निजी विद्यालय सञ्चालकहरु आन्दोलनमा



काठमाडौं । सरकारले विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संसोधन गर्ने भए पछि निजि विद्यालयका सञ्चालकहरु आन्दोलनमा उत्रिएका छन् ।

काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विद्यालय शिक्षा विधेयक अबैधानिक भन्दै मंगलबार निजी विद्यालयका सञ्चालकहरुले आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् ।

निजी विद्यालयका सञ्चालकहरुले सरकारले प्रस्ताव गरेको विधेयकमा विद्यालयहरुलाई शैक्षिक गुठीमा लैजाने बारे एकतर्फी निर्णय गरेकोले आन्दोलन गर्न बाध्य भएको बताए । सरकारले निजी विद्यालयका सञ्चालकहरुलाई प्रोत्साहन हुने गरि ऐन संसोधन गर्नुपर्नेमा आवश्यक प्रावधानहरु नै तयार नगरी हठात विधेयक दर्ता गरेको आरोप लगाएका छन् ।

हिसानका अध्यक्ष रमेश सिलवालले भने ‘यो विधेयक गैर संबैधानिक छ । यो संविधान भन्दा विपरीत छ । धारा २५ मा सम्पत्तिको हक छ । प्रत्येक नागरिकलाई कानुनको अधिनमा रहि सम्पत्ती आर्जन गर्ने, भोग गर्ने, व्यवसायीक आर्जन गर्ने र सम्पत्तिको अन्य कारोवार गर्ने उल्लेख छ । हामी कम्पनी अन्तर्गत् सञ्चालनमा छौं । संविधानले सम्पत्तिको हकको ग्यारेन्टी गरेको छ । र, संविधानले कसैको सम्पत्तिपनि जबरजस्ती रुपले लिन पाउने अधिकार दिएको छैन । चाहे क्याविनेटले पास गरोस् चाहे संसद्ले पास गरोस् । त्यो संविधान विपरीत हुन आउँछ । यदि लिने हो भने हामी तयार छौं । सरकारको राष्ट्रियकरण गर्ने निति हो भने हाम्रो उचित मुल्याङ्कन भएर मुआब्जा दिनुपर्छ । राज्य चलाउन सक्षम छ भने हामी तालाचाबी बुझाउन तयार छौं ।’

निजि विद्यालयका सञ्चालकहरुले घोषणा गरेको आन्दोलनको कार्यक्रममा साउन २४ गते बुधबार पालिका, शिक्षा विकास तथा समन्वय एकाई, प्रदेश मन्त्रालयलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम छ ।

यस्तै, साउन २५ गते विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संसोधन र एकीकरण गर्न बनेको मस्यौदाको विरोधमा अन्तरकृया गर्ने, २७ गने आन्दोलनको समिक्षा गर्ने कार्यक्रम छ ।

साउन २७ गतेदेखि अनिश्चितकालीन विद्यालय बन्द र भदौ १ गते अनिश्चित विद्यालय बन्द तथा विद्यालयका सवारी साधनहरु सार्वजनिक स्थानमा पार्किङ गर्ने जस्ता रहेका छन् । प्याव्सनका अध्यक्ष डीके ढुङ्गानाले सरकारले सरोकारवालासंग छलफल नै नगरि विधेयक ल्याएका कारण आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको बताए ।


क्लिकमान्डु