
काठमाडौं । नेपालमा बीवाइडी ब्रान्डका कारले बजार गुमाउँदै गएको देखिएको छ । बीवाईडीका नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इन्कको व्यापार ३० प्रतिशतले घटेको पाइएको हो ।
कम्पनीले सन् २०२४ मा साढे १६ अर्ब रुपैयाँको व्यापार गरेकामा सन् २०२५ मा साढे ११ अर्ब रुपैयाँमा खुम्चिएको हो । साइमेक्सले गरेको यो व्यापार गाडीको बिक्री र बिक्रीपछिको सेवा समेतको आम्दानी हो । यो तथ्यले नेपालमा बीवाईडीको उपस्थिति एक वर्षमा निकै कमजोर भएको पुष्टि गर्छ ।
कम्पनीले सन् २०२४ मा १६ अर्ब ४० करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२५ मा ११ अर्ब ४७ करोड ९० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा १ अर्ब ९१ करोड ३० लाख रुपैयाँ, सन् २०२२ मा ४४ करोड १० लाख रुपैयाँ र सन् २०२१ मा ६ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो ।
सन् २०१६ मा स्थापना भएको साइमेक्स बीवाइडी ब्रान्डको नेपालको लागि आधिकारिक बिक्रेता हो । कम्पनीले प्यासेन्जर र कमर्सियल सवारी साधन आयात गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीको देशभर आफ्नै १४ वटा शोरुम शाखा छन् भने ६४ वटा चार्जिङ स्टेशन छन् ।
यमुना श्रेष्ठको ५०.५ प्रतिशत र अनिल श्रेष्ठको ४९.५ प्रतिशत स्वामित्व रहेको कम्पनीले अल्पकालीन कर्जाका लागि ४ अर्ब ४५ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले विशेषगरी विद्युतीय सवारीसाधन आयात गर्दै आएको छ ।
कम्पनीले सन् २०२५ मा गरेको व्यापार दुई वटा मोडलको गाडीमा निर्भर रहेको छ । कम्पनीअनुसार सन् २०२५ मा एट्टो थ्री र डल्फिनबाट मात्र ९० प्रतिशत व्यापार गरेको छ । त्यसैगरी, कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा दुई नयाँ मोडलको सवारी साधन सार्वजनिक गरेको छ ।
कम्पनीले एट्टो टु र कम मूल्यको एट्टो वान गाडी सार्वजनिक गरेको छ । नेपाली बजारमा उच्च प्रतिस्पर्धा रहेकाले सार्वजनिक नयाँ गाडीले व्यापारमा सुधार ल्याउने जनाएको छ ।
साइमेक्सको बिजनेससँगै सञ्चालन नाफा पनि घटेको छ । नाफाको मार्जिन गत वर्षको ११.१ प्रतिशतबाट घटेर ६.६ प्रतिशतमा खुम्चिएको छ ।
रेटिङ एजेन्सी इक्राका अनुसार साइमेक्सको चालु पुँजीमा चाप बढ्दो छ । कम्पनीको चालु पूँजी व्यवस्थापनमा निकै ठूलो परिवर्तन देखिएको छ । सन् २०२४ मा कुल आम्दानीको ५ प्रतिशतमात्र रहेको नेट वर्किङ क्यापिटल सन् २०२५ मा बढेर ३१ प्रतिशत पुगेको छ । यसको मुख्य कारण नयाँ मोडलका गाडी आयात गर्न कम्पनीले उत्पादकलाई ठूलो रकम अग्रिम भुक्तानी दिनु परेकाले हो । यसले कम्पनीको नगद प्रवाहमा दबाब सिर्जना गरेको छ ।
कम्पनीसँग एलसी खोल्ने सीमा त ठूलो छ, तर वास्तविक क्यास क्रेडिट चलाउन पाउने सीमा भने एलसी लिमिटको करिब ४२ प्ररतिशतमात्र छ । यदि कुनै समयमा भुक्तानीको चाप बढी भयो वा बीवाईडीले दिँदै आएको क्रेडिट सपोर्ट घटायो भने साइमेक्सलाई तत्काल क्यास फ्लोको समस्या पर्न सक्छ ।
यता नेपाली बजारमा साइमेक्सको व्यापार मुख्यतया दुईवटा मोडलमा मात्र निर्भर रहनुलाई जोखिमपूर्ण मानिएको छ ।
साइमेक्स सन् २०१७ देखि सञ्चालनमा भए पनि यसको व्यापारमा ठूलो वृद्धि सन् २०२३ पछि मात्र आएको हो । छोटो समयमा प्राप्त गरेको यो सफलतालाई तीव्र प्रतिस्पर्धात्मक बजारमा दीर्घकालसम्म टिकाउन सक्छ कि सक्दैन भन्ने कुरा अझै हेर्न बाँकी छ।
नेपाल सरकारको नीतिमा हुने सामान्य परिवर्तनले पनि साइमेक्सलाई ठूलो असर पार्न देखिन्छ । ईभीमा कर्जा प्रवाहमा लोन टु भ्यालु रेसियो पहिले ८० प्रतिशत रहेकोमा अहिले घटाएर ६० प्रतिशतमा झारिएको छ । (यसले बीवाईडीका कार किन्न ग्राहकले अब बढी नगद जम्मा गर्नुपर्ने हुन्छ । भन्सार र अन्तःशुल्क दरमा हुने कुनै पनि प्रतिकूल परिवर्तनले कम्पनीको बिक्री र नाफा घटाउन सक्ने बताइएको छ ।
अघिल्लो वर्षको तुलनामा कम्पनीको कुल व्यापार र र सञ्चालन नाफा दुबैमा गिरावट आएको छ । बढ्दो प्रतिस्पर्धा र बजारको अस्थिरताका कारण कम्पनीले आफ्नो नाफा जोगाउन संघर्ष गरिरहेको इक्राको दाबी छ ।
खासगरी मध्यम वर्गीय ग्राहकहरूका लागि ईभी किन्नु महँगो र पहुँचबाहिर हुन पुग्नु, ईभी बजारमा प्रतिस्पर्धा बढ्नु, २ वटा मोडलमा बढी निर्भरता हुनु जस्ता कारण बीवाईडीको बजार ‘स्याचुरेसन’ बिन्दुमा पुगेको हो ।
नयाँ र फरक फिचर्स खोज्ने ग्राहकहरूले विकल्प पाउन थालेपछि एट्टो थ्री जस्ता पुराना मोडलको बिक्रीमा कमी आउनु स्वभाविक हो । किनकी नेपाली बजारमा पछिल्लो एक-डेढ वर्षमा धेरै नयाँ चिनियाँ ब्रान्डहरू भित्रिइसकेका छन् । यी ब्रान्डहरूले बीवाईडीको एट्टो थ्री डल्फिलनसँग सिधा प्रतिस्पर्धा गर्ने खालका गाडीहरू समान वा कम मूल्यमा ल्याएपछि ग्राहकहरू बाँडिएका हुन् ।








प्रतिक्रिया