पोर्चुगलसहित ४ युरोपेली मुलुकसँग श्रम सम्झौता गर्ने सरकारको तयारी
काठमाडौं । सरकारले युरोपेली मुलुक रोमनिया र जर्मनीपछि थप चार युरोप मुलुकमा श्रम सम्झौताको तयारी गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले रोमनिया र जर्मनीपछि सेसेल्स, साइप्रस, पोर्चुगल र माल्टामा श्रम समझदारी गर्ने तयारी भइरहेको बताए ।
वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनका लागि सरकारले नयाँ–नयाँ गन्तव्यको खोजी गरी रोजगारीको सुनिश्चित गरिरहेको उनको भनाइ छ ।
‘सरकारले हालै मात्र रोमनिया र जर्मनीसँग श्रम समझदारी गरेको छ । सरकारले युरोपेली मुलुकमा सम्भावित देशहरुसँग कसरी सहकार्य गर्ने भनेर अध्ययन गरिरहेको छ,’ उनले भने, ‘अध्ययका क्रममा सेसेल्स, साइप्रस, पोर्चुगल र माल्टासँगको समझदारीका लागि छलफल भइरहेको छ ।’
मन्त्री भण्डारीले युरोपेली मुलुकमा नेपालबाट अस्पताल, पूर्वाधार निर्माण, केयर गिभर र कृषि क्षेत्र निकै सम्भावितको क्षेत्र भएकाले दक्ष कामदार पठाउन सकिने जिकिर गरे ।
सरकारले विभिन्न देशका राजदूतहरुसँग छलफल गरेर रोजगारीको सम्भावित क्षेत्र र देश पहिचान गरी तीब्र श्रम समझदारीको कार्य अगाडि बढाएको उनले जानकारी दिए ।
त्यस्तै, सरकारले पछिल्लो समय गन्तव्य मुलुकमा नेपालीहरुको सामाजिक सुरक्षाको अवस्थालाई प्राथमिकता राखेको बताए । मन्त्रीकाअनुसार कामदारको पहिलो प्राथमिकता भनेको सामाजिक सुरक्षा हो । त्यसमा त्यहाँको नागरिकसरह नेपाली नागरिकले सुरक्षा पाउँछ वा पाउँदैन । त्यस विषयमा अध्ययन गरेर श्रम समझदारीको कार्य अगाडि बढाउँनेछ ।
अहिले गन्तव्य मुलुकहरुले दक्ष कामदार लैजानेमा जोड दिएकाले सरकारले पहिलो प्राथमिकता तालिम र भाषालाई प्राथमिकतामा राखेको उनको भनाइ छ ।
सरकारले हरेक वर्ष तालिम प्रदान गर्दै आएको छ । त्यसमा थप भाषा र तालिममा जोड दिई दक्ष कामदार पठाउने विषयमा मन्त्रालयले जोड दिएको छ । ‘कतिपय देशहरुमा भाषाकै कारण नेपालीहरुले कामअनुसारको मासिक तलब पाइरहेको छैन,’ उनले भने, ‘सरकारले अबका दिनमा भाषालाई जोड दिई दक्ष बनाइ पठाउनेछ ।’ सरकारले भाषामा दक्ष बनाई पठाएमा तोकेको पारिश्रमिकभन्दा पनि बढी पाउन सक्ने अवसर सिर्जना हुने उनको बुझाइ छ ।