गृहमन्त्री लामिछाने पत्नी संलग्न सहकारीले अनुगमनमा जाँदा कागजात लुकायो, निकिता छानबिनको दायरामा



काठमाडौं । उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने पत्नी निकिता पौडेल पूर्वउपाध्यक्ष रहेको सहकारी संस्थाले महत्त्वपूर्ण कागजात लुकाएको पाइएको छ ।

बुधबार काठमाडौं महानगरपालिका सहकारी विभागअनुगमनमा जाँदा संस्थाले आवश्यक कागजात लुकाएका ठहर गरेको छ । बुधबार सहकारीमा आवश्यक कागजात नपाएपछि आज पनि अनुगमनमा जाने महानगरको तयारी छ ।

महानगरपालिका एक अधिकारीकाअनुसार निकिता पौडेल पूर्वअपाध्यक्ष रहेको ‘साई स्वागत बचत तथा ऋण सहकारी संस्था’मा अनुगमन गर्न जाँदा कागजात लुकाएको पाइएको हो।

‘हामी बुधबार अनुगमन गर्न संस्थामा पुगेका थियौं’ महानगरका एक कर्मचारीले भने, ‘अनुगमनमा जाँदा केही महत्त्वपूर्ण कागजात नै भेटिएन, भेटिएका केही कागजात हामीले लिएर आएका छौं । आज पनि हामी उक्त संस्थामा अनुगमनमा जान्छौं ।’

बुधबार अनुगमनमा जाँदा संस्थामा भेटिएका कर्मचारीलाई फेला नपरेको कागजात खोजेर राख्न निर्देशन दिएको ति कर्मचारीले बताए ।

‘हामीले कागजात खोज्दा केही मुख्य कागजात नै भेटिएन । धेरै समय खोजियो’ उनले भने ‘नभेटिएका कागजात जसरी पनि खोजेर राख्नु बिहीबार पुन अनुगमनमा आउँछौं भनेका छौं । आज जाँदा नभेटिएको खण्डमा कानुनी सहायता लिनु पर्ने हुनसक्छ।’

कागजात संकलन गरेपछि सहकारीबाट ठगिएका बचतकर्ताले दिएको उजुरीका आधारमा प्रतिवेदन तयार पर्ने महानगरले जनाएको छ ।

प्रतिवेदन तयार पार्दा संस्थाका सञ्चालकलाई बयानका लागि बोलाइने उनले बताए । त्यसमा लामिछाने पत्नी पौडेले पनि पर्ने उनले बताए । ‘कागजात अध्ययनपछि हामी उहाँहरुलाई बयानमा बोलाउँछौं । यसमा संस्थामा रहेका र आवश्यक पर्नेलाई बोलाउने हो त्यसमा निकिता पनि पर्नुहुन्छ,’ उनले भने ।

सहकारीमा समस्या देखिँदै बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि संस्थाकी उपाध्यक्ष समेत रहेकी पौडेलले गत वर्ष राजीनामा दिएकी थिइन् । उक्त सहकारी काठमाडौं महानगरपालिकाभित्र कार्यक्षेत्र भएको संस्था हो । उनले राजीनामा दिएको विषय महानगरपालिकालाई भने जानकारी नगराएको बताइएको छ ।

उपाध्यक्ष रहँदा निकिताले बिनाधितो ५० लाख रुपैयाँ प्रयोग गरेको पाइएको महानगरका कर्मचारीको दाबी छ । संस्थाले ५ करोडको कारोबार गर्ने गरेको पाइएको छ ।

आफ्नो कार्यक्षेत्रमा रहेका सहकारीमा धेरै ठगीको गुनासो बढेपछि काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले अनुगमनलाई तिब्रता दिन मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् ।

सोही अनुसार नै महानगरको सहकारी विभागले पहिलो पटक साई स्वागत बचत तथा ऋण सहकारी संस्थाबाट अनुगमन सुरु गरेको हो ।

बालेनको निर्देशनमा पहिलो चरणमा ४० वटा संस्थाको अनुगमन गर्न लागिएको उनले बताए ।

महानगरको सहकारी विभागका प्रमुखसहित चार जना, नगर प्रहरीका तीन जना र सीए र जिल्ला सहकारी संघ काठमाडौंका प्रतिनिधि सहितको टोली अनुगमनमा गएको हो । हाल काठमाडौं महानगरपालिकाको कार्य क्षेत्रमा १९ सय भन्दा बढी सहकारी संस्था रहेका छन् ।


क्लिकमान्डु