चिनी तस्करबारे सूचना पाएका महानिर्देशकको पद बैठक गर्दागर्दै चैट



काठमाडौं । प्रधानमन्त्री कार्यालयले आयोजना गरेको विशेष छलफल कार्यक्रममा कार्ययोजना प्रस्तुत गरिरहेकै समयमा एक जना महानिर्देशकको पद चैट भएको छ । प्रधानमन्त्री कार्यालयले चाडवाडको समयमा विशेष अनुगमन गर्नुपर्ने विषयमा मंगलबार छलफलको कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा विभिन्न उपभोक्तावादी संस्थाका प्रतिनिधिलाई पनि डाकिएको थियो । कार्यक्रममा वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक गजेन्द्र ठाकुरलाई पनि निम्तयाइएको थियो । सरकारले बजार अनुगमन गर्ने मुख्य जिम्मेवारी यो विभागलाई दिएको छ । छलफलमा सहभागी हुन उपभोक्तावादी ज्योति बानियाँलाई पनि बोलाइएको थियो ।

उनले विभागको वर्तमान टोली प्रभावकारी रुपमा काम गरिरहेकाले उक्त छलफलमा आफू उपस्थित हुन नसक्ने भन्दै प्रधानमन्त्री कार्यालयका प्रतिनिधीलाई जानकारी गराए ।

‘प्रधानमन्त्री कार्यालयले महत्वपूर्ण विषयमा छलफल भइरहेकाले जसरी पनि आफैं उपस्थित भइदिन आग्रह गरेपछि हुन्छ भनेर छलफलमा सहभागी भएको थिएँ,’ उपभोक्तावादी ज्योति बानियाँले भने, ‘म पुग्दा छलफल सुरु भइसकेको थियो । विभागका महानिर्देशक ठाकुरले चाडवाड लक्षित विशेष अनुगमन के कसरी गर्ने विषयमा कार्ययोजना प्रस्तुत गर्दै थिए । कार्ययोजना प्रस्तुत गर्दागर्दै उनको महानिर्देशक पद खोसी सकिएको सूचना प्राप्त भयो ।’

काम गर्दागर्दै पनि जिम्मेबारीबाट हटाइनु सरकारको ठूलो त्रुटी भएको बानियाँले बताए । उनका अनुसार बैठक सकेर बाहिर निस्किँदा विभागका महानिर्देशक ठाकुरको पद खोसिसकिएको थियो ।

छलफल सकेर ठाकुर बाहिरिँदै गर्दा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विभागबाट उनलाई हटाएर मन्त्रालयमा पदस्थापन गरिसकेको थियो । मन्त्रालयले मंगलबार ५ जना सहसचिवको कार्य विभाजन हेरफेर तथा २ जना महानिर्देशकको पदस्थापन गरेको हो ।

सोमबार बसेको मन्त्रीस्तरीय निर्णयअनुसार निजामती सेवा ऐन २०४९ को दफा १५ बमोजिम ५ जना सहसचिवको कार्य विभाजन हेरफेर तथा २ जना महानिर्देशकको पदस्थापन गरिएको थियो ।

जसअनुसार विभागका महानिर्देशक ठाकुरलाई सरुवा गरी मन्त्रालयको आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखामा सरुवा गरिएको थियो । उनको स्थानमा सहसचिव तीर्थ चिलुवाललाई महानिर्देशकको रुपमा पदस्थापन गरिएको छ । चिलुवाल यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले स्वदेशी चिनी उद्योगले ठूलो परिमाणमा चिनी लुकाएर राखेको आशंका क्लिकमान्डुसँग गरेको छ । विभागका महानिर्देशक गजेन्द्र ठाकुरले स्वदेशी चिनी उद्योगीले ठूलो परिमाणमा चिनी लुकाएर राखेको सूचना प्राप्त भएको सोमबार बताएका थिए ।

‘हाम्रो स्वदेशी उद्योगीले ठूलो परिमाणमा चिनी लुकाएको सूचना प्राप्त भएको छ,’ ठाकुरले भनेका थिए, ‘लुकाएर राखिएको चिनी चाडवाडको समयमा बजारमा ल्याएर आफुखुशी मूल्यमा बिक्री गर्ने उनीहरुको ठूलो स्वार्थ फेला परेको छ । हामी यो विषयमा गम्भीर भएर निकट विशेष योजना कार्यान्वयनमा ल्याउन लागेका छौं ।’

स्रोतका अनुसार चिनी तस्करीमा संलग्न व्यवसायीकै दबाबमा उनको सरुवा भएको हो ।


राजेश बर्मा