यी ५ क्षेत्रमा कतारका लगानीकर्ताको चासो



काठमाडौं । कतारका राजा शेख तमिम विन हमाद अल थानी नेपालको दुईदिने राजकीय भ्रमण गरी बुधबार फर्किए । मध्यपूर्वबाट नेपालमा भएको अहिलेसम्मको यो उच्च स्तरीय भ्रमण हो ।

समृद्ध मुलुक कतारका राजाको नेपाल भ्रमणका क्रममा विभिन्न ८ विषयमा सम्झौता र समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणमा राजकीय भ्रमणमा आएका कतारी राजा थानीसँग प्रधानमन्त्री पुष्षकमल दाहालले बुधबार एक्लाएक्लै र सामूहिक रुपमा छलफल गरेका थिए ।

छलफलपछि अमिर थानी र प्रधानमन्त्री प्रचण्डको उपस्थितमा विभिन्न ८ सम्झौता र समझदारी भए ।

नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार संयुक्त वाणिज्य परिषद् स्थापना गर्ने सम्झौता त्यसक्रममा भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरका अध्यक्ष शेख खलिफा विन जसिम अल थानीले नेतृत्व गर्ने परिषद स्थापनाका लागि दुवै चेम्बरबीच सम्झौता भएको हो । उक्त सम्झौतामा महासंघ अध्यक्ष ढकाल र कतार चेम्बर अध्यक्ष शेख खलिफा बिन जसिम अल थानीले सम्झौतामा हस्ताक्षर गरे ।

समझौतासँगै तिव्र आर्थिक वृद्धि भैरहेको खाडी मुलुक कतारसँग सम्वादका लागि परिषद् स्थायी संयन्त्र बनेको छ । संयुक्त वाणिज्य परिषद्को उदेश्य कतार र नेपालका निजी क्षेत्रबीच सहकार्य र समझदारी बढाउनु भएको महासंघका अध्यक्ष ढकालले बताए ।

परिषदमार्फत् सहकार्यका लागि थप काम गरिने ढकालले बताए । ‘कतारको तीव्र आर्थिक बिकासबाट फाइदा लिन परिषदले निरन्तर काम गर्नेछ,’ महासंघका अध्यक्ष ढकालले भने ।

यी ५ क्षेत्रमा कतारको चासो

कतारले नेपालका विभिन्न पाँच मुख्य क्षेत्रमा लगानीका लागि चासो राखेको छ ।

महासंघ अध्यक्ष ढकालका अनुसार पानी, नवीकरणीय उर्जा, पर्यटन पूर्वाधार, सूचना प्रविधि र कृषि प्रशोधनका क्षेत्रमा लगानीका लागि कतारको चासो रहेको छ ।

परिषदको स्थापनापछि यी क्षेत्रमा लगानीका लागि बाटो खुलेको उनले बताए । ‘कतार नेपाल व्यापार परिषद् स्थापना गर्ने समझदारी भएसँगै यी क्षेत्रमा लगानीका लागि बाटो खुलेको छ’ अध्यक्ष ढकालले भने,’त्यसका लागि हामी सघाउन र सहजीकरण गर्न तयार छौं ।’

कतारी लगानीकर्ताले नेपालमा ३ हजार मिटर माथिको पर्यटन र हिमाली क्षेत्रको पिउने पानीमा विशेष चासो राखेका छन् ।

कतारसँगको लगानी साझेदारीका विषयमा छलफल भइरहेको र निकट भविष्यमै ‘ब्रेक थ्रु’ हुने ढकालले बताए । ‘कतारसँगको लगानी साझेदारीमा निजी क्षेत्रको निकट भविष्यमै ब्रेक थ्रु हुन्छ,’ अध्यक्ष ढकालले भने ,’व्यवसायिक तहमा कतारका लगानीकर्तासँग छलफल भइरहेको छ ।’

महासंघका अध्यक्ष ढकालको नेतृत्वमा गत मंसिरमा दुबईमा प्रि इन्भेष्टमेन्ट समिटसमेत भएको थियो ।

महासंघका अध्यक्ष ढकाल र कतार चेम्बरका अध्यक्ष शेख खलिफा विन जसिम अल थानीबीच सुमधुर सम्बन्ध रहेको छ । व्यवसायिक रुपमा हुने छलफलमा ढकाल र थानीबीचको व्यक्तिगत सम्बन्धले पनि सकारात्मक प्रभाव पारेको छ ।

ढकालले कतारी निजी क्षेत्रलाई नेपालमा लगानीका लागि सरकारका तर्फबाट गुर्नुपर्ने काममा आफूहरुले सघाउने बताए । त्यसो हुन सके उनीहरु नेपाल आउन सक्ने ढकालको विश्वास छ ।

‘कतारी निजी क्षेत्रलाई नेपालमा लगानीका लागि सरकारका तर्फबाट गर्नुपर्ने काममा यहाँको निजी क्षेत्रले सघाउने छ,’ अध्यक्ष ढकालले भने, ‘यसले गर्दा कतारको निजी क्षेत्र नेपालमा लगानी गर्न आउँछ भन्ने हाम्रो विश्वास छ ।’

लगानीका लागि प्रधानमन्त्रीको आग्रह

कतारी राजासँगको द्विपक्षीय भेटवार्तामा प्रधानमन्त्री दाहालले नेपालमा लगानीको उपयुक्त वातावरण रहेको उल्लेख गर्दै कतारी पक्षलाई लगानीका लागि आग्रह गरेका थिए ।

‘लगानीका लागि सम्भावित क्षेत्र पहिचान गरिएका छन्, पूर्वाधार, यातायात, कृषि, जलविद्युत्, शिक्षा क्षेत्रमा दुई देशबीच सहकार्य हुर्नुपर्छ’, प्रधानमन्त्री दाहालको भनाइ उदृत गर्दै प्रधानमन्त्रीका परराष्ट्र मामिलासम्बन्धी सल्लाहकार डा रुपक सापकोटाले बताए।

लगानीका लागि प्रधानमन्त्रीको आग्रहलाई कतारी राजाले सकारात्मक रुपमा लिएका थिए ।

कतारका अमिरले ऊर्जा, यातायात (हवाई सम्पर्क बिस्तार), कृषिलगायत क्षेत्रमा सहकार्य गर्न कतार सकारात्मक रहेको बताएका थिए । ‘नेपालमा सम्भाव्य लगानीका लागि कतार सकारात्मक छ, सहकार्यका क्षेत्रलाई बिस्तार गरेर जान सकिन्छ’, अमिर थानीको भनाइ उदृत गर्दै सापकोटाले भने ।


क्लिकमान्डु