१ अर्ब ७२ करोड रुपैयाँ तिरे इच्छाराज तामाङले आगामी दशैं जेल बाहिर मनाउन पाउने



काठमाडौं । लगातार ३ वटा दशैं जेलभित्र बिताएका अर्बपति व्यवसायी इच्छाराज तामाङले आगामी दशैं जेलबाहिर बनाउन पाउने भएका छन् । तर, तामाङले त्यसका लागि १ अर्ब ७२ करोड रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

तामाङले सम्पत्ति सुद्धीकरण गरेको भन्दै विशेष अदातले आइतबार ३ वर्ष कैद र १ अर्ब ७२ करोड रुपैयाँ जरिवाना तिराउने फैसला गरेको छ । २०७८ साल असोज १७ गते अर्थात् दशैंको मुखमा पक्राउ परेका तामाङले ०७८, ०७९ र ०८० सालको दशैं जेलमै बिताए ।

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार तामाङ जेल परेकै मितिबाट सजाय गणना हुन्छ । जसअनुसार उनले यसअघि नै २ वर्ष ५ महिना हिरासतमा बिताएकाले अब ७ महिना जेल बसेपछि निस्कन सक्छन् । तर, जपरवाना भने तिर्नुपर्छ । जरिवाना नतिरेको अवस्थामा मात्रै थप समय जेल बस्नुपर्छ ।

एमालेका तर्फबाट सांसदसमेत बनिसकेका तामाङले सहकारीका बचतकर्ताको ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३९७ रुपैयाँ ठगी गरेको दाबी सहित अदालतमा यसअघि नै मुद्दा दायर भएको छ ।


क्लिकमान्डु