‘आठ हिमाली जिल्लाको प्रतिबन्ध तत्काल खुला गर्नुपर्छ’



सगरमाथासहित सातै महादेशका अग्ला हिमाल आरोहण गरिसकेका वरिष्ठ पर्यटन व्यवसायी लाक्पा सोनाम शेर्पा नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष हुन् । थामसेर्कु ट्रेकिङका अध्यक्ष एवं यति एयरलाइन्सका कार्यकारी अध्यक्ष शेर्पाले सन् १९८७ मै प्राविधिक रुपमा अप्ठ्यारो ६६०८ मिटर अग्लो थामसेर्कु हिमाल आरोहण गरेका थिए । थामसेर्कु हिमालको सफल आरोहणपछि उनले सन् १९८८ मा आरोहणको सम्झनास्वरुप थामसेर्कु ट्रेकिङको स्थापन गरे । पर्यटन क्षेत्रमा शेर्पाले हासिल गरेको अनुभव, यो क्षेत्रका चुनौती र सम्भावनाका विषयमा उनीसँग गरिएको कुराकानीको सम्पादित अंश:

पर्यटनप्रति तपाईं कसरी आकर्षित हुनुभयो ?

५० वर्षअधि म सोलुखुम्बु जिल्लाको विकट गाउँबाट सिन्धुपाल्चोकको लामोसाँघु हुँदै सात दिन हिँडेर म काठमाडौं आएको हुँ । काठमाडौं आएपछि नै म पर्यटनप्रति आकर्षित भएँ । नेपालका सुन्दर दृश्यावलोकन गर्दै मैले आफ्नो करियर साहसिक ट्रेकिङ गाइडको रुपमा सुरु गरे । अनुभवसँगै पहाडहरुसँग मेरो प्रेम बस्दै जाँदा मैले आफूलाई गाइडको रुपमा परिवर्तन गर्दै गएँ । सन् १९८७ मा मैले प्राविधिक रुपमा अप्ठ्यारो ६६०८ मिटर अग्लो थामसेर्कु हिमाल आरोहण गरेँ । थामसेर्कु हिमाल सोलखुम्बुको हालको पासाङ ल्हामु गाउँपालिकामा पर्छ । थामसेर्कु हिमाल सबैभन्दा अग्लो हिमाल होइन तर प्राविधिक रुपमा भने आरोहण गर्न अप्ठ्यारो हिमाल हो । थामसेर्कु हिमालको सफल आरोहणपछि सन् १९८८ मा मैले आफ्नो आरोहणको सम्झनास्वरुप थामसेर्कु ट्रेकिङको स्थापन गरे ।

तपाईंको परिवारको कुनै सदस्य पहिला पर्यटन क्षेत्रमा थिए ?

मेरो बुबा गाउँमा किसान हुनुहुन्थ्यो । मेरो पुर्ख्यौली गाउँ सुन्दर हिमाल मिरा पिकको बाटोमा २८०० मिटरको उचाइमा पर्छ । सन् १९७२ मा मेरो जेठो दाजुको दु:खद निधनपछि मेरो परिवार पर्वतारोहण र पर्यटनप्रति प्रभावित भएको हो । गोर्खा जिल्लाको मनास्लु हिमाल आरोहण गर्ने क्रममा जेठो दाजुको निधन भएको थियो । दाजुसँगै हिमाल चढ्ने क्रममा १५ कोरियन र जापानी पर्वतारोहीको पनि हिमनदीमा परेर मुत्यु भएको थियो । मेरो गाउँका अधिकाश शेर्पाहरु आफ्नो संस्कृति तथा जीवनयापनका कारण पनि पर्वतारोहरणमा आबद्ध थिए ।

पर्यटन व्यवसाय सफल बनाउन के-कस्ता चुनौती सामाना गर्नुपर्‍यो ?

मेरो जस्तो दुर्गम गाउँबाट आएको साधारण मान्छेका लागि पर्यटन व्यवसायमा सफल हुनु भनेको चुनौतीपूर्ण यात्रा नै हो । वर्षौंसम्म पेसागत तथा व्यक्तिगत चुनौती सामना गरिरहनु नै पर्‍यो । तर, यी चुनौतीको एउटा सबल पक्ष के हो भने यसले कठिन व्यवस्थापन क्षमता पनि विकास गर्ने रहेछ । व्यवसाय सञ्चालनभन्दा पनि यस्ता चुनौतीले मेरा लागि बढी नै अप्ठ्यारो परिस्थिति सिर्जना गरे । सुरुका वर्षमा हामीले प्रशासनिक झन्झट तथा नियमकीय आवश्यकताको व्यवस्थापनमा नै धेरै समय खर्चिनुपर्‍यो ।

तर, म सधैं के विश्वास गर्छु भने समस्याको समाधान गर्नु जीवनको एउटा अभिन्न पक्ष हो । चुनौतीहरुले विकासका लागि अवसर सिर्जना गर्ने पाठ सिकाउँछन् । एउटा सानो पहाडी गाउँबाट आएका कारण चुनौती सामना गर्न र तिनबाट सिक्न अनि निरन्तर अघि बढ्न हामीलाई मद्दत नै हुन्छ । हाम्रो प्राथमिकता हिमाली क्षेत्र नै हो । आर्थिक विकासको एउटा प्रमुख चालक भएकाले हामी पर्यटन प्रवर्धनमा नै समर्पित छौं ।

तपाईंले सगरमाथासहित सबै महदेशका अग्ला हिमाल चढिसक्नुभएको छ । यी अग्ला हिमाल चढ्न के ले प्रोत्साहित गर्‍यो ?

सही हो । मैले पर्वतारोहणका क्रममा संसारको सबैभन्दा अग्लो शिखर सगरमाथासहित सातै महादेशका अग्ला शिखरमाथि विजय प्राप्त गरेँ । मभित्र रहेको पर्वतारोहणप्रतिको अविचलित लगाव नै यसको कारण हो । व्यवसायमा संलग्न भए पनि मभित्र सानैदेखि हिमालप्रति एकप्रकारको लगाव थियो । सन् २०१६ मा सुरु गरेर सन् २०२३ मा सकिएको मेरो सातै महादेशको अग्ला शिखर चड्ने चुनौती स्वीकार गर्न मभित्र रहेको साहसिक हिमाल आरोहणप्रतिको प्रेम अनि आउँदो युवापुस्तालाई प्रेरणा दिनुपर्छ भन्ने चाहना नै हो । युवामा साहस, आँट र दृढ इच्छाशक्ति जगाइरहन आवश्यक छ । यस्ता चुनौतीको सामना गरेर म आफ्नो कमफर्ट जोनबाट बाहिर निस्कँदै विजय हासिल गर्न सकिन्छ भन्ने प्रदर्शित गर्न चाहन्छु । साथै, साहसका साथ आफ्नो सपना पूरा गर्न सकिन्छ भन्ने पनि प्रमाणित गर्न चाहन्छु । भगवानको कृपाले म सफल पनि भएँ।

सफल व्यवसाय सञ्चालनका अलावा तपाईंले जीवनमा केही व्यक्तिगत घाटा पनि व्यहोर्नुभयो । त्यसलाई कसरी हेर्नुहुन्छ ?

यस्ता घटना दु:खद् घटना हाम्रा जीवनका अकाट्य सत्य हुन्, जुन हाम्रो नियन्त्रणमा हुँदैन । भाग्यले नै निर्धारण गर्छ । जीवनमा यस्ता दु:खद् घटनालाई स्वीकार्दै अगाडि बढ्नु पनि एक प्रकारको चुनौती हो । धेरैलाई थाहा छ, जीवनमा मैले धेरै यस्ता दु:खद् घटना व्यहोरेको छु । त्यसैले जीवन र मृत्यु, सुख र दु:ख जीवनको चक्र हो भन्ने बुझ्न आवश्यक छ । अस्तित्वको यो सबै खेललाई स्वीकारेर अघि बढ्नुको विकल्प छैन । दु:खद् विगतलाई सम्झिरहँदा अगाडि बढ्न सकिन्न । त्यसैले यसलाई स्वीकारे र पाठ सिक्दै जीवनमा अगाडि बढ्दै जाने हो ।

तपाईंको विचारमा सफलताका लागि के गुण आवश्यक छन् ?

पर्यटन र सेवा व्यवसायमा सफल हुन धेरै आधारभूत विशेषता र सिद्धान्त चाहिन्छन् । पहिलो र अत्यावश्यक चाहिँ इमानदारी हो। इमानदारीले विश्वासको जग बनाउँछ, जुन सफल व्यवसायको मूलमन्त्र हो । हामीले आफ्ना साझेदार र व्यावसायिक मित्र तथा ग्राहकसँग पारदर्शी तथा स्पष्ट व्यवहार गर्नुपर्छ । अर्को आवश्यक प्रमुख गुण कडा परिश्रम हो । पर्यटन क्षेत्रले निरन्तर समर्पण र लगानशीलता माग्दछ । कडा मेहनतले प्रगतिको ढोका खोल्छ । त्यसबाहेक मानिसलाई खुसी तुल्याउन महत्वपूर्ण हुन्छ । सेवा व्यवसायमा ग्राहकको सन्तुष्टि प्रमुख हो । ग्राहकलाई खुसी तुल्याउनु र उनीहरुको आवश्यकताको ख्याल राख्दा उनीहरुको हामीप्रतिको विश्वास बढ्छ र दीर्घकालीन सम्बन्ध विकास हुन्छ ।

अन्त्यमा, सामूहिकताको भावनामा जोड दिन चाहन्छु । पर्यटन क्षेत्रमा सफलता एक्लो प्रयासबाट सम्भव छैन, यो सहकार्य र सहभागितामूलक सामूहिक कर्म हो । उस्तै सोच विचार र लक्ष्य भएका व्यक्तिहरुको टिम निर्माण गर्नु महत्वपूर्ण हुन्छ । आफ्नो समूहका सबैलाई विश्वास गर्ने र क्षमता अभिवृद्धि गर्नु अर्को आवश्यकता हो । आफ्नो समूहका सदस्यहरुको क्षमतामा विश्वास गर्नु नै व्यवसाय विस्तारको सूत्र हो भन्ने मेरो अनुभव छ ।

तपाईं नेपाल पर्वतारोहण संघमा आबद्ध हुनुहुन्छ । तपाईंको आफ्नो विचारमा पर्वतारोहण संघ कस्तो हुनुपर्ने हो ?

हाल आफ्नो व्यावसायिक व्यस्तताले समय दिन नपाए पनि मैले मेरो जीवनको लामो समय संघको आबद्धतामा बिताएको छु । कुनै समय मैले कार्यकारी समिति सदस्यको हैसियतले काम गरेको भए पनि पोखरामा अन्तर्राष्ट्रिय माउन्टेन म्युजियम बनाउने कुरामा असहमति राख्दै राजीनामा दिएको थिएँ । मेरो भनाइ यस्तो म्युजियम पोखराको सट्टा काठमाडौंमा बनाउनुपर्छ भन्ने थियो । त्यो समयमा पोखरामा कमै पर्यटक जान्थे । रणनीतिक हिसाबले पनि यस्तो म्युजियम काठमाडौंमा बन्नुपर्छ भन्ने मेरो विचार थियो । त्यसबेला काठमाडौंको जग्गाको भाउ पनि सस्तो थियो ।

अघिल्लो कार्यसमितिले मलाई मुख्य सल्लाहकार बनाएको छ । यसबाट मलाई फेरि एकपटक संघमा योगदान दिने अवसर प्राप्त भएको छ । वर्तमान अध्यक्ष निमानुरु शेर्पाको कार्यसमितिले पनि फेरि मलाई मुख्य सल्लाहकारमा दोहोर्‍याएको छ । नयाँ नेतृत्वबाट मलाई धेरै आशा छ । मैले पनि मेरो तर्फबाट योगदान गर्ने नै छु । संघको बारेमा मेरा आफ्नै केही प्राथमिकता छन् । पहिलो, संघले आफ्नो क्षमता अझै प्रदर्शन गर्न बाँकी छ । किनकि यो अर्धसरकारी निकाय हो । संघलाई २७ वटा हिमालको रोयल्टी उठाउने अधिकार छ । उठेको रोयल्टीलाई अधिकतम सदुपयोग गर्ने विभिन्न क्षेत्रको पहिचान गर्न संघलाई अवसर छ । जसले गर्दा पर्वतारोहण समुदायको  देशकै विकासमा योगदान पुगोस् ।

त्यसबाहेक म पर्वतारोहण समुदायमा बृहत् सहकार्यको खाँचो पनि देख्छु । जसमा नेपाल पर्वतारोहण संघको छातामुनि अन्तर्राष्ट्रिय पर्वतारोहण गाइड एसोसिएसन, पर्वतारोहण गाइड इन्स्ट्रक्टर एसोसिएसन, ट्रेकिङ गाइड एसोसिएसनलगायतका धेरै संस्थाहरुको सहकार्य होस् । यी संस्थाहरुलाई नेतृत्व प्रदान गरेर र एकता कायम गरेर संघले उनीहरुका आवश्यकता तथा चासोलाई सम्बोधन गर्न सक्छ ।

अर्को ध्यान दिनुपर्ने क्षेत्र भनेको संघले दिने तालिमको विस्तार हो । हाल संघले आधारभूत तथा उच्च तालिम सञ्चालन गर्दै आइरहेको छ । यसको दायरा फराकिलो बनाउनु आवश्यक छ । ५०औं वार्षिकोत्सवको अवसरमा म संघलाई विद्यालय तथा कलेजलगायत वार्षिक ५० वटा तालिम कार्यक्रम गर्न प्रस्ताव राख्न चाहन्छु । यसो गर्दा पर्यटन प्रवर्धनमात्र नभएर विद्यालयका विद्यार्थीमात्र नभएर सहरी क्षेत्रका युवामा पनि पर्वतारोहणको बारेमा सचेतना बढ्छ ।

आफ्नो लामो अनुभवको आधारमा सरकारलाई कस्तो सुझाव दिन चाहनुहुन्छ ?

मेरो लामो अनुभवले सरकारलाई केही सुझाव दिन चाहन्छु । पहिलो, सरकारले ८ हिमाली जिल्लालाई बाहिरका मान्छेलाई जान नदिने प्रतिबन्धात्मक नीतिमा पुनर्विचार गर्नुपर्छ । यो नीति तत्कालीन अवस्थामा खम्पा विद्रोहीका कारण लागू भएको थियो । तर, यो नीतिले आज ती जिल्लाका बासिन्दाको आर्थिक अवसरलाई खुम्च्याएको छ । यी जिल्लालाई खुला गरेर पर्यटन र पर्वतारोहणका गतिविधि बढाउनुपर्छ । पर्यटनका लागि यी जिल्लामा थुप्रै सम्भावना छ । जसले स्थानीयका लागी जीवनयापनमा पनि मद्दत पुग्छ । सीमामा सुरक्षाको राम्रो बन्दोबस्त गरेर सुरक्षा संवेदनशीलताको ख्याल राख्न सकिन्छ ।

सरकारले पर्यटनका नीति तथा पूर्वाधारमा विकासमा पनि जोड दिनुपर्छ । राजस्व परिचालन गर्न कर आवश्यक भए पनि सरकारले पर्यटन उद्योगमा करमात्र लगाउनेबारे सोच्नु भएन । ट्रेकिङ रुटको मर्मतसम्भार तथा विकास गर्ने, दुर्गम क्षेत्रमा पहुँच पुर्‍याउने, पर्यटनसम्बद्ध व्यवसायको विकास गर्नेजस्ता पर्यटन क्षेत्रको प्रवर्धनमा पनि लगानी गर्नुपर्छ । पर्वतारोहणबाहेक पनि नेपालमा पर्यटनको विकासका विभिन्न क्षेत्र छन् । जंगल सफारी, सांस्कृतिक पर्यटन, र्‍याफ्टिङ पर्यटन, कृषि पर्यटन, स्वस्थ्य पर्यटनजस्ता धेरै क्षेत्रमा सरकारले जोड दिन आवश्यक छ । नेपालको पर्यटनको पोर्टफोलियो विविधीकरण गर्न सरकारले पर्यटनका यस्ता विविध क्षेत्रको पहिचान र प्रवर्धन गर्नुपर्छ ।

आफ्नो व्यवसाय र पर्वतारोहणबाहेक तपाईं समाजसेवामा पनि सक्रिय हुनुहुन्छ । यसबारे केही बताउनुहुन्छ ?

हिमालप्रतिको हाम्रो प्रतिबद्धता पर्वतारोहण र व्यवसायभन्दा पनि धेरै छ । पर्यटनको नेतृत्व गर्ने तथा वातावरणको रखवाली गर्ने पनि हाम्रो प्रतिबद्धता हो । यसक लागि हाम्रा पर्वतारोहणका गतिविधिले कमभन्दा कम वातावरणीय क्षति असर होस् भन्ने हाम्रो उद्देश्य हो । हामी स्थानीय संस्कृति तथा परम्पराको सम्मान गर्दै उनीहरुलाई पर्यटनबाट लाभ होस् भन्ने चाहन्छौं । यस्तै, लघु जलविद्युत र सफा पिउने पानी पनि हाम्रो प्रतिबद्धता हो । हामी पासाङ ल्हामु फाउन्डेसनलाई सहयोग गर्छौं, बालबालिकालाई छात्रवृत्ति दिन्छौँ अनि लुक्ला अस्पतालका सहसंस्थापक पनि हौं ।

(नेपाल पर्वतारोहण संघले ५०औं वार्षिकोत्सवका अवसरका प्रकाशित गरेको ‘नेपाल पर्वत’ वार्षिक विशेषांकबाट साभार)


क्लिकमान्डु