घाटामा रहेको रिपब्लिक मिडियाको सेयरमा सकारात्मक सर्किट, पहिलो दिन नै बाहिरिए म्युचुअल फन्ड



काठमाडौं । निकै चर्चामा रहेको नेपाल रिपब्लिक मिडियाको सेयर दोस्रो बजारमा कारोबार सुरु भएको दिनदेखि नै म्युचुअल फन्ड सेयर बेचेर बाहिरिन थालेका छन् । सेयर निष्कासन भएर दोस्रो बजारमा कारोबार सुरु भएको कम्पनीबाट पहिलो दिन नै म्युचुअल फन्ड बाहिरिन थालेका हुन् ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेले कम्पनीको ओपनिङ रेन्ज प्रतिकित्ता १८४ रुपैयाँ ४७ पैसा देखि २५३ रुपैयाँ ४१ पैसासम्म दिएको थियो । पहिलो कारोबार प्रतिकित्ता २५० रुपैयाँ ४० पैसाबाट सुरु भयो ।

कारोबारको पहिलो दिन नै कम्पनीको सेयर सकारात्मक सर्किट तहमा कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता २५ रुपैयाँले बढेको छ । यस दिन सेयर मूल्य ९.९८ प्रतिशतले बढेको हो ।  अन्तिम समयमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता २७५ रुपैयाँ ४० पैसा पुगेको छ ।

पहिलो दिन ६२ हजार ३३ कित्ता सेयर १ करोड ७० लाख ७४ हजार ३०८ रुपैयाँमा कारोबार भएको छ । पहिलो कारोबारमा नै म्युचुअल फन्डहरुले ५ हजार कित्तासम्म सेयर बिक्री गरेका छन् । ५९ नम्बर ब्रोकरबाट पटक-पटक गरी ४९० कित्ता, १०० कित्ता, १०० कित्ता, २५ सय कित्ता, ५०० कित्ता, ५ हजार कित्ता, ५ हजार कित्ता र ११६५ कित्ता सेयर प्रतिकित्ता २७५ रुपैयाँ ४० पैसाका दरले किनबेच भएको छ ।

यस्तै ३८ नम्बरबाट ३०२० कित्ता, १५०० कित्ता, ५०० कित्ता, १५०० कित्ता, १२२० कित्ता, २ हजार कित्ता र एक हजार कित्ता सेयर किनबेच भएको छ । म्युचुअल फन्डहरुले पटक-पटक गरी एकै केही ब्रोकरबाट ठूलो कित्ता करोबार गरेका छन् । पहिलो कारोबारबाट नै कतिपय म्युचुअल फन्ड सेयर बिक्री गरेर बाहिरिन थालेको तथ्यले देखाएको छ ।

कम्पनीले सामूहिक लगानी कोषका लागि २ लाख १७ हजार ६५० कित्ता सेयर छुट्याएको थियो ।  कम्पनीको ९६ लाख ७५ हजार कित्ता सेयर बिहीबार नेप्सेमा सूचीकृत भएको थियो ।

रिपब्लिक मिडिया आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासमा ४७ करोड २४ लाख १० हजार ७५२ रुपैयाँ नोक्सानमा छ । आव २०७९/८० को असार मसान्तसम्म कम्पनी नाफामा जाने सम्भावना छैन । नोक्सान भने केही घटाएर ४६ करोड ३५ लाख ५८ हजार ९२१ रुपैयाँ हुने कम्पनीको प्रक्षेपण छ ।

आगामी २ वर्षसम्म पनि कम्पनी नाफामा नजाने देखिन्छ । कम्पनीले गरेको प्रक्षेपण हेर्ने हो भने आगामी आर्थिक वर्ष २०८०/८१ मा ४० करोड ९९ लाख ४ हजार ४९१ रुपैयाँ नोक्सानीमा रहनेछ भने आव २०८१/८२ मा ३१ करोड ६४ लाख ४७ हजार ७८४ रुपैयाँ नोक्सानमा रहने प्रक्षेपण गरिएको छ ।

यस्तै कम्पनीको प्रतिसेयर आम्दानी पनि चालू आवको चैत मसान्तसम्ममा ७ रुपैयाँ २२ पैसा छ । आवको अन्त्यसम्ममा १ रुपैयाँ २२ पैसा हुने प्रक्षेपण गरिएको छ ।

यस्तै आव २०८०/८१ मा ५ रुपैयाँ ५५ पैसा र आव २०८१/८२ मा ९ रुपैयाँ ६६ पैसा हुने प्रक्षेपण छ । अहिले प्रतिकित्ता १०० रुपैयाँ लगानी गरेको कम्पनीबाट आव २०८१/८२ मा ९ रुपैयाँ ६६ पैसा आम्दानी हुने देखिन्छ ।

यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ चालू आवको चैत मसान्तसम्म ८६ रुपैयाँ १३ पैसा छ । आवको अन्तिमसम्ममा ९९ रुपैयाँ ७६ पैसा पुग्ने प्रक्षेपण छ । यस्तै आव २०८०/८१ मा १०७ रुपैयाँ ९४ पैसा र आव २०८१/८२ मा १२० रुपैयाँ ४१ पैसा रहने प्रक्षेपण गरिएको छ ।


क्लिकमान्डु