वाइडबडी बनाउन यूरोप लैजाँदा नियामकको असहयोग, व्यक्तिगत इगोले निगमलाई घात गरेको आरोप



काठमाडौं । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्षको एकाउन्टेवल म्यानेजर पद खोस्नेसहित ५ जनालाई जिम्मेवारीको काम गर्न नदिएको विषयमा नियामक निकाय नेपाल नागरिक उड्डयनप्रति वायुसेवा निगम असन्तुष्ट भएको छ ।

वायुसेवा निगमले नियम बमोजिम नै जहाज बनाउन यूरोप लगेको विषयमा नियामकले ब्यक्तिगत इगो लिएर संस्थागत घात गरेको प्राधिकरणको कारबाहीमा परेका निगमका एक उच्च अधिकारीले बताए । उनले क्लिकमान्डुसँग भने, ‘निगमले बिग्रिएको जहाज युरोप लगेर बनाएर ल्याउँछु र छिटो उडाउँछु भन्दा के बिग्रियो त ? ‘

उड्डयन प्राधिकरणले पहिलेदेखि नै निगमलाइ सहयोग नगरेको र कुनै ब्यक्तिको अनुहार मन परेन भनेर वायुसेवा निगम संस्थामाथी घात गरेको प्रतिकृया ति अधिकारीले दिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीबीचकाे स्वार्थको द्वन्द्वको सिकार निगम भएको छ । एकले अर्कोको अस्तित्व नै स्वीकार नगर्दा निगमका ५ कर्मचारीमाथि कारबाही भएको छ । निगमका कर्मचारीले पनि कमिसनकाे लोभमा नियामक निकायलाई नटेरको कारण स्वार्थको द्वन्द्व थप चर्किएको हो ।

निगमले प्रेस विज्ञप्ति जारी गरेरै इटालीको एटीआइ टेक मा जहाज पठाउँदा आवश्यक प्रकृया पूरा गरेको दाबी गरेको छ । निगमका अनुसार युरोपिएन एभिएसन सेफ्टि एजेन्सी­ (इएएसए) को एप्रुभललाई नेपाल नागरिक उड्डयन प्राधिकरणको नियमानुसार भ्यालिडेसनमा पर्ने र सोको लागि आवश्यक प्रक्रिया निगमले अगाडि बढाएको दाबी गरेको छ ।

प्राधिकरणले समयमा नै स्वीकृति नदिएको कारण जहाज रोकेर राख्न नमिल्ने भएकोले आवश्यक प्रकृया पूरा गर्दै जहाज पनि मर्मत गर्दै गर्ने काम अगाडि बढिसकेको दाबी पनि निगमको छ ।

हरेक २ वर्षमा गर्नुपर्ने निगमको ए३३० जहाजको सीचेक (नियमित मर्मत) को लागि निगमले कम्पनी छनोटका कामका लागि १३ फेब्रुअरी २०२४ मा ४५ दिनको समयसीमा तोकेर सूचना प्रकाशित उपयुक्त कम्पनी छनोट हुन नसकेको भन्दै उक्त टेन्डर प्रक्रिया रद्ध गरिएको बताएको छ ।

निगमले पुनः १७ मे, २०२४ मा १५ दिनको समयसीमा तोकी पुनः टेन्डर आह्वान गर्दा उक्त प्रतिस्पर्धामा एटीआइ टेक छानिएको निगमको भनाइ छ ।

निगमले ९एनए एएलवाइको सीचेक मर्मत २५ जून २०२४ भित्र सुरु गर्नुपर्ने र समय निकै कम भएको हुँदा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत गरिएको एयरक्राफ्ट मेन्टेनेन्स प्रोगाममा व्यवस्था भए अनुसार जहाज सीचेकमा पठाएको दाबी गरेको छ । निगमका कर्मचारीले निगमको हितमा अहोरात्र खटेर कार्यसम्पादन गर्दागर्दै प्राधिकरणले ५ जना निमगका जिम्मेवार पदाधिकारीलाइ उड्डयन सम्बन्धी काममा रोक लाग्नु दुखत भएको पनि निगमका ति अधिकारीको भनाइ छ ।


क्लिकमान्डु