एआईको प्रयोगबारे अवधारणापत्र बनाउँदै सरकार, एक महिनाभित्र ड्राफ्ट तयार



तस्बिर: एआई

काठमाडौं । सरकारले नेपालमा कृत्रिम बौद्धिकता अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग र सम्भावित क्षेत्रबारे अवधारणापत्र तयार पारिरहेको छ ।

प्रविधिको विकाससँगै अन्तर्राष्ट्रिय स्तरमा बढेको एआईको प्रयोग, सहजता, सम्भावना र आवश्यकतासहितका विषयमा सञ्चार मन्त्रालयले अध्ययन गरिरहेको हो । मन्त्रालयले नेपालमा एआईको प्रयोग र सम्भावना बारे अध्ययन गरिरहेकोले आगामी एक महिनाभित्रै अवधारणपत्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

नेपालमा एआईको प्रयोग र सम्भावनाका बारेमा पछिल्लो २ महिनादेखि भइरहेको अध्ययनलाई अबको एक महिनाभित्र अन्तिम रूप दिएर सार्वजनिक गरिने सञ्चार मन्त्रालयका प्राविधिक उपसचिव नारायण तिमिल्सिनाले बताए ।

‘नेपालमा एआईको प्रयोगका विषयमा कुन क्षेत्रका लागि बढी प्रभावकारी हुन्छ, कसरी गर्न सकिन्छ र आवश्यकता कति भन्ने विषयमा मन्त्रालयको एक आन्तरिक समितिले अध्ययन गरिरहेको छ । यो विषयमा मन्त्रालयले नीति, नियम बनाउने र राष्ट्रिय रणनीति बनाएरै जानुपर्ने सहितका विषय समेटेर अवधारणा पत्र सार्वजनिक हुने छ’ उनले भने ।

एआईको प्रयोगले सामाजिक, आर्थिक क्रान्ति कसरी गर्न सकिन्छ भन्नेबारे पनि अध्ययन भइरहेको उनले बताए ।

‘एआईको प्रयोगले सामाजिक र आर्थिक क्रान्ति कसरी गर्न सक्छ ? भन्ने विषयमा केन्द्रित भएर पनि अध्ययन भइरहेको छ । यो विषयलाई विभिन्न सेक्टरवाईज हेरिएको र सम्बन्धित निकायसँग आवश्यक छलफल पनि चलिरहेको छ’ तिमिल्सिनाले भने ।

अन्तर्राष्ट्रिय स्तरमा एआईको प्रयोगबाट भइरहेको प्रगतिसँग जोडेर नेपालले त्यसलाई अबलम्बन गर्नुपर्ने हुन सक्छ । यो विषयमा विद्यमान अवस्थाखदेखि संरचनागत व्यवस्थासम्मलाई अवधारणापत्रले समेट्ने उनको भनाइ छ । सरकारले एउटा खाका तयार पारेपछि सोही अनुसारको नीति ल्याउन पनि सहज हुने बुझाइ तिमिल्सिनाको छ ।

नेपालमा एआईको प्रयोग स्वास्थ्य, शिक्षा, सञ्चार, कृषि, विकास निर्माणसहितमा क्षेत्रमा उपयोगी हुनसक्छ । यसका लागि सम्बन्धित क्षेत्रले देखाएको आवश्यकता र सम्भावनालाई मन्त्रालयले तयार पार्दै गरेको एआई अवधारणपत्रको खाकामा राखिने भएको छ ।

विदेशी मुलुकहरुले राष्ट्रिय रणनीति, नियम र आवश्यक कानुन तर्जुमा गरेर डाटा प्रोटेक्सनसम्मको प्रविधि विकास गरेर एआईको प्रयोग गरिरहेका छन् । नेपालले भने अरु देशले गरेको र हाम्रोमा सम्भावना भएकै विषयलाई दृष्टिगत गरेर कुनै एउटा क्षेत्रबाट सुरुवात गर्यो भने पक्कै प्रभावकारिता देखिन्छ भन्ने प्रारम्भिक बुझाइ सरकारी अधिकारीहरुको छ । यसका लागि नीतिगत व्यवस्था नभइ अगाडि बढ्न नसकिने उनीहरु बताउँछन् ।

एआईको प्रयोग लगायतका विषयमा अब सम्बन्धित क्षेत्र निकायलाई बोलाएर आवश्यक छलफल गर्ने चरणमा पुगेको मन्त्रालयले जनाएको छ । अब एक महिनाभित्रै आफूहरुले गरेको काम सार्वजनिक हुने तिमिल्सिना बताउँछन् ।

एआईले भविष्यमा मानव जीवनलाई सहज बनाउने र उत्पादनमा अभिवृद्धि गरी, स्वास्थ्य सेवामा थप सुधार एवं शिक्षामा थप पहुँच अभिवृद्धि गरी समाजमा अनेकौं सकारात्मक परिवर्तन ल्याउन सक्छ ।

एआईको प्रयोगले मानव जीवन सहज बनाउने भए पनि धेरै क्षेत्रका रोजगारीलाई यसले चुनौति दिइरहेको छ ।

एआईले निकट भविष्यमा धेरै मानिसलाई बेरोजगार बनाउने र अर्थतन्त्रमा समेत असर पार्ने आकलनहरू विश्वव्यापीरुपमा भइरहेका छन् ।

प्रसिद्ध लगानी बैंक गोल्डम्यान स्याक्सले प्रकाशन गरेको एक प्रतिवेदनमा उल्लेख भएअनुसार, एआईले आगामी केही वर्षमा ३० करोड पूर्णकालीन रोजगारीलाई विस्थापित गराइदिन सक्छ ।

विशेषगरी अमेरिका र युरोपमा हाल मानिसबाट भइरहेको काममध्ये एक चौथाइलाई यसले विस्थापित गर्ने सम्भावना छ । अहिले नै त्यहाँका कार्यक्षेत्रमा कुनै न कुनै किसिमको एआई अटोमेशन उपयोग गर्न थालिएको छ र पछि गएर मानिसले गर्ने लगभग एक चौथाइ काम एआईले नै गरिदिन्छ ।


क्लिकमान्डु