नेपालमै उत्पादन सुरु भएको हुन्डाइ भेन्यु कारको मूल्य सार्वजनिक, कति पर्छ ?



काठमाडौं । नेपालका लागि हुन्डाइ मोटर कम्पनीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसनबाट नेपालमै हुन्डाइ भेन्युको व्यावसायिक उत्पादन गरी बिक्री सुरु गरेको छ ।

लक्ष्मी मोटर कर्पोरेसन, नेपालमा लक्ष्मी ग्रुपको लगानी तथा हुन्डाइ मोटर कम्पनीसँगको प्राविधिक सहकार्यमा स्थापना भएको हो । लक्ष्मी मोटर कर्पोरेसनले पहिलो पटक नेपालमा हुन्डाइ भेन्यु मोडल उत्पादन सुरु गरेको हो ।

गत वैशाख २८ गते प्रधानमन्त्री पुष्पकमल दाहालले  नवलपरासीको रामग्राम-६ मा ‘हुन्डाइ मोटर एसेम्बलिङ’ शुभारम्भ गरेका थिए । यससँगै कम्पनीले हुन्डाइ भनेन्युको बिक्री सुरु गरेको जनाएको छ ।

यसको बनावट, गुणस्तर, पर्फमेन्स लगायतका गुणहरु हुन्डाइ मोटर कम्पनी कोरिया वा भारतमा बन्ने सोही मोडलका गाडीहरु सरह हुने कम्पनीले दाबी गरेको छ ।

स्वदेशमै उत्पादन गरी देशको औद्योगिकरण, आयात प्रतिस्थापन, रोजगारी, आन्तरिक राजस्वमा वृद्धि, सीप तथा प्रविधि विकास, सहायक उद्योगको स्थापना, आन्तरिक श्रोत तथा विद्युत खपत, कुल गाह्रस्थ उत्पादनमा योगदानका साथै उपभोक्तालाई सहुलियत मूल्यमा सवारी साधन उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीले जानकारी दिएको छ ।

पहिलो चरणमा हुन्डाइ भेन्युका दुई भेरिएन्ट उत्पादन गर्ने र क्रमशः केही समयभित्र थप अरु भेरिएन्टहरुको उत्पादन पनि बढाउँदै जाने योजना रहेको कम्पनीले जनाएको छ । यसै आर्थिक वर्षभित्र हुन्डाइ ग्रान्ड आई टेन र न्यु हुन्डाइ क्रेटाको उत्पादन पनि सुरु गर्ने तयारी कम्पनीको छ ।

हुन्डाइ भेन्युको नयाँ मूल्यसूची अनुसार ११९७ सीसीको भेन्यु एफएल १.२ एसको मूल्य ४४ लाख ९६ हजार रहेको छ । यस्तै ११९७ सीसीको भेन्यु एफएल १.२ एसएक्सको मूल्य ५३ लाख ५६ हजार रुपैयाँ रहेको हुन्डाइ मोटर कम्पनीले जनाएको छ । यी दुवै पेट्रोल कार हुन् ।


क्लिकमान्डु