म्युचुअल फन्डलाई आईपीओ बाँडफाँट भएको ६ महिनासम्म बिक्री गर्न प्रतिबन्ध



काठमाडौं । नेपाल धितोपत्र बोर्डले म्युचुअल फन्डलाई आईपीओ बाँडफाँट भएको ६ महिनासम्म बिक्री गर्न प्रतिबन्ध लगाएको छ ।

बोर्डको नियमन विभागले सोमबार म्युचुअल फन्डलाई आईपीओ बाँडफाँट भएको ६ महिनासम्म बिक्रीमा प्रतिबन्ध लगाउन सीडीएस एन्ड क्लियरिङ तथा सम्पूणर् योजना व्यवस्थापकलाई निर्देशन दिएको हो ।

‘सामूहिक लगानी कोषले खरिद गरेको धितोपत्र संगठित संस्थाले सर्वसाधारणलाई सार्वजनिक निष्कासन बाँडफाँट भएको मितिले ६ महिना पूरा नभएसम्म बिक्री वा हस्तान्तरण गर्न पाउने छैन,’ निर्देशनमा भनिएको छ ।

सामूहिक लगानी कोष नियमावली २०६७ अनुसार संगठित संस्थाको सार्वजनिक निष्कासन गरिने धितोपत्रको कम्तीमा ५ प्रतिशत धितोपत्र सामूहिक लगानी कोषका लागि छुट्याउनुपर्ने व्यवस्था छ ।

यसरी प्राप्त गरेको सेयर सामूहिक लगानी कोषहरुले दोस्रो बजारमा कारोबार भएकै मितिदेखि बेच्ने गरेका थिए । बोर्डको निर्देशन धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा ८७ बमोजिम कात्तिक २१ गतेबाटै लागू हुनेछ ।

यसरी खरिद गरेको धितोपत्र बाँडफाँट भएको मितिले ६ महिनाभित्र नै योजनाको निर्धारित समयावधि समाप्त हुने वा योजना खारेज हुने अवस्थामा उक्त अवधिभित्र सामूहिक लगानी कोषको स्वामित्वमा रहेको धितोपत्र बिक्री वा हस्तान्तरण गर्न बाधा नपुग्ने बोर्डको निर्देशनमा उल्लेख छ ।


क्लिकमान्डु