निकिता उपाध्यक्ष रहेको सहकारीमा महानगरले अनुगमन गर्नुअघि रवि र बालेनबीच भेट



काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहबीच भेटवार्ता भएको छ ।

काठमाडौं महानगरपालिकाको सहकारी विभाग रवि लामिछाने पत्नी निकिता पौडेल पूर्वउपाध्यक्ष रहेको ‘साई स्वागत बचत तथा ऋण सहकारी संस्था’मा अनुगमनमा जानु अघि लामिछानेसँग मेयर शाहको भेटवार्ता भएको हो । महानगरको टोलीले उक्त सहकारीबाट कागजपत्र संकलन गरेको छ ।

उक्त सहकारीबाट पौडेल उपाध्यक्ष रहेको बेला बिनाधितो ५० लाखको कारोबार गरेको तथ्य भेटिएको महानगरको दाबी छ ।

उपाध्यक्ष निकिता जमानी बसेर राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई ८० लाख रुपैयाँ ऋण दिएको पनि फेला परेको स्रोतको दाबी छ । ढाका कुमार मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग मन्त्री बन्न दुई करोड माग गरेको अडियो सार्वजनिक भएपछि कारबाहीमा परेका थिए । उनको सांसद पद गएको थियो भने रास्वपाले उनलाई कारबाही गरेको थियो ।

काठमाडौं महानगर क्षेत्रका सहकारीमा बेथिति बढेको र सर्वसाधारणको बचत संकटमा परेको भन्दै उजुरी परिरहेपछि महानगरले आफ्नो क्षेत्रका सहकारीको अनुगमन थालेको हो । जसको सुरुवात धेरै उजुरी परेको मध्येको ‘साई स्वागत बचत तथा ऋण सहकारी संस्था’ बाट थालिएको महानगरले जनाएको छ ।

बुधबार महानगरको टोली अनुगमनमा जानु अघि गृहमन्त्रालयलमा लामिछाने र शाहबीच भेटवार्ता भएको हो । मेयर शाहको सचिवालयले भने यसलाई सामान्य भेटवार्ता भएको बताएको छ ।

‘केही दिनयता प्रमुखज्यू विभिन्न मन्त्रालयमा पुगिरहनु भएको छ’ मेयर शाहको सचिवालय स्रोतले भन्यो, ‘यसअघि उहाँ सहरी विकासमन्त्री, शिक्षामन्त्रीसँगको भेटमा जानु भएको थियो । बुधबार गृहमन्त्रीसँगको भेटमा पुग्नु भएको हो ।’

काठमाडौंको फोहर व्यवस्थापनका विषयमा बालेनले मन्त्रीहरुसँग छलफल गरिरहेको उनको दाबी छ । तर, यो फोहरको विषय गृहमन्त्रीसँग खास सम्बन्धित नभएको गृह मन्त्रालयका अधिकारी बताउँछन् ।

‘फोहरको समस्या अहिलेको मात्र होइन । सहकारीमा अनुगमन जान लागेको सूचना पाएपछि उहाँले मेयरलाई बोलाएर मेसेज दिन खोज्नु भएको हुन सक्छ’ गृहमन्त्रालय स्रोतले भन्यो ।

लामिछानेको सचिवालयले गृहमन्त्रीले गर्ने भेटघाट लगायतको फोटोहरु सार्वजनिक गर्ने गरेको भए पनि महानगर प्रमुखसँगको भेटवार्ताको तस्बिर भने सार्वजनिक गरेको छैन । यसअघि उनको सचिवालयले धरान उपमहानगरका मेयर हर्क साम्पाङ्सँगको भेटको भने फोटो र भिडियो सचिवालयले सार्वजनिक गरेको थियो ।


क्लिकमान्डु