नेपालका तयारी पोशाक व्यवसायीले अमेरिकाको सोर्सिङ एट म्याजिकमा सहभागिता जनाउने



काठमाडौं । नेपालका तयारी पोशाक व्यवसायीहरुले संयुक्त राज्य अमेरिकाको लास भेगासमा हुने सोर्सिङ एट म्याजिक-२०२४ मा सहभागिता जनाउने भएका छन् ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर नेपाल तयारी पोशाक उद्योग संघले यसबारेमा जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पशुपतिदेव पाण्डेले हरेक वर्ष नेपालले मेलामा सहभागिता जनाउँदै आएको र यस वर्ष पनि सहभागिता जनाउन शुक्रबार अमेरिकातर्फ प्रस्थान गर्ने बताए ।

सहभागिता जनाउनका लागि सरकारले २५ लाख रुपैयाँ दिएको र सो रकम स्टलका लागि मात्रै खर्च गर्न पाउने प्रावधान रहेको उनले बताए ।

मेलामा सहभागी हुन ६ सदस्यीय टोली अमेरिका जाने उनले जानकारी दिए । पशुपतिदेव पाण्डेको नेतृत्वमा रहेको टिममा वसन्तराज अधिकारी, थोमनाथ बस्याल, शिव भट्ट, सुरेशमान श्रेष्ठ र गणेशराज पाण्डे छन् । उनले सहभागिताका लागि स्टल भाडाबापत ३४ हजार ७५० डलर पठाएको बताए ।

उनीहरुले नेपाल तयारी पोशाक उद्योग संघसंग आवद्ध सदस्य उद्योगीहरुले सञ्चालन गर्न नसकेका रुग्ण उद्योगलाई पुनः सञ्चालन गर्न चाहेमा त्यस्ता उद्योगलाई नेपाल सरकारले रुग्ण उद्योग सरहको मान्यता दिई तदनुरुप सेवा, सुविधा प्रदान गरिनुपर्ने माग गरेका छन् ।


क्लिकमान्डु