नेपालमा अन्तर्राष्ट्रिय चेनका डेढ दर्जन होटल, कुन-कुन ब्राण्ड भित्रिए ?



विदेशी ब्राण्डमा सञ्चालन हुँदै गरेका लेमन ट्री प्रिमियर र दुसित थानी होटल

काठमाडौं । पर्यटक लक्षित पूर्वाधारको निर्माणसँगै नेपालमा अन्तर्राष्ट्रिय ब्राण्डका चेन होटल खुल्ने क्रम धमाधम बढिरहेको छ । केही वर्ष अगाडिसम्म काठमाडौंमा केही पाँचतारे होटलमा मात्रै सीमित हुने विदेशी चेन होटल अहिले काठमाडौं बाहिरसमेत विस्तार हुँदै गइरहेका छन् ।

नेपाल आउने विदेशी पर्यटकलाई लक्षित गरि खुलेका यस्ता होटलले अन्तर्राष्ट्रिय स्तरको सेवा र गुणस्तर प्रदान गर्ने गरेका छन् । चेन होटलसँगै पर्यटन प्रवर्द्धन सहज हुने हुँदा विदेशी ब्राण्डकै कारण अन्तर्राष्ट्रिय बजारमा नेपालको उपस्थिति दरिलो बन्ने होटल संघ नेपाल (हान)को भनाइ छ ।

भारतीय ब्राण्डको पाँचतारे होटल लेमन ट्री प्रीमियर बूढानीलकण्ठ आगामी ५ मार्चमा उद्घाटनको तयारी भइरहेको छ । बूढानीलकण्ठ हेरिटेज होटल अब सञ्चालनमा आउँदा लेमन ट्री प्रीमियर बूढानीलकण्ठ हुने भएको छ । यो होटल सञ्चालनमा आएपछि मात्रै स्तर वर्गीकरण हुने भए पनि सबै सेवा र सुविधा पाँचतारे स्तरकै बनाएको होटलले जानकारी दिएको छ । १०२ वटा कोठाको यो होटलले आवश्यक तयारी र तोकिएको मापदण्ड पूरा गरेकोले पाँचतारेमै वर्गीकरण हुने दाबी होटलको छ ।

आन्तरिक व्यवस्थापन तथा व्यवसाय प्रवर्द्धन गर्न होटलले भारतको चर्चित ब्राण्ड लेमन ट्री होटल्स लिमिटेडलाई भित्र्याएको जानकारी दिएको छ । लेमन ट्रीको ब्राण्डमा विश्वर डेढ सयभन्दा बढी होटल सञ्चालनमा छन् । अन्तर्राष्ट्रिय स्तरको सेवा र सुविधाका लागि नेपालको लागि नयाँ ब्राण्ड भित्र्याएको होटलले जानकारी दिएको छ ।

सञ्चालनको अन्तिम तयारीसँगै यो होटलले सर्वसाधारणको लागि प्राथमिक सेयर निष्कासन (आईपीओ) पनि जारी गर्दै छ । होटल बूढानीलकण्ठ हेरिटेजले १५ लाख कित्ता साधारण सेयर जारी गर्ने भएको छ । होटलले आईपीओ जारी गर्न ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रवन्धक समेत तोकिसकेको छ ।

पछिल्लो समय काठमाडौंको धुम्बाराहीमा रहेको अकामा होटलमा विश्वप्रसिद्ध अमेरिकी ब्राण्ड रमाडा भित्रिएको छ । त्यसो त यस अघि ठमेलको एक होटल र चितवनमा रमाडा भित्रिइसकेको छ ।

अकामा होटल सञ्चालनमा आएको चार वर्षपछि पाँचतारेमा स्तरोन्नती भएसँगै यसले अमेरिकी ब्राण्ड रमाडाको फ्रेन्चाइज लिएको छ । होटलको सम्पूर्ण म्यानेजमेन्टसहित ब्राण्डका लागि १७ माघमा रमाडा वाई वाइनहेमसँग व्यावसायिक सम्झौता गरेको छ । यो सम्झौतासँगै अब यो होटल रमाडा ब्राण्डमा सञ्चालन हुने भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको पर्यटन तथा हवाई समितिको सभापति देशबन्धु बस्नेतले निर्माण गरिरहेको काठमाडौं र इटहरिको दुइवटा होटलमा पनि विदेशी ब्राण्ड भित्रिँदै छ । काठमाडौंको मेट्रोपोलिटियन होटलमा फ्रान्सेली व्यवस्थापन समूह एकोरले व्यवस्थापन सम्हाल्ने गरी सम्झौता भइसकेको छ । ११५ कोठाको यो होटल एकोरले मर्क्युअर होटेलको नामबाट सञ्चालन गर्ने भएको छ । विभिन्न देशमा ५ हजारभन्दा बढी होटल व्यवस्थापन गरिरहेको यो समूहले काठमाडौंमा निर्माणाधीन द मेट्रोपोलिटन होटलको व्यवस्थापन हेर्ने भएको छ ।

पूर्वको इटहरीमा ग्राण्ड सेन्ट्रल होटल बस्नेतले नै निर्माण गरिरहेका छन् । यो होटलमा अमेरिकी चेन होटल विंडहाम होटल्स एण्ड रिसोर्ट्स सञ्चालनमा आउँदै छ । विंडहाम होटल्स एण्ड रिसोर्ट्ले विभिन्न ९५ देशमा करिब ९ हजार होटलको व्यवस्थापन गरिसकेको छ । ‘विंडहाम होटल बाइ रमाडा’को फ्रेन्चाइजी लिने विषयमा होटलले सम्झौतामा गरिसकेको छ । ८० वटा कोठाको यो होटल सन् २०२४ भित्रै सञ्चालनमा आउने गरी तयारी भएको बस्नेतले बताए ।

विश्व नै एउटा समूदाय भएको र नेपाल पनि सोही समूदायभित्र पर्ने भएकोले विदेशी ब्राण्डसँग आवद्ध भएर नेपालमा अन्तर्राष्ट्रिय स्तरको होटल सञ्चालन गर्न लागिएको बस्नेतले जानकारी दिए । ‘नेपालमा गुणस्तरी पर्यटक भित्र्याउन र विदेशमा चिनिएका ठूला ब्राण्ड नेपालमा पनि छ भनेर सकारात्मक सन्देश दिन सकिन्छ । जसले गर्दा नेपालको प्रचारमा सहजै हुन्छ भने व्यवसायिक वातावरण पनि बन्छ’ उनले भने ।

गुड कर्मा ग्रुप अफ कम्पनीले काठमाडौैंको महाराजगञ्जमा अपार्टमेन्टसहितको पाँच तारे होटल ले मेरिडियन निर्माण निर्माण हुँदै छ । अपार्टमेन्ट पहिले र त्यसपछि होटल बनाउने योजना सार्वजनिक गरेको ग्रुपले बनाउने होटलको क्षमता १७० कोठाको हुने छ ।

सन् २०२७ बाट सञ्चालन गर्ने गरी तयारी गरिरहेको यो होटल अमेरिकी चेनमा सञ्चालन गर्ने घोषणा ग्रुपका अध्यक्ष कर्मा तेन्जिङले गरिसकेका छन् ।

अमेरिकी दूतावास नजिकै निर्माण गर्न लागिएको यो होटल पाँच तारे डिलक्स होटलका रुपमा सञ्चालन हुने गरी आवश्यक शर्त पूरा गर्ने काम भइरहेको होटल निर्माण ग्रुपको भनाइ छ । रेष्टुराँ, मनोरञ्जन क्षेत्रलगायतका क्षेत्रमा लगानी गरिरहेको कर्मा ग्रुपले होटल मेरियडिन निर्माण गर्न लागेको हो ।

कमलादीमा निर्माण भइरहेको मोक्सी म्यारियट पनि नेपालमा यस अघि भित्रिइसकेको दुईवटा म्यारियटकै चेन होटल हो । चार तारेसम्मको यो होटलमा १०० वटा कोठा हुने भएका छन् । सन् २०२५ को अगस्टसम्ममा शुभारम्भ गर्ने तयारी भइरहेको होटल युवापुस्तालाई लक्षित गरेर बनिरहेको छ ।

नेपालमा आएको ब्राण्डले देशकै गुणस्तर बढ्ने भएकोले पनि एकपछि अर्को विदेशी ब्राण्डमा होटल भित्र्याइहेको म्यारियटको भनाइ छ । ब्राण्डप्रति नै ग्राहकको विश्वास हुने भएको र अन्तर्राष्ट्रिय स्तरमा चिनाउन पनि चेन आवश्यक पर्ने होटलका एक सञ्चालकले बताए ।

नेपालमा पछिल्लो समय होटल चेन बढ्दै जानुलाई लगानीको अवसर भएको र संभावनाको गन्तव्य भनेर चिनिन सहज भएको होटल संघ नेपाल (हान)का महासचिव साजन शाक्यले बताए । ‘सरकारले नेपालमा पर्यटकीय वातावरण बनाइदिने हो भने निजी क्षेत्रमा भएका अहिलेकै होटलको संरचनामा विदेशी ब्राण्ड थपिँदै जान्छन् । जसले गर्दा नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन पनि सहज हुने छ’ उनले भने ।

सञ्चालनमा रहेका बाहेक निर्माणाधीन होटलले विदेशी चेन भित्र्याउने सम्झौता गरिसकेका छन् । सम्झौता गरिसकेका र निर्माणाधीन होटलसहित १८ वटा होटलमा विदेशी ब्राण्ड भित्रिएका छन् । यसमध्ये सञ्चालनमा रहेका, सञ्चालनको तयारीमा रहेका र निर्माणधीन होटल सबैले पर्यटन विभागले तोकिएको मापदण्ड पूरा गरेपछि मात्रै तारा वर्गीकरण हुन्छ ।


क्लिकमान्डु