माधव नेपालले भ्रष्टाचार गर्‍यो भनेर संसारमा कसैले पत्याउँदैनन्ः मन्त्री ज्वाला



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ललिता निवास जग्गा प्रकरणमा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई फसाउने षड्यन्त्र भएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए । उनले माधव नेपालले भ्रष्टाचार गर्यो भनेर संसारमा कसैले पनि नपत्याउने दाबी गरे ।

समकालीन नेताहरुमध्ये सबैभन्दा स्वच्छ छविको नेता नेपाल नै रहेकोसमेत उनको दाबी थियो । मन्त्री ज्वालाले भ्रष्टाचारको सवालमा राष्ट्रको ढुकुटीमाथि कोल्टे नजर लगाउने हिसावले माधव नेपाललाई कसैले प्रश्न उठाउन नसक्ने बताए । उनले अदालतले दोषी सावित गरेपनि वा ओभरसाइट एजेन्सीहरुले भनेपनि त्यसलाई जनताले नपत्याउने बताए ।

मन्त्री ज्वालाले भने ‘ललिता निवास जग्गा काण्डमा हाम्रो पार्टीका अध्यक्षलाई फसाउने प्रयास भएको छ । माधव नेपालले भ्रष्टाचार गर्यो भनेर यो दुनियाँमा कसैले पत्याउँछ । सायद समकालीन नेताहरुमध्ये सबैभन्दा स्वच्छ छविको सबैकुराले पूर्ण त कोही पनि व्यक्ति हुँदैन । माधव नेपाल पनि हर हिसावले पूर्ण होइन होला । कर्मी, सीमाहरु होलान् । तर, भ्रष्टाचारको सवालमा राष्ट्रको ढुकुटीमाथि कोल्टे नजर लगाउने हिसावले माधव नेपाललाई कसैले प्रश्न उठाउन सक्दैन । हामी जुनसुकैले निर्णय गरेपनि त्यसको च्यालेन्ज गर्न तयार छौँ । अदालतले बोलोस्, अरु कसैले बोलोस्, ओभरसाइट एजेन्सीहरुले बोलुन्, त्यसलाई जनताले पत्याउँदैनन् ।’


क्लिकमान्डु