‘सिधा कुरा’का प्रकाशक कँडेललाई बयानमा बोलाउन सर्वोच्चको आदेश, भिडियो र समाचार ‘डिलिट’



काठमाडौं । सर्वोच्च अदालतले सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेललाई बयानका लागि बोलाउने आदेश गरेको छ ।

सर्वोच्च अदालतले स्वतः संज्ञानमा लिएर आइतबार सिधाकुरा डटकमविरुद्ध मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा सोमबार न्यायाधीशहरू नहुकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासमा सुनुवाइ भएको थियो । इजलासले सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेललाई बयानका लागि बोलाउने आदेश गरेको हो ।

सामाजिक सञ्जालबाट शृङ्खलाबद्ध रूपमा अपलोड गरी प्रसारित चारसय बढी भ्रष्टाचारका मुद्दा डिसमिस गराउने सर्वोच्च अदालतका न्यायाधीश सहभागी बैठकको स्ट्रिङ्ग अपरेसनसमेतका शीर्षक राखी प्रसारित सामग्री कपोलकल्पित भ्रामक तथा नियोजित भएको दाबी निवेदनमा गरिएको छ ।

‘सामाग्रीले नेपालको संविधानको धारा १२८ ( ४ ), न्याय प्रशासन ऐन, २०७३ को दफा १७(१) बमोजिम न्याय सम्पादनको कार्यमा अवरोध सिर्जना गरी अदालतको अवहेलना गरेको तथा स्वतन्त्र न्यायपालिकाप्रतिको जनआस्थामा गम्भीर आँच पुर्‍याएकोले सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ५९ (३) बमोजिम प्रस्तुत प्रतिवेदन पेश गरेको छ,’ निवेदनमा भनिएको छ ।

प्रसारित सामाग्री युट्युबलगायतका सामाजिक सञ्जालबाट तत्काल हटाउन तथा सामाग्री तयार गर्ने तथा प्रसारण गर्ने व्यक्तिलाई अदालतमा झिकाई बयान गराई आवश्यक कानुनी कारबाही गर्न माग गरिएको छ ।

जानाजान झूटा सामग्री उत्पादन तथा प्रसारण गरेकाले हदैसम्मको कारबाही गर्न र फौजदारी कसुरमा समेत अनुसन्धान गराउन निवेदनमा माग गरिएको थियो ।

यसैबीच सिधा कुराले यसअघि ‘द डार्क फाइल’को समाचार र भिडियो हटाइएको जनाएको छ । सिधा कुराले ‘द डार्क फाइल’ श्रृंखलाका प्रकाशन र प्रशारण स्थगन भएको समाचार वेबसाइटमा राखेको छ


क्लिकमान्डु