मोदीका १० वर्ष: विश्व मञ्चमा भारतको बलियो उपस्थिति
राजनीतिमा एक दिन पनि निकै लामो हुन सक्छ तर परराष्ट्रनीतिको गम्भीर मूल्यांकनका लागि एक दशक पनि अपर्याप्त हुन सक्छ । तर विगत एक दशकमा विश्व राजनीतिको परिधि र दायरा दुवैमा क्रान्तिकारी परिवर्तन आएको छ । यसै समयमा भारतको राजनीतिमा पनि व्यापक परिवर्तन आएको छ । त्यस परिवर्तनले भारतको परराष्ट्रनीतिमा असर पार्नु स्वाभाविक नै हो । विश्वव्यापी परिवर्तनसँगै भारतको वैदेशिक सम्बन्धमा प्रधानमन्त्री नरेन्द्र मोदीको व्यक्तिगत संलग्नताले भारतलाई समकालीन अन्तर्राष्ट्रिय सम्बन्धमा अद्वितीय भूमिका दिएको छ ।
आलोचकहरूलाई गलत ठहर्याउँदै
सन् २०१४ मा मोदी सत्तामा आउँदा उनका आलोचकहरूले उनी एक क्षेत्रीय राजनीतिकर्मी भएको र विदेशनीतिमा उनको पर्याप्त दखल नरहेको भनेका थिए । उनको ‘हिन्दू राष्ट्रवादी’ छविले विशेषगरी मुस्लिम विश्वमा भारतको पहुँचलाई क्षति पुर्याउने आकलन गरिएको थियो । तर मोदीले व्यावहारिक विदेशनीति अपनाएर आफ्ना आलोचक र समर्थक दुवैलाई चकित तुल्याएका छन् ।
‘भारत पहिलो’ भन्ने मन्त्रलाई मोदीले विदेशनीतिको केन्द्रमा राखेका छन् । सन् २०१४ मा प्रधानमन्त्री पदको शपथ समारोहमा नेपाल सहित दक्षिण एसियाका सबै मुलुकलाई निमन्त्रण गरेदेखि अहिले लोकसभा निर्वाचनको पूर्वसन्ध्यामा भुटान भ्रमण गरेसम्म भारतीय विदेशनीति मोदीको रंगमा रंगिएको छ । एक दशकअघि मोदीले सत्ता सम्हाल्दा यस्तो होला भनी धेरैले अपेक्षा गरेकै थिएनन् ।
समकालीन विश्व राजनीतिको भाष्यमा भारत केन्द्रमा छ र यसका लागि अन्तर्राष्ट्रिय व्यवस्थामा आएका संरचनागत परिवर्तनहरू जिम्मेवार रहेको कुरामा दुईमत छैन । विश्वको शक्ति सन्तुलनमा आएको परिवर्तन र पश्चिममा चीनप्रतिको बढ्दो अविश्वासका कारण संसारको ध्यान भारतमा केन्द्रित भएको छ । अहिले भारत विश्वमै सबभन्दा द्रुत गतिमा अघि बढिरहेको प्रमुख अर्थतन्त्र हो । भारतको युवा जनसंख्या, चीनको विकल्पका रूपमा भारतको उपस्थिति र हिन्द-प्रशान्त क्षेत्रको रणनीतिक भूगोलमा भारत केन्द्रमा रहनुले पनि अहिलेको समय भारतकै भएको प्रमाणित गरेको छ ।
‘नियम निर्माता’ बन्नेतर्फको यात्रा
विश्व मञ्चमा थप सक्रिय बन्ने नयाँ दिल्लीको बढ्दो आकांक्षा ‘नियम निर्माता’ को भूमिका निर्वाह गर्ने भारतको लक्ष्यअनुरूप छ । विश्व मञ्चमा मोदीको कूटनीतिले थप ठूलो अन्तर्राष्ट्रिय भूमिका खेल्ने भारतको आकांक्षालाई मलजल गरेको छ । यसको परिणामस्वरूप भारतको विदेशनीतिले विश्व मामिलामा आएको परिवर्तनको सबभन्दा बढी सदुपयोग गरेको छ । विगत एक दशकमा विश्व राजनीतिमा भारतको छवि जे कुरामा पनि हिचकिचाउने डरपोकको साटो विश्व शासनव्यवस्थामा योगदान गर्न इच्छुक आत्मविश्वासी मुलुकका रूपमा परिवर्तन भएको छ ।
अघिल्लो साता मात्र भारतीय जलसेनाले सोमालियाको तटमा समुद्री डाँकाहरूको कब्जामा रहेको व्यापारिक जहाजको उद्धार गरेका थिए । व्यापारिक आवागमनको सुरक्षाका साथै रणनीतिक रूपमा महत्त्वपूर्ण जलमार्गहरूमा आवागमनको स्वतन्त्रतालाई सुनिश्चित गर्नका लागि आवश्यक कारवाहीको जिम्मेवारी लिन भारतीय नीतिनिर्माताहरू तयार र इच्छुक रहनु बढ्दो आत्मविश्वासको परिणाम हो ।
मोदीको कार्यकालमा राष्ट्रिय र अन्तर्राष्ट्रियबीचको कृत्रिम विभाजन पनि हराएको छ । राष्ट्रिय विकास भारतको महत्त्वपूर्ण प्राथमिकता हो र त्यसका लागि सबैको समान योगदान आवश्यक हुन्छ । विकसित भारत बनाउने सरकारको आकांक्षालाई भारतीय कूटनीतिले पनि सहयोग गरिरहेको छ । यसले गर्दा नयाँ दिल्लीको वैदेशिक पहुँचमा व्यावहारिकता देखिएको छ ।
विभिन्न मुलुकहरूसँग साझेदारी गर्ने कुरा आफैंमा महत्त्वपूर्ण भए पनि विचारधारा भन्दा पनि भारतको आवश्यकताले उसको वैदेशिक सम्बन्धलाई डोहोर्याउने गरेको छ । पश्चिमसँग बलियो सम्बन्ध बनाउनुका साथै युक्रेन संकटको समयमा समेत रुससँगको महत्त्वपूर्ण साझेदारीलाई कायम राखेर भारत विश्व राजनीतिमा आएका उथलपुथलको स्थितिमा पनि आफ्नो राष्ट्रिय स्वार्थमा अडिन सकेको छ ।
‘छिमेक पहिलो’
‘छिमेक पहिलो’ नीतिअन्तर्गत मोदी सरकारको क्षेत्रीय दृष्टिकोणले यस क्षेत्रको स्थिरता र समृद्धिलाई प्रवर्धन गरेको छ । भारतको समग्र विकास र सुरक्षाका लागि सुरक्षित एवं सहकार्यात्मक छिमेक आवश्यक रहेको कुरालाई यस दृष्टिकोणले स्वीकार गरेको छ । नयाँ दिल्लीको दक्षिण एसिया नीति अहिले पाकिस्तानसँगको सम्बन्ध भन्दा पनि उत्पादनशील बंगालको खाडी जस्तो जलक्षेत्रीय भूगोलमा केन्द्रित हुन थालेको छ । यस नीतिले दक्षिण र दक्षिणपूर्वी एसियाबीचको प्राकृतिक सम्पर्क बढाएको छ ।
भारत र पाकिस्तानलाई एउटै डालोमा राखेर हेर्ने विश्वको दृष्टिकोणलाई चिर्न सफल हुनु विगत एक दशकमा भारतले हासिल गरेको सबभन्दा महत्त्वपूर्ण उपलब्धि हो । यसले नयाँ दिल्लीलाई आफ्नो वास्तविक रणनीतिक चुनौतीका रूपमा रहेको चीनमाथि ध्यान केन्द्रित गर्न अवसर दिएको छ ।
मोदीले कार्यकालको आरम्भमा चीनसँग सम्पर्क बढाएर त्यस मुलुकको उदयलाई कूटनीतिक सम्बन्धमार्फत व्यवस्थापन गर्न खोजेका थिए । तर बेइजिङले अर्कै योजना बुनिरहेको रहेछ । सन् २०२० मा गलवान उपत्यकामा भएको भिडन्तपछि भारतले सीमा विवाद समाधान नगरिएसम्म भारत र चीनको सम्बन्ध सामान्य बन्न नसक्ने भनी दह्रो अडान लियो र त्यस अडानमा ऊ कायम छ । पूर्वी र दक्षिणपूर्वी एसियामा भारतको बढ्दो उपस्थिति तथा बृहत्तर हिन्द-प्रशान्तका रणनीतिक धारहरूलाई आकार दिने भारतको चाहनाले एक नयाँ वास्तविकतालाई औंल्याएको छ । त्यो के भने, नयाँ दिल्लीले आफ्ना लागि थप ठूलो क्षेत्रीय र वैश्विक भूमिका खोजिरहेकाले भारत अब चुप लागेर बस्दैन ।
विचारधारात्मक बोझलाई हटाउँदै
विगत केही वर्षयता नयाँ दिल्ली शत्रुहरूलाई चुनौती दिन र साथीहरूलाई फकाउन हिचकिचाउँदैन र उसले विगतका विचारधारात्मक बोझहरूलाई हटाएर यी कार्यहरू गरिरहेको छ । सन् २०१४ मै सी चिनपिङको बेल्ट यान्ड रोड इनिसिएटिभलाई चुनौती दिने एक मात्र प्रमुख शक्ति भारत नै थियो । त्यसैगरी चीनले देखाएको सैन्य आक्रामकतालाई दह्रो फौजी प्रतिकारमार्फत भारतले जवाफ फर्काएको थियो । अनि अमेरिकासँग सैन्य साझेदारी नगरिकनै उससँग मिलेर भारतले काम गरेको छ ।
त्यसैगरी आफ्नो राष्ट्रिय क्षमता बढाउनका लागि पश्चिमसँग भारतले सम्पर्क बढाएको छ । यी सबै कार्यहरू गरिरहँदा भारतले व्यावहारिकतालाई केन्द्रमा राखेको छ र विद्यमान शक्ति सन्तुलनलाई आफ्नो फाइदाका लागि उपयोग गरिरहेको छ । अहिले भारतले सबै क्षेत्रहरूमा आफ्नो क्षमता अभिवृद्धि गर्नमा जोड दिइरहेको छ र यसले गर्दा भारतलाई आफ्ना सहयोगीहरूसँग स्पष्ट सोचका साथ सम्पर्क कायम गर्न अवसर दिएको छ ।
जिम्मेवार सरोकारवाला
विगतमा भारतले काम नगर्ने, कुरा मात्र गर्ने गरेकोमा अहिले विश्वले वैश्विक मञ्चमा भारत जिम्मेवार सरोकारवालाको भूमिका निर्वाह गरिरहेको देखेको छ । भारत आफ्नो राष्ट्रिय स्वार्थमा दृढ रहे पनि विश्वव्यापी प्रतिबद्धताहरूको कार्यान्वयनबाट पछि हट्न चाहँदैन । दक्षिण एसियामा कोभिड-१९ महामारीको व्यवस्थापनमा नयाँ दिल्लीले नेतृत्व गरेको थियो र भारत त्यतिबेला महामारीको वैश्विक व्यवस्थापनमा समेत संलग्न रह्यो । आफ्ना छिमेकीहरूलाई औषधि उपलब्ध गराएको भारतले पछि भ्याक्सिन मैत्री पहलअन्तर्गत खोप उपलब्ध गरायो । यसरी भारतले विश्वव्यापी समस्याहरूमा आफू समाधान दिन सक्षम रहेको साबित गरेको थियो । यसका अतिरिक्त, अन्तर्राष्ट्रिय मोर्चामा मोदीको नेतृत्वले छाप छोडिरहेको उदाहरण भारतले जी२० को अध्यक्षता गरेबाट नै देखिन्छ ।
विश्व राजनीति अहिले चुनौतीपूर्ण मोडमा छ तर मोदीले भारतलाई विगत एक दशकमा अद्वितीय एवं विशेष स्थितिमा पुर्याएका छन् । अन्य कुनै पनि प्रमुख शक्तिका नागरिकभन्दा बढी भारतीयहरू आफ्नो भविष्य उज्ज्वल देखिरहेका छन् र त्यसले उनीहरूको राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय सम्बन्धलाई आकार दिइरहेको छ । मोदीले भारतीयहरूको आकांक्षालाई प्रभावकारी रूपमा वास्तविक बनाउन प्रयास गरिरहेका छन् । यसले उनको विरासतलाई दह्रो बनाएको छ ।
(एनडीटीभी डट्कममा प्रकाशित हर्ष भी पन्तको आलेखलाई विन्देश दहालले क्लिकमान्डुका लागि नेपालीमा अनुवाद गरेका हुन्।)