सीआईबीबाट छुटेपछि सिधै नर्भिक अस्पताल भर्ना भए उद्योगी अरुण चौधरी



काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ परेर बुधबार हाजिर जमानीमा छुटेका उद्योगी अरुण चौधरी फेरि अस्पताल भर्ना भएका छन् ।

बिहीबार पक्राउ परेसँगै चिरायु अस्पताल भर्ना भएका चौधरी शुक्रबार ग्राण्डी अस्पताल भर्ना भएका थिए । सोमबार जिल्ला अदालत काठमाडौंले दुई दिनभित्र अनुसन्धान नसकिए थुनाबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएपछि उनी बुधबार हिरासतमुक्त भए । हिरासतमुक्त भए लगत्तै चौधरी थापाथलिस्थित नर्भिक अस्पताल भर्ना भएका छन् ।

‘सीआईबीबाट छुटेपछि उहाँ सिधै हाम्रो अस्पतालमा भर्ना हुनु भएको छ’ नर्भिक अस्पताल स्रोतले भन्यो, ‘अत्यधिक तनावका कारण उहाँमा एन्जाइटी, उच्च रक्तचाप लगायतका समस्या देखिएको छ । केही दिन अस्पतालमै राख्न चिकित्सकले सल्लाह दिएका छन् ।’

नर्भिक अरुणका माइला दाइ वसन्त चौधरीको अस्पताल हो ।

गत बिहीबार च्याम्पियन फुटवेयर लिमिटेडका सञ्चालकसमेत रहेका उद्योगी अरुण चौधरी, च्याम्पियन फुटवेयर लिमिटेडका सञ्चालक सञ्जय ठाकुर र बाँसवारी छाला तथा जुत्ता कारखानाका पूर्वअध्यक्ष अजितनारायण थापालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको थियो ।

अदालतले पहिलो पटक चार दिनको म्याद दिएको थियो । यस अवधिमा अनुसन्धान नसकिएको भन्दै सीआईबीले सोमबार फेरि थप म्याद मागेको थियो । तर अदालतले दुई दिनभन्दा बढी हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति नदिएपछि उनीहरु आज छुटेका हुन् ।

अदालतले उनीहरुलाई अनुसन्धानको कार्यमा सहयोग गर्नको लागि कागज गराई हाजिर जमानीमा छाडि बाँकी अनुसन्धानको कार्य पूरा गर्न आदेश दिएको छ ।


क्लिकमान्डु