झगडिया दुबैलाई जहाज उडानमा रोक, रामेछाप विमानस्थलमा दुई पाइलटबीच हात हालाहाल



फाइल फाेटाे

काठमाडौं । रामेछाप विमानस्थलमा तारा एयरका दुई पाइलटबीच आपसी विवाद हुँदा हात हालाहाल भएको छ । शुक्रबार बिहान ८ बजे तारा एयरको काठमाडौंबाट लुक्ला हुँदै रामेछाप गएको र रामेछाप विमानस्थलमै रहेका दुई पालटबीच कुटाकुट भएको छ । तारा एयरको ट्वीनअटर जहाजका पाइलटबीच रामेछाप विमानस्थलमा युनिफर्ममै झगडा भएको हो ।

काठमाडौंबाट लुक्ला पुगेर रामेछाप पुगेका क्याप्टेन सन्तोष साह  रामेछापबाट लुक्ला जाने तयारी रहेको क्याप्टन सञ्जीव श्रेष्ठबीच कुटाकुट भएको हो । दुईजना बीचको झगडापछि श्रेष्ठले जहाज उडाएर लुक्ला पुर्याएका छन । साह भने रामेछापमै छन् ।

झगडिया दुबै पाइलटलाई नेपाल नागरिक उड्डयन प्राधिकरणको जहाज उडानमा रोक लगाएको छ भने दुबै पाइलटलाई स्पष्टिकरणसमेत सोधिएको रामेछाप विमानस्थल प्रमुख अशोक थापाले क्लिकमाण्डुसँग भने ।

एउटै कम्पनीका दुई पाइलटबीचको व्यक्तिगत कारणबाट भएकाे झगडापछि पनि भएकाे उडानले हवाई उड्डयन सुरक्षामा चुनौती दिएको छ । प्राधिकरणका सूचना अधिकारीका ज्ञानेन्द्र भुलले झगडिया ददुबै जना पाइलटको उडान अनुमति पत्र (लाइसेन्स) निलम्बन गरिएको बताए । दुबै जनाको विवादको विषयमा अनुसन्धान भइरहेको प्राधिकरणका सूचना अधिकारीका ज्ञानेन्द्र भुलले बताए ।

उनका अनुसार दुबै जना बरिष्ठ क्याप्टेनलाई हवाई उडान सुरक्षाको विषयमा जिम्मेवार बनाउन चालक अनुमतिपत्र निलम्बन गरेर छानबिन सुरु गरिएको छ । प्राधिकरणका अनुसार दुबै पाइलटको विस्तृत अनुसन्धानबाट लाइसेन्स खारेज गर्न र नियम बमोजिम थप कडा कारवाही पनि हुन सक्ने छ ।

प्राधिकरणका अनुसार दुबै जना क्याप्टेनको ड्युटी परिवर्तन हुने समय परेको थियो । ‘क्याप्टेन साह विमानस्थल भवनतर्फ आउँदै गर्दा अर्का क्याप्टेन श्रेष्ठ जहाजतर्फ जाँदै गर्दा साहले हात मिलाउन खोज्दा श्रेष्ठले बेवास्था गरेर थकेलिदिएपछि बिबाद भएको थियो । क्पाप्टेन श्रेष्ठको धकेलाइबाट साह लडेपछि विवाद भएको र दुबैबीच कुटाकुट भएको रामेछाप विमानस्थल कार्यालयले जानकारी दिएको छ ।


क्लिकमान्डु