यी १० एआई जसको प्रयोगले सजिलो बनाउँछ काम



काठमाडौं । पछिल्ला केही समय यता तपाईंले सामाजिक सञ्जालमा विभिन्न किसिमका चित्रकलाजस्तै तस्बिरहरु देख्नु भएको होला । ठूलो चियाको किट्ली बोकेर दौडिरहेका वृद्धवृद्धादेखि हातमा बडेमानको म:म लिएर आमाबाट भागिरहेको बालक लगायतको तस्बिरहरु देख्नु भयो होला ।

त्यत्ति मात्रै होइन, नेपालका पूर्वप्रधानमन्त्री द्वय केपी शर्मा ओली र शेरबहादुर देउवाले एउटै गित डुयटमा गएका भिडियोहरु पनि तपाईंहरुले हेरिरहनु भएकै होला ।

प्रविधिसँग केही साक्षातकार हुनेहरुका लागि यी कुराहरु कसरी निर्माण भइरहेका छन् भन्ने नौलो कुरा होइन । तर, नयाँ र प्रविधिको क्षेत्रमा भइरहेको विकाससँग अनविज्ञ रहेकाहरुका लागि भने भन्नुपर्छ, पछिल्लो समयमा बढ्दै गएको जेनेरेटिभ एआईको प्रयोगबाट यस्ता तस्बिर, भिडियो तथा आवाजहरुको निर्माण भइरहेको छ । प्रयोगकर्ताले आफूलाई चाहिएको कुरा टेक्स्ट (अक्षर)मार्फत कमान्ड दिएपछि एआईले यस्ता किसिमका सिर्जनाहरु गरिरहेका छन् ।

कम्प्युटिङ र प्रविधिको क्षेत्रमा एआईको प्रयोग दशकौं अघिबाट भए पनि सर्वसाधारणको पहुँच र सुलभ रुपमा चर्चामा आएको भने धेरै समय भएको छैन । एक वर्षअघि च्याटजीपीटीी नामक जेनेरेटिभ एआईको चर्चासँगै एआईले बृहत्तर चर्चा पाएको छ ।
आफूलाई बुझ्न वा जान्न मन लागेको जानकारीबारे प्रश्न सोध्दा त्यसको सरल र मानिसले जस्तै छोटो तथा मिठो जवाफ दिने च्याटजीपीटीको चर्चाले एआईको चर्चालाई पनि बढाएको छ ।

त्यसो भए अहिले उपलब्ध रहेका के र कस्ता एआईहरु छन् त ? जसको प्रयोग जुन सुकै क्षेत्रमा गरेर उपलब्धि तथा आफ्नो उत्पादनशीलतालाई बढाउन सकिन्छ ? यो लेखमा हामीले त्यस्ता केही एआईहरुको बारेमा चर्चा गरेका छौं, जसको प्रयोग गर्न थालियो भने दैनिक रुपमा विकास हुँदै गइरहेको प्रविधिको क्षेत्रमा आफूलाई पनि अपडेटेड राख्न र आफ्नो कामलाई पनि सहजै पूरा गर्न सकिन्छ ।

१. च्याटजीपीटी

अहिले जति एआईको चर्चा भएको छ, यसको एक प्रकारको श्रेय च्याटजीपीटीलाई पनि जान्छ । ओपन एआई नामक कम्पनीले निर्माण गरेको यो एआई च्याटबटले नै अहिलेको अवस्थामा एआईको चर्चा हुनुमा प्रमुख भूमिका खेलेको थियो । गत वर्ष च्याटजीपीटी नि:शुल्क रुपमा सर्वसाधारणका लागि उपलब्ध हुँदा यसको चर्चा एकाएक चुलिएको थियो ।

च्याटजीपीटी एक प्रकारको च्याटबट हो, जसले प्रयोगकर्ताले सोधेको प्रश्नको आधारमा इन्टरनेटमा भएका विभिन्न वेबसाइट तथा डकुमेन्टको आधारमा जानकारीहरु संकलन गरेर सारांशमा प्रश्नको जवाफ दिन्छ । यसले तपाईंका लागि ब्लग लेखिदिन सक्छ, इमेल लेखिदिन सक्छ । गणितको अफ्ठ्यारो प्रश्नदेखि कम्पनीका लागि चाहिने अवश्यक नीतिहरु यसले बनाइदिन सक्छ । धेरै कुराहरुमा अब्बल रहेको च्याटजीपीटी अहिलको अवस्थामा सम्भवतः सबैभन्दा बृहत र परिस्कृत एआईको रुपमा पनि रहेको छ।

च्याटजीपीटीमा आफूलाई आवश्यक परेको काम गराउन त्यहि अनुसारको निर्देशन दिनुपर्ने हुन्छ । उदाहरणका लागि कसैलाई आफूले लेखेको कुराको ब्याकरण (ग्रामर) मिलाउन मन लागेमा त्यहि अनुसारको निर्देशन दिनुपर्ने हुन्छ भने आफूले लेखेको कुरालाई पुनर्लेखन गर्नु परेमा त्यहि अनुसारको निर्देशन दिनुपर्ने हुन्छ । च्याटजीपीटी निर्देशनका आधारमा जवाफ दिने गर्छ ।

प्रायः अवस्थामा सही र सत्य जानकारी दिने यो एआईले कतिपय सीमित मात्रामा मात्रै इन्टरनेटमा अद्यावधिक गरिएका विवरणहरुको बारेमा रहेको प्रश्नमा भने गलत जवाफ पनि दिने गरेको छ । यो एआई निःशुल्क र शुल्क तिरेर चलाउन मिल्ने दुवै किसिमका उपलब्ध रहेको छ ।

२. माइक्रोसफ्ट कोपाइलट

त्यसो त च्याटजीपीटी निर्माण गर्ने कम्पनी ओपनएआईको ४९ प्रतिशत सेयर हिस्सा माइक्रोसफ्टसँगै छ । तर पनि माइक्रोसफ्टले आफ्नै एआईको पनि निर्माण गरेको छ । माइक्रोसफ्टको एआई च्याटबट कोपाइलट अहिले माइक्रोसफ्टकै ब्राउजर बिंगमार्फत प्रयोग गर्न सकिन्छ । यो पनि च्याटजीपीटी जस्तै जेनेरेटिभ एआईको हो, जसको मद्दतले प्रयोगकर्ताले आफूलाई आवश्यक जानकारीहरु सहज र छिटोसँगै सारंशमा पाउन सक्छन् ।

माइक्रोसफ्टले यो एआईलाई आगामी वर्ष माइक्रोसफ्ट अफिसका प्रायः एप्लिकेसनहरुमा ल्याउने घोषणा गरिसकेको छ । कोपाइलटको प्रयोगबाट एक्सेलमा रहेका स्पेडसिटहरुको विश्लेषण गर्ने, पावरपोइन्टमा प्रिजेन्टेसनलाई निर्माण गर्नेजस्ता कामहरु गर्न सकिने कम्पनीले जनाएको छ ।

३. गुगल बार्ड

एआईको क्षेत्रमा यति धेरै विकास भइरहँदा विश्वकै ठूलो प्रविधि सम्बन्धी कम्पनी तथा सबैभन्दा धेरै प्रयोग हुने सर्च इञ्जिन गुगलको मूल कम्पनी पछि पर्ने कुरा भएन । गुगलले पनि आफ्नो एआईका रुपमा बार्डलाई ल्याएको छ । गत मार्चमा यसको प्रारम्भिक सुरुवात भएको थियो भने करिब एक महिनाअघि यसको स्टेबल रिलिज भएको थियो । हाल यो एआई २३८ देशहरुमा र ४६ भाषाहरुमा उपलब्ध रहेको छ ।

जेनेरेटिभ एआई च्याटबटका रुपमा रहेको बार्डले गुगलको बृहत्तर डाटाबेसमा आधारित रहेर प्रयोगकर्ताले गर्ने प्रश्नको जवाफ दिन्छ । सँगै गुगल असिसटेन्टमा पनि यसलाई इन्टिग्रेट गरिएको छ र यसको प्रयोग गर्न सकिन्छ । बार्डको प्रयोग पनि च्याटजीपीटी र कोपाइलटजस्तै आफूलाई लागेका जिज्ञासाहरुको सटिक जवाफ पाउनका लागि गर्न सकिन्छ ।

गुगलले डिसेम्बर ६ मा एआईकै क्षेत्रमा नयाँ मोडल जिमिनीको सुरुवात गरेको छ, जसलाई कम्पनीले हालसम्मकै सबैभन्दा ठूलो र आधुनिक एआई मोडल भएको दाबी गरेको छ । र उसलाई पनि कम्पनीले बार्डमा नै इन्टिग्रेट गरेर चलाउने सुविधा पनि दिएको छ ।

४. मिडजर्नी

मिडजर्नी वेबसाइटमा आधारित नभएको एआई हो । मिडजर्नी तस्बिर निर्माणको क्षेत्रमा निकै चर्चित र पृथक मानिएको एआई मोडल हो । यसले प्रयोगकर्ताले दिने टेक्स्ट निर्देशनको आधारमा चित्र बनाएर दिन्छ ।

वेबसाइट नभए पनि मिडजर्नीको प्रयोग डिसकर्डमा गर्न सकिन्छ । डिसकर्ड सर्भरमा बटका रुपमा रहेको मिडजर्नीलाई प्रयोग गरेर त्यहाँबाट एआई चित्रहरु निर्माण गर्न सकिन्छ । यसको निर्माण भने आफैंले लगानी गरेको एक स्वतन्त्र समूहले गरेको हो ।
मिडजर्नी हालसम्म रहेका तस्बिर निर्माण गर्ने एआईहरुमा सबैभन्दा मिल्ने तस्बिरहरु बनाउने एआई हो । अफ्ठ्यारा निर्देशनहरु पनि बुझ्ने यो एआईको प्रयोग सुरुवातका २५ तस्बिर बनाउँदासम्म नि:शुल्क रहेको छ भने त्यसपछि २ सय तस्बिर बनाउन १० अमेरिकी डलर तिर्नुपर्ने हुन्छ ।

५.स्टेबल डिफ्युजन

अहिले निकै चर्चित रहेको लिखित निर्देशनबाट तस्बिर बनाउने एआईहरुमध्येको हो स्टेबल डिफ्युजन । ड्रिम स्टुडियो, स्टेबल डिफ्युजन, प्लेग्राउण्ड एआईलगायतका वेबसाइटबाट यसलाई प्रयोग गर्न सकिन्छ ।

यसमा तपाईंले आफूलाई चाहिएको जस्तो तस्बिरको विवरण लेखेर दिनुपर्ने हुन्छ र केही समयपछि यसले तस्बिर बनाएर दिन्छ । यसको राम्रो पक्ष भनेको यसलाई दैनिक एक हजारवटा तस्बिर बनाउनका लागि प्रयोग गर्न सकिन्छ भने यसले तस्बिरलाई निकै चाडो निर्माण गरेर दिन्छ । तर, तस्बिरको आकार (साइज)मा भने यसमा केही सीमितताहरु रहेका छन् ।

६.जेएफपिगान

तस्बिर बनाउने एआईजस्तै जेएफपिगान भने तपाईंले दिएको तस्बिरलाई रेस्टोर गर्ने एआई हो । एकप्रकारले भन्दा यो फोटो फिल्टर जस्तै हो, तर यसमा एआईको प्रयोग हुन्छ र यसले पुरानो तस्बिरलाई पनि भर्खरै खिचिएको तस्बिरजस्तो बनाइदिन्छ । नि:शुल्क प्रयोग गर्न मिल्ने यो एआईले पुराना तस्बिरहरुलाई ताजा बनाउन सहयोग गर्छ । तस्बिरको रेस्टोरेसनका लागि यो एआईको प्रयोग गर्न सकिन्छ । यो एआई प्रयोग गर्न वेबसाइटमा गएर तस्बिर अपलोड गरे पुग्छ । यसको प्रयोगमा आफ्नो एकाउन्ट बनाउने वा अरु कुनै झन्झट गरिरहनु पर्दैन ।

७. भ्वाइसमोड

भ्वाइसमोड तपाईंले लेख्ने अक्षरबाट गीत बनाइदिने एआई हो । यसलाई मोबाइल फोनदेखि कम्प्युटर जहाँ पनि प्रयोग गर्न सकिन्छ। भ्वाइसमोडको प्रयोग गर्नका लागि आफूले चाहेको गीतको शब्दहरु यसलाई दिनुपर्छ । वेबसाइटमा रहेका विभिन्न १६ किसिमका गीतहरुमध्येबाट छान्ने र सातमध्येका एक गायक छानेर आफूलाई चाहिएको जस्तो गीत यसबाट बनाउन सकिन्छ ।

नि:शुल्क प्रयोग गर्न मिल्ने भएकाले भ्वाइसमोडबाट बनाइएको गीत उत्कृष्ट त हुँदैन, तर एआईका लागि यति गर्नु भनेको अहिलेको अवस्थमा निकै विकास भएको भने तपाईंले महसुस गर्नुहुनेछ ।

८.माइक्रोसफ्ट डिजाइनर

लेख्ने, तस्बिर बनाउने र गीत बनाउने एआई झैं यो एआईको काम भने डिजाइन बनाउने हो । माइक्रोसफ्ट डिजाइनरले तपाईंले चाहेको जस्तो पोस्टर, सामाजिक सञ्जालमा हाल्ने पोस्ट, युट्युब भिडियोको थम्बनेल, ब्यानरलगायत सबै बनाइदिन्छ ।

तपाईंले दिएको निर्देशनात्मक टेक्स्टकै आधारमा यो एआईले पोस्टहरुको निर्माण गरिदिन्छ । जुन पोस्टर बनाउन तपाईंले ग्राफिक्स डिजाइनरमाथि हजारौं रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ, त्यहि काम माइक्रोसफ्ट डिजाइनरको प्रयोग गरेर निर्देशन दिँदै तपाईंले नै पनि गर्न सक्नुहुन्छ ।

९. वन्डर डाइनामिक्स

फोटोको क्षेत्रमा धेरै एआईहरुको विकास भइरहेको भए पनि तस्बिरको क्षेत्रमा धेरै काम हुन बाँकी नै छ । यस्तोमा वन्डर डाइनामिक्स भने पहिलो नम्बरमा आउँछ ।

कम्प्युटर जेनेरेटेड ग्राफिक्स (सीजीआई)को क्षेत्रमा आधारित रहेको यो एआईले तपाईंले दिएकाको निर्देशनअनुसारको सीजीआई भिडियो बनाइदिन्छ । नि:शुल्क रुपमा प्रयोग गर्दा एआईमा भएका क्यारेक्टर (पात्र)हरु प्रयोग गरेर फिल्मको जस्तै दृश्यहरु निर्माण गर्न सकिन्छ भने मासिक रुपमा १६ अमेरिकी डलर तिर्ने हो भने तपाईंले आफ्नै मोडल राखेर पनि यसमा सीजीआई दृश्यहरु बनाउन सक्नुहुन्छ ।

१०. कोडिइयम

जसरी विभिन्न क्षेत्रमा एआईको विकास भएको छ, कम्प्युटिङकै क्षेत्रमा पनि यसको विकास भइरहेको छ । हुन त च्याटजीपीटी, बार्डजस्ता एआई मोडलहरुले पनि निर्देशनका आधारमा कम्प्युटर कोडिङ गरिदिने गर्छन् । तर, त्यसमा धेरै सीमितता छ ।
यस्तोमा कोडिइयम भने अपवाद हो ।

प्रोग्रामिङको क्षेत्रमा नयाँ रहेका मान्छेहरुका लागि कोडिइयम निकै सहज बनाउने उपकरण हो । यसले चर्चित रहेका कोडिङ ल्यांग्वेजहरुको प्रयोग गर्न सिकाउँछ भने तपाईंले लेखेको कम्प्युटर कोडलाई पूरा गर्न पनि सहयोग गर्छ । यो एआईको प्रयोग पनि नि:शुल्क रुपमा गर्न सकिन्छ ।


क्लिकमान्डु