झगडिया पाइलटलाई उडान गर्न दिने विमानस्थल प्रमुख पनि निलम्बनमा



फाइल तस्बिर

काठमाडौं । झगडिया पाइलटलाई उडान गर्न अनुमति दिएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले रामेछाप विमानस्थल प्रमुख अशोक थापालाई समेत निलम्बन गरेको छ ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार दुई पाइलटबीच हात हालाहालको अवस्था आइसकेपछि तनावमा रहेका पाइलटबाट हवाई उड्डयनमै सुरक्षा चुनौती हुने गरी अनुमति दिइएको भन्दै थापालाई निलम्बन गरिएको हो ।

‘झगडिया पाइलट सञ्जीव श्रेष्ठलाई रामेछापबाट लुक्ला उडान गर्न किन दिइयो भन्ने विषयमा थप छानबिनका लागि निलम्बन गरिएको हो,’ उनले भने, ‘थापालाई पनि निलम्बन गरेर प्राधिकरणले शुक्रबार बिहान भएको दुई पाइलटको झगडाको विषयमा अनुसन्धान गरिरहेको छ ।’

तारा एयरका वरिष्ठ क्याप्टेन सञ्जीव श्रेष्ठ र सन्तोष साहबीच शुक्रबार बिहान रामेछाप विमानस्थलमा झगडा भएको थियो । झगडापछि प्राधिरकणले दुबै पाइलटको लाइसेन्स निलम्बन गरेर उडानमा रोक लगाएको छ । छानबिनपछि पाइलटद्वयको लाइसेन्स नै खारेज हुनसक्नेसम्मको कारबाही प्राधिकरणले गर्न सक्ने पनि सूचना अधिकारी भुलले बताए ।


क्लिकमान्डु