एआईको प्रयोगले केही वर्षभित्र करोडौंले जागिर गुमाउनेः कसलाई लाभ, कसलाई हानि ?



तस्बिर: एआई

कृत्रिम बौद्धिकता अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले निकट भविष्यमा धेरै मानिसलाई बेरोजगार बनाउने र अर्थतन्त्रमा समेत असर पार्ने आकलनहरू भइरहेका छन् ।

च्याटजीपीटी, गूगल बार्ड र (चिनियाँ मोडलको) एर्नी जस्ता एआई प्रविधिहरूले बौद्धिक उत्पादन गरिदिएपछि दक्ष जनशक्तिको रोजगारी धरापमा पर्ने देखिएको हो ।

प्रसिद्ध लगानी बैंक गोल्डम्यान स्याक्सले प्रकाशन गरेको एक प्रतिवेदनमा उल्लेख भएअनुसार, एआईले आगामी केही वर्षमा ३० करोड पूर्णकालीन रोजगारीलाई विस्थापित गराइदिन सक्छ । विशेषगरी अमेरिका र युरोपमा हाल मानिसबाट भइरहेको काममध्ये एक चौथाइलाई यसले विस्थापित गर्ने सम्भावना छ । अहिले नै त्यहाँका कार्यक्षेत्रमा कुनै न कुनै किसिमको एआई अटोमेशन उपयोग गर्न थालिएको छ र पछि गएर मानिसले गर्ने लगभग एक चौथाइ काम एआईले नै गरिदिन्छ ।

त्यसैगरी अमेरिकाको पेन्सिल्भेनिया विश्वविद्यालय र ओपनएआईका अनुसन्धाताहरूको शोधले एआईका कारण वर्षको ८० हजार डलर कमाइ गर्ने शिक्षित मानिसहरूलाई व्यापक असर पर्ने सम्भावना औंल्याएको छ । अनि अमेरिकाकै प्रतिष्ठित एमआईटी र बोस्टन विश्वविद्यालयको प्रतिवेदनमा एआईले सन् २०२५ सम्ममा २० लाखभन्दा बढी उत्पादन क्षेत्रका कामदारहरूलाई विस्थापित गर्ने आकलन गरिएको छ ।

मककिन्सी ग्लोबल इन्स्टिच्युटले गरेको अध्ययनअनुसार, सन् २०३० सम्ममा संसारभरि कम्तीमा १४ प्रतिशत कामदारहरूले डिजिटाइजेशन, रोबोटिक्स र अत्याधुनिक एआईका कारण आफ्नो करीयर बदल्नुपर्ने हुन्छ ।

कस्ता किसिमका रोजगारी एआईका कारण बढी धरापमा पर्नेछन् भनी चर्चा गरौं ।

प्रतिष्ठित सर्वेक्षण कम्पनी प्यु रिसर्चले हालै गरेको अनुसन्धान अनुसार, एआईका कारण सर्वाधिक जोखिममा परेका मानिसमा बजेट विश्लेषक, डेटा इन्ट्री गर्नेहरू, कर सम्बन्धी कागजात तयार पार्नेहरू, टेक्निकल विषयमा लेख्नेहरू, वेब डिभलपरहरू पर्दछन् । त्यस्तै यसको हलुका असर पर्नेहरूमा प्रमुख कार्यकारी अधिकृतहरू, चिकित्सकहरू, घरभित्रको साजसज्जा गर्ने इन्टिरियर डिजाइनरहरू, संस्थाका लागि लगानी जुटाउने फन्डरेजरहरू र सेल्स म्यानेजरहरू हुन् ।

यसरी हेर्दा खासै सिर्जनात्मकता देखाउन नपर्ने किसिमको जागिर गर्नेहरूलाई एआईले विस्थापित गर्नेछ । टेलिमार्केटिङ, बूककीपिङ गर्ने लेखापाल, रिसेप्सनिस्ट, प्रूफरीडर, कम्प्युटर सपोर्ट दिनेहरू, मार्केट रिसर्च विश्लेषक, विज्ञापन क्षेत्रका विक्रेताहरू, रिटेल क्षेत्रमा काम गर्नेहरूको जागिर एआईले खाइदिने देखिन्छ ।

डेटा विश्लेषण गर्नेहरूलाई एआईले प्रतिस्थापित गर्ने सम्भावना छ । अत्याधुनिक कम्प्युटरहरूले डेटालाई दक्ष रूपमा वर्गीकरण गर्दै विश्लेषण गर्ने क्षमता देखाइसकेका छन् । यसमा थप प्रगति हुँदै जाँदा डेटाको विश्लेषण र अनुसन्धानमा मानिसको कुनै पनि भूमिका नरहने सम्भावना बढेको छ ।

त्यस्तै ग्राहकहरूसँग संवाद गर्ने कस्टमर सर्भिस रिप्रेजेन्टेटिभलाई पनि एआईले विस्थापित गर्नेछ । पश्चिममा आजकल कुनै कम्पनीमा मानिसले फोन उठाएर ग्राहकसँग कुरा गर्ने दुर्लभ हुन थालिसकेको छ ।

अधिकांश ग्राहकहरूले उही किसिमका प्रश्न सोध्ने र समस्या बताउने गरेकाले एआईलाई भावानात्मक वा सामाजिक बौद्धिकता देखाइरहने आवश्यकता नै छैन । प्रायः सोधिने प्रश्नहरूको बनिबनाउ उत्तर दिन च्याटबोटलाई कुनै समस्या हुँदैन । रिसेप्सनिस्टको सवालमा पनि यही कुरा लागू हुन्छ ।

त्यस्तै लेखापालहरूको जागिर पनि एआईले धरापमा पार्ने देखिन्छ । एआई राखिएको बूककीपिङ सफ्टवेयरले कम्पनीको सबै आयव्यय विवरणलाई सही र सटीक विश्लेषण गरिदिन्छ र यो सुरक्षित समेत हुन्छ । यही काम गर्न कर्मचारीलाई कैयौं दिन लाग्ने र राम्रो तलब दिएर राख्नुपर्ने अवस्थामा एआईले त्यो काम छिटोछरितो र गोप्यता कायम गर्दै सक्ने हुनाले रोजगारदाताले एआई अकाउन्टिङ सर्भिस नै राख्न रुचाउनेछन् ।

तर एआईले कतिपय अन्य रोजगारीलाई खासै असर नपार्ने विज्ञहरूको कथन छ । जस्तो, शिक्षकहरूलाई एआईले विस्थापित गर्न सक्दैन । शिक्षकले विद्यार्थीलाई अध्ययनमा मन लगाउनका लागि गर्ने प्रयास एआईबाट सम्भव छैन ।

कक्षाकोठामा कुनै विषयमा दक्ष भएर मात्र पुग्दैन, विद्यार्थीलाई प्रेरित पनि गर्न सक्नुपर्छ । त्यो कुरा मानव शिक्षकबाट मात्र सम्भव छ, कृत्रिम बौद्धिकताले त्यो गर्न सक्दैन ।

त्यसैगरी कानूनव्यवसायी र न्यायाधीशलाई पनि एआईले विस्थापित गर्न गाह्रो छ । न्यायका नौ सिङ भन्ने आहान छ । अर्थात्, कानूनका धारा र दफालाई जसरी पनि व्याख्या गर्न सकिन्छ र त्यसका लागि अनुभवले खारिएको वकिल नै आवश्यक हुन्छ ।

उस्तै प्रकृतिका मुद्दा संकलन गरी त्यसमा दिइएका फैसलाको आधारमा एआईले फलानो मुद्दामा यस्तो फैसला गर्न सही होला भनी न्यायाधीशलाई सुझाव दिन त सक्ला तर त्यो सुझाव कानूनको मर्मअनुसार हुने सुनिश्चितता गर्न सकिन्न र न्यायाधीशको विवेक नै सर्वोपरि महत्त्वको हुन्छ ।

त्यस्तै कुनै पनि संस्था वा कम्पनीका निर्देशक, व्यवस्थापक र प्रमुख कार्यकारी अधिकृतलाई पनि एआईले विस्थापित गर्न सक्दैन । संस्थाको प्रमुखले गर्ने व्यवहारलाई कम्प्युटर कोडमा लेखेर प्रोसेसिङ गर्न सकिँदैन । कम्पनीको कामलाई उचाइ दिनका लागि कर्मचारीहरूसँग भावनात्मक र सामाजिक सम्बन्ध कायम गर्न पनि रोबोटले सक्दैन, मान्छे नै आवश्यक हुन्छ ।

त्यस्तै मनोचिकित्सकको काम पनि एआईले गर्न सक्दैन । मनोचिकित्सकले बिरामीसँग संवेदनशील भएर कुराकानी गरी उसको समस्या पत्ता लगाएर निदानको उपाय खोज्नुपर्ने हुन्छ । हुन त लाखौं मानिसले आजभोलि एआई च्याटबोटसँग कुरा गरेर आफ्नो मानसिक समस्या साझा गर्ने गरेका छन् तर त्यो कत्तिको प्रभावकारी छ भन्ने प्रश्न उठ्छ । शल्यक्रिया गर्ने चिकित्सकको काम पनि एआईले गर्न सक्नेमा विश्वास गर्न सकिन्न ।

त्यस्तै लेखकलाई पनि एआईले विस्थापित गर्न गाह्रै छ । एआईले संसारमा प्रकाशित सबै पुस्तकको सामग्री अध्ययन गरेर आफैं केही लेख्न सक्ने क्षमता त विकसित गरिसकेको छ तर साहित्यकारले शब्दको माध्यमबाट पाठकहरूलाई कल्पनाको संसारमा गराउने विचरण एआईबाट तत्कालका लागि सम्भव छैन । पुस्तकमा निहित मानव भाव र समानुभूति एआईले नक्कल गर्न गाह्रै हुन्छ ।

तर एआईले दिनानुदिन प्रगति गर्दै जाँदा मानिसले त्यसअनुकूल आफूलाई ढाल्नुपर्ने आवश्यकता चाहिँ बन्नेछ । त्यसैले अब भविष्यका पुस्ताले एआई चलाउन सक्ने गरी अध्ययन गर्नु जरूरी हुन्छ । मशिन लर्निङ इन्जिनीयर, एआई इन्जिनीयर, डेटा साइन्टिस्ट, कम्प्युटर भिजन इन्जिनीयर, नेचुरल ल्यांग्वेज प्रोसेसिङ इन्जिनीयर जस्ता विशिष्ट प्राविधिक काम गर्ने मानिसका लागि भविष्य उज्ज्वल देखिन्छ ।

एआईले विश्व अर्थतन्त्रमा पार्ने असरका विषयमा मककिन्सी ग्लोबल इन्स्टिच्युटले प्रतिवेदन तयार पारेको छ । एआईका कारण सन् २०३० सम्ममा अहिलेको भन्दा थप १६ प्रतिशत कुल गार्हस्थ्य उत्पादन अर्थात् १३० खर्ब डलर बराबरको आर्थिक गतिविधि हुने प्रक्षेपण उक्त संस्थाले गरेको छ ।

त्यो भनेको प्रतिवर्ष थप १.२ प्रतिशत अतिरिक्त कुल गार्हस्थ्य उत्पादन वृद्धि हो । तर अटोमेशनका कारण मानव कामदारको विस्थापन तथा उत्पादन र सेवामा थप नवप्रवर्तनको बलमा यो आर्थिक वृद्धि हुने हो ।

एआईले भविष्यमा मानव जीवनलाई सहज बनाउने फोर्ब्स पत्रिका लेख्छ । यसले उत्पादनमा अभिवृद्धि गरी, स्वास्थ्य सेवामा थप सुधार गरी एवं शिक्षामा थप पहुँच अभिवृद्धि गरी समाजमा अनेकौं सकारात्मक परिवर्तन ल्याउन सक्छ । त्यसैले यसको प्रतिकार भन्दा पनि यससँग अनुकूलन गर्नुमा मानवको भलो हुन्छ ।


विन्देश दहाल

दहाल अन्तर्राष्ट्रिय अर्थराजनीति बारे कलम चलाउँछन् ।