तारा एयरका वरिष्ठ क्याप्टेन शाहले दिए प्रहरीमा उजुरी



रामेछाप । तारा एयरका वरिष्ठ क्याप्टेन सन्तोष शाहले आफूमाथि हातपात गर्ने सोही एयरका क्याप्टेन सञ्जीव श्रेष्ठमाथि कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय रामेछापमा निवेदन दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक (डिएसपी) होमबहादुर पराजुलीलेले शुक्रबार बिहान शाहले उजुरी दिएको बताए ।

‘आफूमाथि कुटपिट भएको भन्दै निवेदन दर्ता गर्न आउनुभएको थियो, क्याप्टेन श्रेष्ठलाई फोन गरेर सोध्दा उहाँले म लुक्ला छु हाम्रो सामान्य विवाद भएको हो म त्यहीँ आएर छलफल गरौँला भन्नुभएको थियो’, डिएसपी पराजुलीले भने । उनले यस विषयमा अनुसन्धान गरिरहेको बताए ।

रामेछाप विमानस्थलमा दुई पाइलटबीच हात हालाहाल भएको छ । शुक्रबार बिहान काठमाडौँ कोटेश्वर निवासी तारा एयरका वरिष्ठ क्याप्टेन शाहलाई सोही एयरका क्याप्टेन श्रेष्ठले थप्पड हानी धकेलेका थिए ।

क्याप्टेन शाहले आफू बिहान ८ः३० बजे लुक्लाबाट रामेछापको मन्थली विमानस्थलमा आएको विमानबाट ओर्लिएको र क्याप्टेन सञ्जीव श्रेष्ठ लुक्ला उडानका लागि विमानस्थलमा रहेको जहाजतर्फ जाँदै हात मिलाउने क्रममा श्रेष्ठले थप्पड हानेको बताए ।

दुई पाइलटबीच के कारणले विवाद भएको हो भन्ने विषयमा आफूलाई जानकारी नभएको नागरिक उड्डयन प्राधिकरण रामेछापका प्रमुख अशोक थापाले बताए ।

उनका अनुसार घटनापछि क्याप्टेन शाह भएको विमान मन्थली विमानस्थलमा ग्राउण्डेड गरिएको छ भने लुक्ला पुगेका श्रेष्ठलाई पनि लुक्ला विमानस्थलमै ग्राउण्डेड गरिएको छ ।


क्लिकमान्डु