प्राधिकरणले टीओडी रेकर्ड सार्वजनिक गरेर फर्जी बिल काटेको आरोप खण्डन गर्नुपर्छ: शर्मा



काठमाडौं । पूर्वउर्जामन्त्री समेत रहेका नेकपा माओवादीका नेता जनार्दन शर्माले नेपाल विद्युत प्राधिकरणले फर्जी बिल काटेको आरोपको खण्डन गर्न सक्नुपर्ने बताएका छन् ।

उद्योगी व्यवसायीहरुले ट्रंक र डेडिकेटेड लाइनको नाममा प्राधिकरणले फर्जी बिल काटेको आरोप लगाइरहेका छन् ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत पूर्वउर्जा मन्त्री शर्माले टाइम अफ द डे(टीओडी) मिटरमा भएको रेकर्ड सार्वजनिक गर्दै प्राधिकरणले फर्जी बिल काटेको आरोपको खण्डन गर्नुपर्ने बताएका हुन् ।

‘प्रयोग गरेको बिजुलीको बिल तिर्नुपर्छ, प्रयोग नगरेको तिर्नुपर्दैन, ‘ शर्माले लेखेका छन्, ‘प्राधिकरणले फर्जी बिल काटेको भन्ने आरोपको खण्डन गर्न सक्नुपर्छ । टीओडी मिटरमा रेकर्ड सार्वजनिक गर्नुपर्छ ।’

शर्माले टीओडी मिटरको रेकर्ड सार्वजनिक गर्न नसके प्राधिकरणले दाबी गर्दै आएको वक्यौता झुटो हुने उल्लेख गरेका छन् । उनले नभएको बिल बनाइ, नभएको आम्दानीको आत्मरतिमा रमाउनु गलत भएको बताए ।

देशलाई औद्योगिकीकरण गर्दै विद्युत खपत बढाउने काम गर्नुपर्ने बेला, उद्योगमा बिद्युत लाइन काट्ने निर्णय ठीक कि बेठीक भनेर बहस चल्नु दुर्भाग्यपूर्ण भएको उनको भनाइ छ ।

‘उद्योगको लाइन काटेर महिनौंसम्म छलफल, बहस,अड्डा अदालत गरेर उद्योग बन्द गर्ने/गराउने कार्यले निकासी भइरहेका सिमेन्ट, जस्तापाता लगायतका सामग्रीको उत्पादन बन्द हुदाँ उद्योगीलाई मात्र हैन देशलाई नै घाटा हुन्छ,’ शर्माले लेखेका छन्, ‘तत्काल टीओडी मिटरको रेकर्ड सार्वजनिक गरियोस् , त्यसले नै तिर्नु पर्ने र नपर्ने कुराको छिनोफानो गर्छ ।’

तत्कालीन उर्जामन्त्री शर्माको पालामा नेपाल विद्युत प्राधिकरणको प्रवन्ध निर्देशकमा कुलमान घिसिङ नियुक्त भएका थिए ।


क्लिकमान्डु