चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन संशोधनले बजारमा आर्थिक गतिविधि बढ्ने प्रधानमन्त्रीको विश्वास



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन संशोधनले बजारमा आर्थिक गतिविधि बढ्ने विश्वास लिइएको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै प्रधानमन्त्रीले राष्ट्र बैंकले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार अर्थतन्त्रका सूचकांकहरु सकारत्मक दिशातर्फ उन्मुख रहेको बताए ।

‘राष्ट्र बैंकले लचिलो बजार नीतिअनुसार चालु कर्जा सम्बन्धी मार्गदर्शन संशोधन गरेको छ । उत्पादनमुलुक उद्योगका लागि ३ करोडसम्म कर्जा उपयोग गर्ने ऋणीलाई चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन नलाग्ने भएको छ’, प्रधानमन्त्रीले भने, ‘बैंकहरुले उद्योग/व्यवसाय वा कम्पनीहरुको सञ्चालन चक्र लगायतको आरधारमा अधिकतम वार्षिक कारोबारको ५० प्रतिशतसम्म चालु पुँजी कर्जा दिन सक्ने व्यवस्था भएको छ । यसबाट उद्योग व्यवसाय क्षेत्रलाई प्रत्यक्ष लाभ हुनाका साथै आन्तरिक लगानी उत्पादन वृद्धि र बजारमा आर्थिक गतिविधि बढ्ने विश्वास लिइएको छ ।’

नेपाली कांग्रेसका सांसद उदयशम्शेर राणाले आर्थिक इन्डिकेटर सकारात्मक रहेको र भुक्तानी सन्तुलन राम्रै भए पनि अर्थतन्त्र अवरुद्ध अवस्थामा रहेको बताए ।

वैदेशिक सहयोग बढ्न नसकेको र आन्तरिक सहयोग बढाउनतर्फ सरकारको प्राथमिकता हुनु पर्ने भए पनि हुन नसकेको भन्दै सांसद राणाले बैंक वित्तीय क्षेत्रमा पैसा थुप्रिएको भए पनि साना तथा मझौला व्यवसायले ऋण नपाएको गुनासो गरेकोले अर्थव्यवस्थाको असन्तुलनलाई सम्बोधन गर्न सरकारका के कस्ता योजनामा छन् भन्दै प्रश्न गरेका थिए ।

त्यसको जवाफ दिँदै प्रधानमन्त्रीले उत्पादन उत्पादकत्व र रोजगारी वृद्धि गरी अर्थतन्त्रको पुनरुत्थान आर्थिक वृद्धि हासिल गर्ने र समस्तिगत आर्थिक विकास गरि लगानीको वातावरण निर्माणमा सरकारलार लागिरहेको बताए । सरकारले चालेको सुधारात्मक कदमबाट अर्थतन्त्र विस्तारै लयमा फर्कन सुरु गरेको प्रधानमन्त्रीको जवाफ थियो ।

विदेशी विनिमय सञ्चितिमा वृद्धि भएको र १० महिनाको बस्तु र सेवालाई धान्न पुग्ने अवस्था बनेको प्रधानमन्त्रीले बताए ।रेमिट्यान्समा वृद्धि, वैदेशिक लागनी प्रवर्धन गर्न नीतिगत सुधार गर्दै थ्रेस होल्ड हटाउने लगायतको कार्य गरिएको उनको भनाइ छ । जग्गाको कित्ताकाट पूर्ण रुपमा खुलाउने निर्णय भएको र यसले केही प्रभाव पार्ने उनको भनाइ छ ।


क्लिकमान्डु