ओलीले शिलान्यास गरेको सुरुङ मार्गको शिलालेख खोजेर राखिने

1.4k
Shares

काठमाडौं । नेपालकै पहिलो अत्याधुनिक सडक सुरुङमार्ग ‘नागढुंगा–सिस्नेखोला’ को सोमबार औपचारिक उद्घाटन गरिएको छ ।

पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नेपालका लागि जापानी राजदूत मायदा तोरु र जाइका का अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा सुरुङमार्गको उद्घाटन गरेका हुन् ।

काठमाडौं र धादिङलाई जोड्ने यो सुरुङमार्ग करिब २९ अर्ब रुपैयाँको लगानीमा निर्माण भएको हो । शिलान्यास भएको ७ वर्षपछि यो आयोजना सञ्चालनमा आएको हो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लम्सालले सुरुङमार्ग शिलान्यासका क्रममा राखिएको र हाल गायब पारिएको भनिएको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नाम अंकित शिलालेख खोजेर पुनःस्थापना गर्ने प्रतिबद्धता जनाए ।

२०७६ साल कात्तिक ४ गते ओलीले नै यस सुरुङमार्गको शिलान्यास गरेका थिए । उक्त शिलालेख तोडफोड गरी हराएको भन्दै भइरहेको विरोधप्रति लक्षित गर्दै मन्त्रीले यस्तो बताएका हुन् ।

नागढुंगा सुरुङमार्गको सम्भाव्यता अध्ययन २०६६/६७ मा तत्कालीन प्रधानमन्त्री झलनाथ खनाल र डा. बाबुराम भट्टराईको पालामा सुरु भएको थियो । २०७६ मा केपी शर्मा ओलीले शिलान्यास गरेपछि निर्माण अघि बढेको यस आयोजनाको मुख्य सुरुङको ‘ब्रेक थ्रु’ भने २०८१ असार ३ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेका थिए । अहिले बालेन प्रधानमन्त्री रहेका बेला यसको औपचारिक उद्घाटन गरिएको हो ।

मन्त्री लम्सालले यो सुरुङमार्गले नेपाललाई ‘टनेल युग’ मा प्रवेश गराएको बताउँदै अब देशैभर यस्ता पूर्वाधार निर्माण हुने उल्लेख गरे ।

जापान सरकारको जाइकाबाट प्राप्त ०.०१ प्रतिशत सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण गरिएको यस सुरुङमार्गको मुख्य टनेलको लम्बाइ २.६८८ किलोमिटर र आपतकालीन (रेस्क्यु) टनेलको लम्बाइ २.५५७ किलोमिटर रहेको छ । सुरुमा २२ अर्ब लागत अनुमान गरिए पनि कोभिड–१९ र मुआब्जा विवादका कारण निर्माणमा ढिलाइ हुँदा लागत बढेर करिब २९ अर्ब पुगेको हो । यसको निर्माण ठेक्का जापानको हाज्मा आन्दो कर्पोरेसनले लिएको थियो ।

सुरुङमार्गमा तत्कालका लागि आपतकालीन सवारीसाधन मात्र चल्नेछन् । त्यसपछि चरणबद्ध रूपमा निजी र सार्वजनिक सवारीलाई अनुमति दिइनेछ । यद्यपि, पैदलयात्री, दुई पाङ्ग्रे सवारी र प्रज्वलनशील पदार्थ बोकेका ट्याङ्करहरूलाई सुरुङभित्र प्रवेश निषेध गरिएको छ ।