कुलमानले लाइन काटेरै छाड्ने बताएपछि ३ बजे प्रधानमन्त्री भेट्दै उद्योगी



काठमाडौं । डेडिकेटेड ट्रंक लाइन विवादका सम्बन्धमा आज (शुक्रबार) ३ बजे उद्योगीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्ने भएका छन् ।

नेपाल विद्युत् प्राधिकरणले ९ वटा उद्योगको लाइन काटिसकेको कारण थप उद्योगको लाइन नकाट्न र महशुल विवादमा सहजीकरण गरिदिन आग्रह गर्दै उद्योगीले प्रधानमन्त्रीसँग भेट गर्न लागेका हुन् । उद्योगीहरुलाई बिहीबार दिउँसो २ बजे प्रधानमन्त्रीसँग भेट्ने कार्यक्रम तय भएको भए पनि हुन सकेको थिए ।

डेडिकेटेड र ट्रंक लाइनबाट लिइएको बिजुलीको शुल्क उद्योगीले तिर्न बाँकी रहेको र सो रकम नतिरेको भन्दै प्रधानमन्त्री दाहालकै निर्देशनमा प्राधिरणले उद्योगको लाइन काट्न सुरु गरिसकेको छ ।

यसैबीच विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार पत्रकार सम्मेलन गर्दै रकम नतिर्ने बाँकी उद्योगीको लाइन काटेने चेतावनी दिएका छन् ।

प्राधिकरणको दाबी अनुसार विभिन्न ६१ वटा उद्योगले करिब २२ अर्ब रुपैयाँको हाराहारीमा रकम तिर्न बाँकी छ ।

उद्योगीहरुले भने आफूहरुले प्रयोग नै नगरेको बिजुलीको विल प्राधिकरणले पठाएको भन्दै विल अस्वीकार गर्दै आएका छन् । उद्योगीहरुले प्राधिकरणले टीओडी मिटरको तथ्यांक देखाएर प्रयोग गरेको प्रमाण दिनसके मात्रै बिल तिर्ने बताउँदै आएका छन्।

अहिलेसम्म प्राधिकरणले टीओडी मिटरको तथ्यांक देखाउन सकेको छैन भने प्राधिकरण प्रमुख कुलमानले त्यसको गोलमटोल जवाफ दिएका थिए ।

‘१ वर्षभन्दा लामो समयसम्म टिओडी मिटरको तथ्यांक हुँदैन, हामीले टिओडी मिटरबाट डाउनलोड गरेको तथ्यांकका आधारमा बिल जारी गरेका हौं,’ घिसिङले भने, ‘उद्योगीसँग नै टिओडी मिटरको तथ्यांक हुन्छ । उहाँहरुले पनि देखाउन सक्नुहुन्छ ।’

उद्योगीले मागेको टिओडी मिटरको तथ्यांक दिन नसकेपछि कुलमानले अर्को तर्क अघि सारे ।

हामीले प्रमाणका आधारमा । बिल काटेका हौं, सबैको टिओडी मिटर डाउनलोड नभएको पनि हुनसक्छ थर टिओडी मिटर पनि सबै कुरा होइन,’ उनले भने, ‘एम पावरमा तथ्यांक र लगबुक पनि हामीसँग सुरक्षित छन्, त्यो पनि प्रमाण हो ।’ टिओडी मिटरको तथ्यांक नभएपनि प्राधिकरणसँग एम पावरमा तथ्यांक र लगबुक भएको र उक्त लगबुकका आधारमा पनि उद्योगीहरुले लोडसेडिङको समयमा विजुली प्रयोग गरेको पुष्टि हुने घिसिङको दाबी थियो ।

उद्योगीहरुले सत्ता साझेदारसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर गुनासो गरिसकेका छन् । दुई नेताले समस्या समाधान गर्ने आश्वासन उद्योगीलाई दिएका छन् ।


क्लिकमान्डु