आधाले घटाए पनि सुध्रिएन बैंकहरुको निष्क्रिय कर्जाको दर



काठमाडौं । वाणिज्य बैंकहरुको निष्क्रिय कर्जाको दर झन् बढको छ । प्रतिफल दिन नसक्ने कर्जाको अनुपात बढेर कुल कर्जाको तुलनामा करिब ४ प्रतिशत पुगेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुसँग कुल कर्जाको ३.८९ प्रतिशत निष्क्रिय कर्जा छ । अर्थात् चैत मसान्तसम्म प्रवाह भएको कुल कर्जा ४५ खर्ब ३० अर्ब मध्ये १ खर्ब ७५ अर्ब रुपैयाँ निष्क्रिय कर्जा हो ।

यो अनुपात विकास बैंकहरुको भन्दा ०.२६ प्रतिशत बिन्दु बढी हो । चैत मसान्तसम्मको तथ्यांकअनुसार विकास बैंकको निष्क्रिय कर्जाको दर ३.६३ प्रतिशतमात्र छ । पुस मसान्तसम्म वाणिज्य बैंकहरुको निष्क्रिय कर्जाको दर ३.६३ रहेकामा विकास बैंकभन्दा मात्रै ०.०२ प्रतिशत बिन्दुले बढी थियो ।

कुल निष्क्रिय कर्जाको दर बढीरहँदा खुद निष्क्रिय कर्जाको आकार पनि चुलिँदो छ । उनीहरुको चैत मसान्तमा कायम खुद निष्क्रिय कर्जाको सामान्य औसत १.१७ प्रतिशत छ जुन पुस मसान्तको १.०९ भन्दा बढी हो । (नोटः भारित औसत निकाल्दा खुद निष्क्रिय कर्जाको दर फरक हुनेछ । केन्द्रीय बैंकका अनुसार वाणिज्य बैंकहरुको खुद निष्क्रिय कर्जा १.१३ प्रतिशत छ ।)

बासेल ३ अन्तर्गतको डिस्क्लोजरअनुसार पुस मसान्तको तुलनामा १० वटा वाणिज्य बैंकले खुद निष्क्रिय कर्जाको दर सुधार गरेका छन् । अर्थात् उनीहरुको निष्क्रिय कर्जा वृद्धिभन्दा प्रोभिजन वृद्धि बढी छ । तर, एभरेस्टबाहेक अरुको निष्क्रिय कर्जाको वृद्धिभन्दा प्रोभिजन कम छ । फलस्वरुप, ९ वटाको खुद निष्क्रिय कर्जा बढेको छ ।

१० वटाले भने नोक्सानी व्यवस्था अर्थात् प्रोभिजन थपेर खुद निष्क्रिय कर्जाको दर राम्रो बनाएका हुन् ।

प्रकाशित विवरणअनुसार ग्लोबल आईएमई, सिटिजन्स, राष्ट्रिय वाणिज्य, नेपाल बैंक, प्रभु, नेपाल इन्भेस्टमेन्ट मेगा, सिद्धार्थ, हिमालयन, सानिमा र कुमारी बैंकको खुद निष्क्रिय कर्जाको दरमा गत पुस मसान्तको तुलनामा सुधार आएको छ भने एभरेस्टको यथावत छ ।

कुल निष्क्रिय कर्जा र कुल कर्जा अनुपातले कुल निष्क्रिय कर्जाको आकार दिन्छ भने निष्क्रिय कर्जाबाट प्रोभिजन घटाएर बाँकी रहेको अंकले खुद निष्क्रिय कर्जाको विवरण दिन्छ ।

यो सुत्रअनुसार निष्क्रिय कर्जाका लागि १० बैंकहरुले गरेको प्रोभिजन बढेका कारण खुद निष्क्रिय कर्जाको दर घटेको निष्कर्ष निकाल्न सकिन्छ ।

पुसको तुलनामा लक्ष्मी सनराइज, एनआईसी एशिया, माछापुच्छ्रे, नबिल, प्राइम कमर्सियल, एनएमबि, स्ट्यान्डर्ड चार्टर्ड, कृषि विकास र नेपाल एसबीआईको खुद निष्क्रिय कर्जाको दर भने बढेको छ ।

वाणिज्य बैंकहरुको कुल निष्क्रिय कर्जा १ खर्ब ७५ अर्ब रहेकामा उनीहरुले कुल २ खर्ब २ अर्ब रुपैयाँ कर्जा नोक्सानी व्यवस्था गरेका छन् । यो रकम निष्क्रिय कर्जाको अनुपातमा ११५ प्रतिशत हो ।

कसको निष्क्रिय कर्जा कति ? प्रोभिजन कति ?


क्लिकमान्डु