भैरहवा विमानस्थलमा भ्रष्टाचार भएको प्रारम्भिक निष्कर्ष : अख्तियारले क्यानका डीजीसँग लियो बयान



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भैरहवा विमानस्थल निर्माण गर्दा भ्रष्टाचार भएको प्रारम्भिक निष्कर्ष निकालेको छ ।

भैरहवा विमानस्थल निर्माण, जग्गा अधिग्रहण तथा ट्याक्सी वे विस्तारमा अनियमितता भएको उजुरीमा अख्तियारले प्रारम्भिक अनुसन्धान गर्दा भ्रष्टाचार भएको पाएको हो । विस्तृत अनुसन्धानका क्रममा अनियमितता भएको पाइए आयोगको पुर्ण बैठकले स‌ंलग्न अधिकारीहरुमाथी मुद्दा चलाउने निर्णय गर्ने छ ।

‘प्रारम्भिक अनुसन्धानको क्रममा अनियमितता भएको तथ्य भेटिएकाले भैरहवा विमास्थल प्रकरणमा विस्तृत अनुसन्धान गर्ने निर्णय भएको छ,’ विश्वस्त स्रोतले क्लिकमाण्डुसँग भन्यो,’हामीले राष्ट्रिय गौरब आयोजनाका तत्कालिन प्रमुख प्रदीप अधिकारी, भैरहवा विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारी लगायतका कर्मचारीको भुमिका माथी छानबिन सुरु गरेका छौं ।’

प्रदीप अधिकारी हाल नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक छन् । अधिकारीले पोखरा विमानस्थलमा निर्माणमा पनि अनियमितता गरेको भन्दै अख्तियारले अनुसन्धान गरिरहेको छ ।

एसियाली विकास बैंकको ऋण सहयोगमा निर्माण भएको भैरहवा विमानस्थल चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्स्ट्रक्सनले निर्माण गरेको थियो ।

तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले २०७१ माघ १ गते भैरहवास्थित गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल शिलन्यास गर्दा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । त्यसबखत ठूलो आकारको अन्तर्राष्ट्रिय विमानस्थल भन्दा भारतका विभिन्न सहरमा उडान गर्ने गरी क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउने योजना अनुसार भैरहवा विमानस्थल बिस्तारको काम शुरु गरिएको थियो ।

तर, भैरहवालाई दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउने नीति सरकारले लियो । जसले गर्दा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा पनि सुविधा सम्पन्न विमानस्थल भैरहवामा बनेको छ । पूर्वनिर्धारित समयभन्दा साढे ४ वर्ष ढिलो गरी निर्माण सम्पन्न भएको विमानस्थलको व्यवसायीक सञ्चालन २०७९ जेठ २ गतेबाट शुरु भएको थियो ।

एसियाली विकास बैंकको करिब ८ अर्ब रुपैयाँ ऋण लगानीमा विमानस्थल निर्माण गरिएको हो । यस्तै, विमानस्थल बिस्तारका लागि २२ अर्ब ४७ करोड रुपैयाँ खर्च गरेर जग्गा अधिग्रहण गरिएको थियो । कार्गो भवन र अन्य पूर्वाधार विकासमा करिब २ अर्ब रुपैयाँ खर्च भईसकेको छ ।

‘विमास्थल निर्माण भन्दा पनी जग्गा अधिग्रहण गर्दा ठूलो घोटाला भएको पाइएको छ,’अख्तियारका अधिकारीहरुले भने,’प्रदीप अधिकारीको योजना अनियमितता भएको उजुरी आएका छन् । अहिले हामीहरु उनको भुमिकाको विषयमा अनुसन्धान गरिरहेका छौं । उनिसँग बयान पनि लिएका छौँ ।’ उद्घाटन भएको २ वर्ष हुँदा समेत भैरहवा विमानस्थल सञ्चालनमा आएको छैन ।

भैरहवा विमानस्थल

व्यवसायीकरुपमा सञ्चालन हुन नसकेको भैरहवास्थित गौतम बुद्ध विमानस्थल विस्तार गर्न गत असारमा ४ अर्ब रुपैयाँ खर्च गर्ने निर्णय भएको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले गत जेठ अन्तिम साता भैरहवा विमानस्थलमा ट्याक्सी वे रिह्याबिटेसन, एप्रोन निर्माण, सडक र पुल निर्माण लगायतका विभिन्न काम गर्न भ्याटसहित ३ अर्ब ९९ करोड ४९ हजार रुपैयाँमा ठेक्का लगाएको थियो। प्राधिकरणले आषिश क्षमादेवी र बुद्ध हिमालीको ज्वाइन्ट भेन्चरलाई ठेक्का दिएको हो ।

पूर्वसंस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री र हाल शहरी विकास मन्त्री रहेका प्रतिनिधि सभा सदस्य तथा नेकपा समाजवादीका नेता धनबहादुर बुढाको लगानी रहेको बुद्ध हिमालीलाई टेण्डर दिने गरी प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सहजीकरण गरेको स्रोतको दाबी छ ।

‘आषिश क्षमादेवी र बुद्ध हिमालीको ज्वाइन्ट भेन्चरले भन्दा सस्तो रुपैयाँ कबोल गरेको कम्पनीलाई ठेक्का नदिई अधिकारीकै जोडबलमा कानून विपरित ठेक्का लगाएको भन्दै अख्तियारमा उजुरी परेको थियो,’ स्रोतले भन्यो- ‘८ अर्बमा निर्माण भएको विमास्थलको ट्याक्सी वे मा नै ४ अर्ब रुपैयाँ खर्च गर्नु र सरकारले प्रस्ताव गरेकै मूल्यमै ठेक्का कबोल हुनुमा बदनियत देखिन्छ । थप अनुसन्धानबाट कस्तो गल्ति भएको छ भन्ने खुल्दै जाला। ‘

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकारीहरु प्राधिकरणका महानिर्देशक अधिकारीले हवाई सुरक्षा र उड्डयन सुरक्षालाई बलियो बनाउनु भन्दा पनि ठूला ठेक्का लगाउन जोड गरेको बताउँछन् । उडाननै नभएको अवस्थामा अहिले भएका संरचनाबाट अधिक्तम लाभ लिन लाग्नु पर्नेमा प्राधिकरणको नेतृत्वले ठेक्का पट्टाबाट लाभ लिन अर्बौंको ठेक्का लगाएको हो ।

पूर्वसंस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले प्राधिकरणका महानिर्देशक अधिकारीले ठेक्का लगाउने बाहेक अन्य क्षेत्रमा चासो नराखेको दाबी गरेका थिए ।

‘मलाई नै लगेर विराटनगर, नेपालगञ्जमा अर्बौं रुपैयाँको टर्मिनल भवन शिलन्यास गराएको छ,’ किरातीले भनेका थिए,‘अहिले आर्थिक संकट भएको अवस्थामा अर्बौं रुपैयाँ ऋण लिएर सरकारले टर्मिनल वा अन्य पूर्वाधार विस्तार गर्ने अवस्था होइन । तर, प्राधिकरणका कर्मचारीको प्राथमिकता ठेक्का लगाउनेमा मात्रै छ ।’

प्राधिकरणका महानिर्देशक अधिकारीले भैरहवा थप २२ अर्ब रुपैयाँ खर्च गर्ने योजना बनाएका छन् । अहिले निर्माण भएको अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन साघुरो भएको भन्दै नयाँ टर्मिनल बनाउनु पर्ने अधिकारीको धारणा छ । तर, अर्थ मन्त्रालयले हाल निर्माण भएको टर्मिनल सञ्चालनमा नआएको अवस्थामा थप रकम खर्च गर्न नहुने अडान राखेपछि नयाँ टर्मिनल बनाउने प्रक्रिया रोकिएको छ ।

भैरहवामा नयाँ टर्मिनल बनाउने विषयमा एसियाली विकास बैंकले करिब ७ अर्ब रुपैयाँ खर्च गर्ने सम्झौता भएकाले जुनसुकै समयमा पनि भैरहवामा अर्बौं खर्चेर नयाँ टर्मिनल भवनको ठेक्का लाग्न छ ।


शरद ओझा