मन्त्रीहरु सांसदहरुलाई कुराएर, भित्र दलालहरुसँग बस्छन्ः सांसद महरा



काठमाडौं । नेकपा(माओवादी केन्द्र) का सांसद महेशकुमार महराले सरकारका मन्त्रीहरुले विकास निर्माणका योजना लिएर जाने सांसदहरुलाई भेट नदिने गरेको आरोप लगाए ।

आइतबार राष्ट्रिय सभाको बैठकमा सांसद महराले विकास निर्माणका योजनाहरुसँग सम्बन्धित काम लिएर जाँदा मन्त्रीहरुले वेवास्ता गर्ने गरेका बताए ।

बाहिर सांसदहरु कुरेर बसिरहँदा भित्र मन्त्रीहरु दलालहरुसँग बसिरहेका हुने उनको आरोप थियो । यस तरिकाले सुशासन कायम हुन नसक्ने उनले बताए ।

‘एउटा माननीय बाहिर कुरिरहेको हुन्छ । भित्र कुनै अमुक व्यक्ति दलालहरु आएर बसिरहेका हुन्छन् । तर माननीयहरुले भेट्न पाउँदैनन् । खबरदार म यहाँबाट के भन्न चाहन्छु भने यदि तपाईहरुले संसदका सदस्य माननीयज्युहरु प्रति त्यस्तो व्यवहार गर्नुहुन्छ भने हामीले तपाईका बिरुद्ध फेरि यो भन्दा कडा सदनमा त बोल्छौँ, बोल्छौँ । हामी बाहिर मिडियामार्फत पनि जान तयार छौँ । प्रधानमन्त्रीलाई म के भन्छु भने जो मन्त्रिहरु छन्, उहाँहरुलाई निर्देशन दिनुपर्‍यो । यसरी सुशासन कायम हुन सक्दैन । यसरी सामाजिक न्याय र सोह्रौँ पञ्चवर्षीय योजनाको सोच पूरा हुँदैन’ उनले भने।

उनले सुदूरपश्चिमको पर्यटन विकासका लागि संघीय सरकारले ध्यान दिनुपर्ने बताए ।


क्लिकमान्डु