दुर्गा प्रसाईंको कार्यक्रममा आएका महिलालाई मध्यराति होटलबाट लखेट्ने राई को हुन् ?



काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको अभियानले मंसिर ७ गते आयोजना गरेको काठमाडौं केन्द्रित प्रदर्शनका लागि उपत्यका बाहिरबाट आएका महिलाहरुलाई होटलबाट लखेट्ने व्यक्ति युवा संघका सचिवालय सदस्य विनोद राई नेतृत्वको समूह भएको पाइएको छ ।

सुत्ने तयारीमा रहेका महिलालाई प्रसाईंको भेलामा सहभागी हुन आएको भन्दै लेखेटिएको भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि युवा संघको चर्को आलोचना भइरहेको छ ।

राईको नेतृत्वमा गएको समूहले लोकन्थलीको इन्द्रसार पार्टी प्यालेसमा सुतिरहेका महिलाहरूमाथि दुर्व्यवहार गरेको थियो ।

जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले महिलाहरूलाई पार्टी प्यालेसबाट निकाल्नेहरूको खोजी भइरहेको बताए ।

युवा संघका अध्यक्ष क्षितिज थेवेले भने घटनाबारे आफूलाई प्रहरीले फोन गरेपछि मात्र थाहा भएको दाबी गरेका छन् । घटनामा आफ्नो संगठनको कोही संलग्न भएको भए कारबाही गर्ने उनको भनाइ छ । आफूहरुलाई बदनाम गराउन सामाजिक सञ्जालमा भिडिओ आएको पनि हुन सक्ने उनको तर्क छ ।

‘दुर्गे प्रसादलाई फोन गर्नु त युवा संघले लघार्‍यो भनेर’ भन्दै सुत्ने तयारीमा रहेकालाई राई नेतृत्वको समूहले लखेटेको थियो ।

राई केही समय अघि प्रसाईंलाई काठमाडौंको एलो प्यागोडा होटलमा कालो मोसो दल्ने मध्येका एक हुन् ।

‘तपाईं ७ गतेको कार्यक्रममा आउनुभएको हो, हेलो दिदीहरु ?’ भन्दै भनेको भिडियोमा सुन्न सकिन्छ भने जवाफमा महिलाले, ‘हामी जान्छौं हो जान्छौं । लुगालगाउन दिनुन’ भनेको सुन्न सकिन्छ ।

महिलाहरु इटहरीबाट आएको भिडियोमा सुन्न सकिन्छ ।

‘देखाइदिन्छौं भन्दै आएको होइन ? देखाइदिन्छौं काठमान्डौंबाट हाम्रो ठाउँमा’ भन्दै युवा संघका कार्यकर्ताले धम्की दिएका थिए।

मध्यरातमा होटलमा सुत्ने तयारीमा रहेका प्रसाईं समर्थकलाई युवा संघका कार्यकर्ताले लखेटेपछि त्यसको सर्वत्र आलोचना भइरहेको छ । कतिपय एमालेका कार्यकर्ताहरुले समेत युवा संघको यस्तो हर्कतको सामाजिक सञ्जालमार्फत बिरोध गरिरहेका छन् ।

लोकतन्त्रमा बिरोध गर्न पाउने तथा शान्तिपूर्ण रुपमा भेला हुन पाउने अधिकारको हनन गर्न खोजिएको भन्दै एमाले नेता महेश बस्नेत र युवा संघको आलोचना भइरहेको हो ।

प्रसाईं नेतृत्वको अभियान र युवा संघ दुवैले ७ गते राजधानीमा प्रदर्शनको आयोजना गरेका छन् । युवा संघले तीनकुने र प्रसाईंले बल्खुमा कार्यक्रम गर्दै छन् ।


क्लिकमान्डु