उपस्थित नभएपछि समस्या देखिएको थियो ।

अध्यक्ष नियुक्त गर्न नसकेपछि समितिले महान्यायाधिवक्ताको कार्यालयसँग लिखित सुझाव मागेको थियो । गत बिहीबार अर्थ मन्त्रालयमार्फत महान्याधिवक्ताको कार्यालयलाई पत्र पठाइएकोमा उक्त पत्रको जवाफ कार्यालयले मन्त्रालयमा मंगलबार पठाएको थियो ।

‘धितोपत्र ऐनले मन्त्रिपरिषद्मा ३ जनाको नाम सिफारिस गर्न भनेको छ’ महान्यायाधिवक्ताको कार्यालयले अर्थमन्त्रालयमा पठाएको पत्रमा भनिएको छ,’आवदेन दिएका मध्ये धेरै अंक हुने एक जना थप गर्ने वा समिति नयाँ प्रकृयामा जान सक्छ ।’

अध्यक्ष नियुक्तिका लागि मन्त्रिपरिषदमा सिफारिस गर्न ३ जना चाहिने कानुनी व्यवस्था छ । सन्तोष नारायण श्रेष्ठ र मुक्ति श्रेष्ठले मात्रै अन्तर्वार्ता दिएका थिए । बाँकी ३ जना डा नवराज अधिकारी, चिरन्जीवी चापागाई र कृष्ण कार्कीले अन्तर्वार्ता तथा प्रस्तुति दिएनन् ।

तीन जनाले अन्तर्वार्ता नदिएर अध्यक्ष नियुक्ति गर्न समस्या परेपछि समितिले अर्थमन्त्रालय मार्फत कानुनी राय मागेको थियो ।

महान्यायाधिवक्ताको कार्यालयले दुई जनाको नाम पठाउने नमिल्ने कानुनी व्यवस्था स्मरण गराएको छ । कार्यालयले धेरै अंक ल्याएका एक जनाको नाम थप गर्न वा नयाँ प्रकृयामा जान सकिने भन्दै त्यसमाथि निर्णय गर्ने अधिकार नेपाल धितोपत्र बोर्ड अध्यक्ष छनोट समितिलाई नै दिएको छ ।

समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, अर्थ सचिव र एक जना विज्ञ सदस्य रहेका छन् ।


क्लिकमान्डु