सरकारले बजेट निकासा नगर्दा अलपत्र पर्दै कृषि बिमा



काठमाडौं । सरकारले कृषि बिमा वापतको रकम निकासा नगर्दा कृषि बिमा अलपत्र पर्ने जोखिम बढेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता शवनम शिवाकोटीका अनुसार गत आर्थिक बर्ष र चालु आर्थिक वर्षमा बिनियोजित बजेटसहित ३ अर्ब रुपैयाँभन्दा बढी रकम कृषि बिमा वापत भुक्तानी गर्न बाँकी छ ।

मन्त्रालयका अनुसार यो रकममध्ये गत आर्थिक वर्षकै १ अर्ब ६५ करोड रुपैयाँ कृषि बिमा वापत भुक्तानी गर्न बाँकी छ । गत मंसिर महिनामै ३ अर्ब १० करोड रुपैयाँ थप बजेट रकमान्तर गर्नका लागि अर्थ मन्त्रालयमा पत्राचार गरिएको थियो ।

समग्रमा कृषितर्फ अनुदान उपलब्ध गराउन ३५ करोड २८ लाख र पशुपन्छीतर्फ २ अर्ब ७५ करोड रुपैयाँ उपलब्ध गराइदिन अर्थ मन्त्रालयसँग माग गरिएको छ ।

मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०७९/८० को कृषि बिमातर्फ २० करोड २८ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । यसैगरी पशुपन्छी बिमातर्फ १ अर्ब ४४ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । बाली तथा पशुधन बिमा कोष व्यवस्थापन समितिको खातामा अहिले १ करोड ८२ लाख रुपैयाँ मौज्दात छ ।

अर्थबाट उक्त रकम प्राप्त नभएपछि मन्त्रालयले कृषि बिमा गरेका कम्पनीहरुलाई भुक्तानी दिएको छैन । गत वर्षदेखि नै कृषि बिमा वापतको रकम भुक्तानी नपाएपछि नेपाल बिमक संघले कृषि बिमा नगर्न चैत १ गते आन्तरिक रुपमा सर्कुलर नै जारी गरेको छ । संघले यस अघि गत जेठ ७ गतेदेखि कृषि बिमासम्बन्धी सेवा रोकेका छन् ।

बिमा कम्पनीहरुले कृषि बिमा रोकेको बिषय मन्त्रालयमा आधिकारिक रुपमा जानकारी गराइसकेका छन् । कम्पनीहरुले बिमा वापतको गत वर्ष र चालु आर्थिक बर्षको रकम भुक्तानी उपलब्ध नभए आगामी दिनमा उद्यारोमा बिमासम्बन्धी सेवा उपलब्ध नगराउने औपचारिक रुपमै मन्त्रालयलाई जानकारी गराएको छ ।

‘उहाँहरुले औपचारिक रुपमै जानकारी गराएर अब उद्यारोमा सेवा उपलब्ध गराउन नसक्ने भन्दै बिमाको काम रोक्नु भएको छ, बिमा वापतको रकम भुक्तानी गर्न मन्त्रालयसँग पर्याप्त बजेट छैन,’ मन्त्रालयका प्रवक्ता शिवाकोटीले क्लिकमान्डुसँग भनिन्, ‘हामीले गत वर्षको निकासा हुन बाँकी र चालुमा बिनियोजित भएको रकम अर्थमन्त्रालयसँग रकमान्तर गर्न पत्राचार गरेका थियौं । तर आइपुगेको छैन ।’

उनका अनुसार मन्त्रालय अन्तर्गतको कृषि विभाग र पशुसेवा विभागको बिमा वापतको रकम भुक्तानी गर्न बाँकी छ । चालु आर्थिक वर्षमा सरकारले ६० करोड रुपैयाँ मात्रै विनियोजन गरेको छ । तर बिमा कम्पनीलाई २ अर्ब रुपैयाँभन्दा बढी रकम भुक्तानी गर्न बाँकी रहेको शिवाकोटीले जानकारी दिइन् ।

बिनियोजन भएको ६० करोड रुपैयाँ पनि बिमासम्बन्धी फिल्डको तथ्यांक अद्यावधिक र कार्यक्रम संशोधन गर्न ढिलाई भएकाले उक्त रकम पनि भुक्तानी गर्न नसकिएको मन्त्रालयको भनाइ छ ।

बिनियोजित ६० करोड रुपैयाँमध्ये कृषितर्फको बिमातर्फ १२ करोड रुपैयाँ भुक्तानी भइसकेको छ भने पशुपंक्षी बिमातर्फ भुक्तानी गर्न कार्यक्रम संशोधन गर्न समय लागेकाले ४८ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । केहि वर्षदेखि माछाको गरिएको बिमाको रकमसमेत समेतमा भुक्तानी हुन नसकेकाले त्यो रकम पनि अहिले थुप्रिएर धेरै भएको मन्त्रालयले जनाएको छ ।

बजेट अभावकै कारण यो वर्ष उखु किसानलाई रासायनिक मलका लागि आएको रकमबाट रकमान्तर गरेर भुक्तानी उपलब्ध गराइएको शिबाकोटीले जानकारी दिइन् ।

मन्त्रालयका अनुसार कृषि बाली बिमा गर्ने लक्षित किसानमध्ये ९ प्रतिशतले मात्रै बाली बिमा गरेका छन् । तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७९/८० मा एक लाख ८८ हजार ९ सय ७७ वटा कृषि तथा पशुपन्छीसम्बन्धी बिमा गरिएको थियो ।

यसमध्ये कृषि बालीतर्फ ८ हजार १ सय ७८ वटामात्र बिमा भएको छ भने पशुपन्छीतर्फ १ लाख ८० हजार ७ सय ९९ वटा भएको थियो ।

कुल बिमालाई प्रतिशतका आधारमा हेर्दा बाली बिमातर्फ ९ प्रतिशत मात्र हो । मन्त्रालयका अनुसार कृषि बालीको मूल्यांकन कम हुने भएकाले बाली बिमा गर्नेको संख्या बढ्न नसकेको हो ।

पशुपन्छी बिमातर्फ भने मूल्यांकन अत्याधिक हुने र लामो समयसम्म हुने भएकाले यो बिमा गर्ने किसानको आकर्षण बढ्दै गएको छ । पशुपन्छी बिमा गर्ने किसानको संख्या ९१ प्रतिशत छ ।

सरकारले आर्थिक वर्ष २०७०/०७१ देखि कृषि तथा पशुपन्छी बिमाकोे प्रिमियममा लाग्ने अनुदान उपलब्ध गराउन सुरु गरेको थियो ।

२०६९ माघ १ देखि सञ्चालनमा आएको कृषि वा पशुपन्छीको बिमाको ७५ प्रतिशत प्रिमियम (बिमा गर्दा तिर्नु पर्ने शुल्क) सरकारले नै तिर्ने व्यवस्था छ । यस्तै बाँकी रहेको २५ प्रतिशत वापतको रकम मात्रै किसानले तिर्नुपर्ने व्यवस्था सरकारले गरेको छ । बिमा गरेपछि क्षति भयो भने त्यसको क्षतिपूर्ति कम्पनीले दिन्छन् ।

पछिल्लो समयमा गाई, भैंसी, माछा, बाख्रा, कुखुरालगायत पशुपन्छी बिमा तुलनात्मक रुपमा बाली बिमाभन्दा धेरै लोकप्रिय भएको छ । यसको तुलनामा धान, गहुँ, मकै जस्ता बालीहरुको बिमा अझै लोकप्रिय हुन सकेको छैन । धेरै किसानले यस्ता बिमा गरे फल नलागे पनि सुविधा पाउन सकिन्छ भन्ने कुरा जानकारी समेत पाएका छैनन् ।

अहिले निर्जीवन बिमा कम्पनीहरुले पनि कृषि तथा पशुपन्छी बिमा गर्ने गरेका छन् । नेपालमा २० वटा निर्जीवन बिमा कम्पनी सञ्चालनमा छन् ।


राजेश बर्मा